नीति तथा कार्यक्रम कार्यान्वयन गर

नीति तथा कार्यक्रम सरकारको बार्षिक योजना हो । जसमा सरकारले बर्षभरी गर्ने योजनाको फेरिस्त समावेश हुन्छ । जसले सरकार कुन बाटोमा कसरी हिड्ने निर्धारण गर्छ । सरकारले हरेक बर्ष ल्याउने बार्षिक नीति तथा कार्यक्रम योजनाहरुको लिखित दस्ताबेज पनि हो ।सरकारले जस्तो नीति तथा कार्यक्रम ल्याउँछ त्यस्तै प्रतिफल पाउँछ । अर्काे भाषामाभन्दा कागजमा कोर्ने नीति तथा कार्यक्रम सपना हो भने व्यवहारिक विपना हो ।
कर्णाली प्रदेश सरकारले पनि यही विपनाको लिखित दस्तावेज शनिबार सार्वजनिक गरेको छ । जहाँ आगामी आर्थिक बर्षका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटन विकास नीति तथा कार्यक्रमको प्राथमिकतामा छन् । सरकारको नीति तथा कार्यक्रम अनुसार कर्णालीको स्वास्थ्य क्षेत्र मुख्य प्राथमिकतामा छन् । जसमध्ये प्रदेश अस्पताललाई शिक्षण अस्पताल, हरेक जिल्लामा ५० शैयाको अस्पताल, प्रत्येक जिल्लामा सरुवा रोग अस्पताल र प्रदेश प्रयोगशाला स्थापना तथा सञ्चाल जस्ता महत्वपूर्ण योजनाहरु नीति तथा कार्यक्रममा छन् ।
नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापन, भौतिक पूर्वाधारको विकास र सबै तहका अस्पतालको स्तरोन्नतिको सपना देखेको छ । त्यस्तै कोरोना महामारीबाट नागरिकको ज्यूधनको रक्षा गर्नका लागि सबै नागरिकलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाउने, वीरेन्द्रनगरमा पाँचसय शैयाको कोरोना अस्पताल सञ्चालन गर्ने जस्ता महत्वपूर्ण योजना पनि नीति तथा कार्यक्रममा छन् ।
आगामी नीति तथा कार्यक्रमले शिक्षाको क्षेत्रमा पनि आमूल परिर्वतनको कल्पना गरेको छ । जसमा पर्वतिय विश्वविद्यालय, दुर्गममा आवाशिय विद्यालय, महिलाको शिक्षाका सहज पहुँच पु¥याउन छोरी–बुहारी कार्यक्रम, हरेक स्थानीय तहमा प्राविधिक विद्यालय, इन्जिनियरिङ, पाइलट, डाक्टर पढ्ने विद्यार्थीलाई छात्रबृत्तिको दिने जस्ता योजनाहरु छन् । छोरीहरुलाई आत्मनिर्भर बनाउन हरेक छोरीको बैंक खाता, सहिद परिवारको सम्मानको लागि मासिक भक्ता, अपाङ्गलाई मासिक भक्ता, विभिन्न आन्दोलनका घाइतेलाई सहज उपचार नागरिकमैत्री कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।
तर नीति तथा कार्यक्रमको दस्तावेजले मात्रै परिवर्तन सम्वभ हुँदैन । यसको व्यवहारिक कार्यान्वयनका लागि पर्याप्त बजेट र त्यसको सही सदुपयोग आवश्यक पर्दछ । किनकी विगतका बर्षमा पनि नीति तथा कार्यक्रम नआएका होइन । तर नीति तथा कार्यक्रममा समावेश हुने महत्वपूर्ण आयोजनाहरुले सार्थकता पाएनन् । कति आयोजनाले पर्याप्त बजेट नै पाएनन् । बजेट भएका योजना पनि कार्यान्वयन आउन सकेनन् ।
फलत ःसरकारले आफैले छनौट गरेका योजनाको कार्यान्वयनमा चुक्यो । तसर्थ विगतको यही वास्तविकतालाई ध्यानमा राख्दै नीति तथा कार्यक्रमलाई टेकेर बजेट ल्याऊ । कर्णाली स्वास्थ्य क्षेत्र बदल्ने यही मौकाबाट नचुक । कोरोना जस्ता महामारी जन्य रोगबाट नागरिकलाई बचाउन शिक्षा क्षेत्रमा बजेटको कमी हुन नदेऊ । समग्रमा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर ।






