पिएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । पेरिस सेन्ट जर्मन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिख १-० गोल विजयी भएपनि समग्रमा ३-३ गोलको बराबरीसहित अवे गोलको आधारमा पिएसजी सेमिफाइनलमा पुगेको हो ।
यस अघि पहिलो लिगमा पिएसजी ३-२ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा बायर्नका लागि एरिक म्याक्सिमले खेलको ४०औ मिनेटमा गोल गरेपनि सो गोल बायर्नलाई सेमिफाइनलमा पुर्याउन पर्याप्त भएन ।
स्टार खेलाडी रोबेर्ट लेवानडोस्की बिना खेलेको डिफेन्डिङ च्याम्पियन बायर्न च्याम्पियन्स लिगबाट बाहिरिएको छ। यसका साथै पिएसजीले गतवर्षको फाइनलमा बायर्नसँगको हारको बदला समेत लिएको छ ।
सेमिफाइनलमा पिएसजीले म्यानचेस्टर सिटी र बोरुसिया डोर्टमण्डबीचको विजेतासँग खेल्ने छ । गएराति नै भएको अर्को खेलमा चेल्सी पनि सेमिफाइनलमा पुगेको छ। पोर्चुगीच क्लब पोर्टोसँग १-० ले पराजित भएपनि समग्रमा २-१ को नतिजा निकाल्दै चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।
यसअघि पहिलो लिगमा चेल्सी २-० ले विजयी भएको थियो। योसँगै पोर्टोको च्याम्पियन्स लिग यात्रा समाप्त भएको छ । अब सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिड र लिभरपुलबीचको खेलका विजेतासँग खेल्ने छ ।






