एमयूका विद्यार्थी आन्दोलित, गोली नचलाएको उपकुलपति सिंहको दावी !

सुर्खेत, २७ पुस ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा अध्ययनरत ईन्जिनियरिङ्ग संकाय विद्यार्थीहरुले सोमवार आन्दोलन गरेका छन् । आइतवार साँझ प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले एमयूको मुल गेट अगाडी टायर बालेर उनीहरुले आन्दोलन गरेका हुन् ।

परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद हुँदा आईतबार सांझ स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।
झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण वोगटी घाइते भएका थिए । सोमवार विहानै देखि विद्यार्थीहरुले केन्द्रीय क्याम्पस मुलगेट अगाडी आन्दोलन गरेका हुन् ।
उनीहरुले विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड्रो ईन्जिनियरलाई दर्ता गराउनुपर्ने, मौका परीक्षाको व्यवस्था गर्नु पर्ने लगायतका माग राखिएको नेविसंघका नेता गौतम विसीले जानकारी दिए ।
गोली नचलाएको उपकुलपति सिंहको दावी !
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीचको झडपमा गोली नचलाएको उपकुलपति नन्दबहादुर सिंहले दावी गरेका छन् । विद्यार्थीहरुले सिंहको निर्देशनमा गोली चलाएको आरोप लगाएका थिए । सिंहले सोमबार विहान भर्जुअल मार्फत पत्रकार सम्मेलन गरी गोली नचलाउने निर्देशन आफुले नदिएको दावी गरे ।
साथै उनले उत्तेजित हुने कुरा नभएको बताए । उनले विद्यार्थीले राखेको माग गलत भएकोले समर्थन गर्न नसक्ने पनि बताए । उनले विद्यालय भित्रकै केही शिक्षकहरुले विद्यार्थीलाई उचालेको दावी गरे । उनले यस्ता खालका हर्कत गर्ने विरुद्ध एक्सन लिने पनि संकेत गरेका छन् ।






