अदालतबाट सांसदको पुनर्वहाली भएपछि कर्णालीमा नयाँ लफडा

सुर्खेत । पदमुक्त गरिएका चार जना सांसदलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएपछि कर्णालीमा नयाँ लफडा सुरु भएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिन फ्लोर क्रस गरेपछि एमालेका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई सांसदबाट पदमुक्त गरिएको थियो ।
तर सर्वोच्च अदालतले चारै जनालाई सांसद र एमाले संसदीय दलको सदस्यमा पुनर्वहाली गरिदिएको छ । अदालतको आदेशपछि सभामुख राजबहादुर शाहीले सोमबार संसदमा चारै जना सांसदमा पुनर्वहाली भएको जानकारी गराएका थिए । साथै उनीहरु एमाले संसदीय दलको सदस्यमा पनि कायम रहेको उनले जनाए । योसँगै प्रदेशको राजनीतिमा नयाँ कोर्ष सूरु भएको छ ।
पुनर्वहाली भएका सांसदहरु अब सत्ता पक्षमा वा प्रतिपक्षमा कहाँ बस्ने भन्ने नयाँ विवाद सुरु भएको हो । फ्लोर क्रस गरेपछि प्रकाश ज्वालाबाहेक अरु तीन जना मन्त्री बनेका छन् । मन्त्री बनेपछि उनीहरु प्रदेश सभामा सत्ता पक्षको सिटमा बस्दै आएका छन् । तर अदालतले सांसदमा पुनर्वहाली गरेपछि एमालेले चारै जना आफ्ना सांसद भएको भन्दै प्रतिपक्षको सिटमा बस्न निर्देशन दिएको छ ।
सोमबारको संसद बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले चारै जना सांसदलाई प्रतिपक्षको सिटमा बस्न निर्देशन दिए । त्यतिमात्र होइन, उनले अब एमालेका सांसद चोरेर सरकार चल्न नसक्ने चेतावनी पनि दिए । तर पुनर्वहाली भएका सांसदहरुले आफूहरु सत्ता पक्षकै सिटमा बस्ने अडान लएका छन् । यही विवाद नमिलेपछि सोमबार संसद बैठक नै स्थगित भएको छ ।
प्रदेश सरकारले हालै ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सोमबार सकिएको छ । सोमबार नै उक्त नीति तथा कार्यक्रम पारित गर्ने र मंगलबार बजेट ल्याउने कार्यतालिका थियो । तर पुनर्वहाली भएका सांसद सत्ता पक्षमा बस्ने की प्रतिपक्षमा बस्ने भन्ने नयाँ विवाद सुरु भएपछि नीति तथा कार्यक्रम र बजेट नै अन्यौलमा परेको हो ।
यद्यपी प्रदेशसभा सचिवालयले मंगलबार १ बजे संसद बैठक बस्ने र मुख्यमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत हुने जनाएको छ । यस्तै मंगलबार नै दिउँसो ४ बजे अर्को बैठक बसेर बजेट प्रस्तुत हुने सचिवालयले जनाएको छ ।
पारित होला नीति तथा कार्यक्रम ?
पूर्वनिर्धारित समयमा नीति तथा कार्यक्रम पारित नभएपछि थप अन्यौल उत्पन्न भएको छ । सोमबार नै नीति तथा कार्यक्रम पास गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को चलाखीका कारण त्यो सफल भएन ।
सरकारले हाल संसदमा रहेका ३५ जना सांसद मध्येको बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको थियो । स्ंसदमा रहेका ३५ जना सांसद मध्ये १८ जनाको समर्थन भए बहुमत पुग्थ्यो । माओवादी केन्द्रका १२ र काँग्रेसका ६ जना गरी १८ जना सांसद छन् । यही आधारमा नीति तथा कार्यक्रम पारित गर्ने सरकारी तयारी थियो ।
तर एमालेले सत्तापक्षलाई बहुमत पु¥याउन नदिन पदमुक्त भएका चार जना सांसदहरुको पुनर्वहाली भएको घोषणा गर्ने रणनीति बनायो । सोही अनुसार नै सभामुख राजबहादुर शाहीले सोमबार नै चार जना सांसद पुनर्वहाली भएको प्रदेशसभामा घोषणा गरे ।
सभामुख शाही एमालेका हुन् । एमालेकै रणनीति अनुसार सभामुखले सोमबार नीति तथा कार्यक्रम पारित हुन नदिन सांसदहरुको पुनर्वहालीको घोषणा गरेर संसदको अंक गणित फेरबदल गरिदिएको सत्ता पक्षको आरोप छ ।
