‘माई सेकेन्ड टिचर’ राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजन ‘माई सेकेन्ड टिचर’ले गर्ने भएको छ । राष्ट्रिय क्रिकेट टोलीको जर्सीसम्बन्धी सम्पूर्ण व्यावसायिक अधिकार पाएको एडप्याडले सोमबार आइएनजी ग्रुपको ‘माई सेकेन्ड टिचर’सँग सम्झौता गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले गत जनवरीमा एडप्याडसँग राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा मुख्य प्रायोजक खोज्नेलगायत सम्पूर्ण व्यावसायीक अधिकारसम्बन्धी सम्झौता गरेको थियो । एक वर्षका लागि सम्झौता गरिएको बताइए पनि रकम भने खुलाइएको छैन। अब नेपालको जर्सीमा माई सेकेन्ड टिचरसहित आइएनजी ग्रुप र इस्लिङ्टन कलेजको लोगो प्रयोग हुनेछ ।

सम्झौता कार्यक्रममा माई सेकेन्ड टिचरका सहसंस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको नयाँ जर्सी पनि सार्वजनिक गरे। नेपालले यो जर्सी आगामी वैशाख ४ देखि हुने नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि–२० सिरिजमा प्रयोग गर्नेछ ।






