कोरोनाको बहाना, खेल क्षेत्र धराशायी बनाउने चाहना

काठमाडाैं । समग्र नेपालकै लागि वर्ष २०७७ खराब रह्यो। कोरोना महामारीका कारण विश्वभर देखिएको स्वास्थ्य संकटबाट नेपाल पनि ग्रस्त रह्यो । यस्तोमा नेपाली खेलकुद क्षेत्र भने कोरोनाभन्दा बढी नेतृत्वको असक्षमताको सिकार बन्यो ।
अभ्यासमा नियमित सहभागी गराउनुपर्ने खेलकर्मीलाई लकडाउन बहानामा कोठाभित्रै बन्धकजस्तो बनाइयो। खेलुकद गतिविधिमा केही संघहरू सक्रिय भएपनि अझै धेरै खेलकुद गतिविधि ठप्प छन् । कोरोनाको दोस्रो लहर शुरू हुन लाग्दा पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कोरोना विरुद्ध लड्दै नियमित खेलकुद गतिविधि गर्ने ठोस योजना ल्याउन सकेको छैन। जसकारण फेरि पनि नेपाली खेलकुद क्षेत्र बन्धक हुने त होइन भन्ने प्रश्न खडा भएको छ ।
२०७७ मा ओलम्पिक तयारीमा रहेका खेलकर्मीहरूलाई समेत पर्याप्त स्वास्थ्य सावधानी अपनाएर अभ्यास गराउन असक्षम रहेको खेलकुद नेतृत्व छिटफुट गति विधि शुरू भएसँगै कोरोनालाई कारण देखाएर गतिविधि हुन नसकेको रटान लगाउन व्यस्त छ। यो अक्षमता ढाकछोप गर्ने टालटुले प्रयासमात्रै हो भन्ने सजिलै बुझ्न सकिन्छ ।

तर, राजनीतिक रूपमा आफूनिकट रहेका संघबारे भने उनी चुपचाप छन्। उनले गर्ने अधिकांश भाषणमा खेलकुद गतिविधि सक्रिय बनाउने अवधारणाभन्दा कुण्ठा र आवेगको मात्रा बढी हुन्छ । एकातर्फ खेलकुद मन्त्रालय र राखेपबीच नयाँ विधान कार्यान्वयनमा शीतयुद्ध जारी रहँदा अर्कातर्फ ओलम्पिक कमिटी र राखेपबीच समन्वय संकट चरमतातर्फ उन्मुख छ। तत्कालीन खेलकुदमन्त्री जगत विश्वकर्मा र सदस्यसचिव रमेश सिलवालबीच व्यक्तिगत टकराव सतहमै प्रष्ट देखिएको थियो ।
सीधै प्रधानमन्त्रीसँग सौदाबाजी गर्ने गरेका सिलवालको शैलीले तत्कालीन मन्त्री विश्वकर्मा निकै चिढिए, जसकारण उनले खेलकुद विकास ऐन, २०७७ कार्यान्वयनमा ल्याए। जुन ऐनले खेलकुदमा सदस्य सचिवको एकाधिकार अन्त्य गरेको थियो । तर, सदस्यसचिव सिलवाल मन्त्री नै हटाउन सक्षम रहे। पार्टीभित्रको आन्तरिक कारण देखाएर मन्त्री विश्वकर्मालाई राजीनामा गर्न प्रधानमन्त्रीले निर्देशन दिए। अहिले सदस्यसचिव उक्त ऐन कार्यान्वयनमा पूर्णत: उदासीन बनेका छन्। जसले गर्दा खेलकुद क्षेत्र नै बन्धनमा परेको देखिएको छ।
पूर्ण रूपमा एक अर्कोसँग समन्वय गरेर कोभिडविरुद्ध उत्रनुपर्ने खेलकुद नेतृत्व (मन्त्रालय, राखेप र ओलम्पिक कमिटी) अहिले चरम अविश्वासमा फसेको छ। जसले गर्दा कोरोनाको बहानामा नेपाली खेलकुद क्षेत्र अझै लामो समयसम्म बन्धक बन्ने निश्चितप्राय: छ । यी र यस्ता कारणहरूले २०७७ नेपाली खेलकुदका लागि अहिलेसम्मकै बिर्सन लायक वर्ष रह्यो। आशा गरौं – नयाँ वर्षले तमाम अविश्वास अन्त गर्दै खेलकुद क्षेत्रमा एक नयाँ अध्याय शुरुवात गर्नेछ ।