चार जनाको पुनर्वहाली भएपछि अब संसद ३९ सदस्यीय बनेको छ । जहाँ बहुमतका लागि अब २० जना सांसद चाहिन्छन् । पुनर्वहालीपछि संसदमा एमालेको एकल बहुमत जुटेको छ । सभामुखसहित एमालेका सांसदको संख्या २० भएको हो । एमाले एकढिक्का हुँदा सरकार नै अफ्ठेरोमा पर्नेछ ।
तर पुनर्वहाली भएका सांसदहरुले आफूहरु अहिले नै प्रतिपक्षमा नबस्ने र सरकारलाई समर्थन जारी राख्ने बताएका छन् । अब सरकारको नीति तथा कार्यक्रम पनि पारित हुने वा नहुने विषय पुनर्वहाली भएका यीनै चार जना सांसदहरुको निर्णयमा भर पर्नेछ ।
‘तत्काल सरकारबाट बाहिरिन्नौं’
पुर्नवहाली भएका सांसदहरुले भने पार्टीको निर्णय अनुसार नै अगाडि बढ्ने बताएका छन् । ‘तत्काल सरकारबाट बाहिरिने विषयमा कुनै छलफल भएको छैन’ भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले भने, ‘२०७५ जेठ २ गते अघिको पार्टीले जे निर्णय गर्छ, हामी त्यही अनुसार अगाडि बढ्छौँ ।’
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटिले युवराज ज्ञवालीलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । ज्ञवालीले दिएको निर्देशन अनुसार नै अब आफूहरु चल्ने थापाले बताए । तर अध्यक्ष केपी शर्मा ओलीले हाल एमाले संसदीय दलका नेता यामलाल कँडेललाई पार्टीको प्रदेश इन्चार्ज तोकेका छन् । ओलीले बनाएको कमिटीलाई सार्वोच्चले मान्यता दिएको छैन ।
यसकारण पनि चार जना सांसदले वर्तमान कमिटीको निर्णय नमान्ने बताएका छन् । आफूहरु अहिले नै सरकारबाट बाहिरिने पक्षमा नरहेको मन्त्री थापाले बताए । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूहरुमाथि गरिएको कारबाही फिर्ता नहुँदासम्म स्वतन्त्र सांसदको हैसियतमा बस्ने बताए ।
मन्त्रीका लागि प्रतिपक्षको सिट
सांसदमा पुनर्वहाली भएपछि तीन जना मन्त्रीलाई प्रतिपक्षको सिटमा बसाल्ने निर्णय संसद सचिवालयले गरेको छ । प्रदेशसभा सचिवालयले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई प्रमुख प्रतिपक्षको सिटमा बसाल्ने निर्णय गरिएको र सोही अनुसार सिटको व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ ।
‘सर्वोच्चको निर्णयपछि पुनर्वहाली भएर आएपछि जुन दलबाट प्रतिनिधित्व गर्छन्, हामीले त्यही दलको सिटमा राख्ने निर्णय गरेका छौँ’ सभामुख राजबहादुर शाहीले भने, ‘उहाँहरु चार जना एमालेको सांसद हो, एमाले प्रतिपक्षमा भएकाले तीन जना मन्त्री भए पनि प्रमुख प्रतिपक्षकै सिटमा बस्ने व्यवस्था मिलाइएको छ ।’ अब आफू कहाँ बस्ने निर्णय भने मन्त्रीहरुमै निर्भर हुने सभामुख शाहीले बताए ।
एमालेलाई काँग्रेसको शुभकामना
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नेकपा एमालेलाई मुख्यमन्त्री बनेर सरकार चलाउन शुभकामना दिएका छन् । सोमबारको संसद बैठकमा उनले उनले भने, ‘प्रतिपक्षबाट मुख्यमन्त्री भएको हेर्न पाऊँ, शुभकामना छ, मुख्यमन्त्री बन्ने जोशजाँगर रहिरहोस् ।’ एमाले नेता कँडेलले आफ्ना सांसद चोरेर सरकार नचलाउन चेतावनी दिएपछि नेता शाहीले एमालेलाई सरकार चलाउन शुभकामना भनेका हुन् ।
‘हामीले घरमा आएका पाहुनलाई गलत्याएर हटाउनु भएन’ उनले भने, ‘सक्नुहुन्छ भने हामी आग्रह गर्छाैँ, आफ्ना मान्छेलाई फकाएर लैजानोस् ।’ लोकतन्त्रमा कसैलाई हात्तखुट्टा बाँधेर नराखिने भन्दै उनले भने, ‘सक्नुहुन्छ भने लैजानोस्, तर हामी धकेलेर पठाउने पक्षमा छैनौं ।’






