सुर्खेतमा रोकिएन टिपर आतंक

सुर्खेत, २७ पुस ।
घटना ः १
गतवर्ष माघमा वीरेन्द्रनगरको जुम्लारोडमा टिपरको ठक्करबाट कालिकोट को महावै गाउँपालिका ३सिमखेतका २० वर्षिय केशरबहादु सिंहको मृत्यु भयो । भे १ ख २२४ नम्बरको टिपरले केशरको ज्यानै लियो । घटनापछि मृतकको शव सडकमै राखेर आफन्तले प्रदर्शन गरे । घटनालाई साम्य पार्न र शव व्यवस्थापन गर्न प्रहरीले गोली नै चलाउनु प¥यो । प्रहरीको गोली लागेर आठ जना स्थानीय घाइते भए । पीडितलाई उचित क्षतिपूर्ति दिने सहमतिपछि घटना साम्य भयो ।

घटना ः २
ही पुस १८ गते साँझ वीरेन्द्रनगरकै पिपिरामा बा ४ ख ५८४० नम्बरको टिपरको ठक्करबाट वीरेन्द्रनगर–१२ का दफार बक्स गम्भिर घाइते भए । उपचारको क्रममा उनको नेपालगञ्जमा मृत्यु भयो । दफारको मृत्युपछि आफन्तहरुले देउती बज्यै चौकमा सडक अबरुद्ध पारेर दिनभर प्रदर्शन गरे । घटनालाई साम्य पार्ने प्रहरीको प्रयास साँझमात्रै सफल भयो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लियो । उचित क्षतिपूर्ति दिने सहमतिपछि अवरुद्ध सडक खुल्यो ।
घटना ः ३
शुक्रबार मात्र सुर्खेतकै छिन्चु बजारमा कर्णाली प्रदेश ००१ क ००९९ नम्बर टिपरको ठक्करबाट वीरेन्द्रनगर– ११ का २३ वर्षीया ताराकुमारी आलेको मृत्यु भयो । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गर्दा टिपरले उनी सवार भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई छिन्चु बजारको पेट्रोलपम्प अगाडी ठक्कर दिएको थियो । सोही दुर्घटनामा शुभकालिका गाउँपालिका कालिकोटका चालक दुर्गा शाही घाइते भए । दुर्घटनापछि छिन्चुमा केही घण्टा स्थानीयले सडक अबरुद्ध गरे । घटनाको दोस्रो दिन अर्थात शनिबार मृतक आलेका आफन्तहरुले वीरेन्द्रनगरको जुम्लारोड सडक अबरुद्ध गरे । प्रहरीले आफन्तसँग नसोधेरै शव उठाएको आरोप लगाउँदै गरिएको आन्दोलनका कारण जुम्लारोड सडक खण्ड दिनभर अपरुद्ध भयो । प्रहरीले केही राउण्ड आश्रुग्याँस हानेर प्रदर्शनकारीलाई तितरबितर पा¥यो । साँझपख मात्रै सडकको अवरोध खुल्यो । माथि उल्लेखित घटना केही प्रतिनिधिमुलक मात्र हुन् । पछिल्लो समय सुर्खेतमा टिपर आतंक बढ्दै गएको छ ।
अर्थात टिपरका कारण सडक नै असुरक्षित बनेका छन् । टिपरले मान्छेको ज्यानै लिन थालेपछि सर्वसाधारणहरु सडकमा निस्कदा आतंकित हुन बाध्य छन् । पछिल्लो सयम वीरेन्द्रनगर र आसपासका जिल्लामा टिपरका कारण दुर्घटना बढ्न थालेका छन् । विकास निर्माणका गतिविधिसँगै टिपर दुर्घटना पनि बढ्दो क्रममा छन् । टिपरले नागरिकको ज्यानै लिन थालेपछि अन्य सवारी चालक र पैदल यात्रु टिपर देखेपछि आतंकित हुनुपर्ने अवस्था छ । टिपरकै कारण सडकमा दुर्घटना बढ्दै गए पनि यसको न्यूनिकरणका लागि प्रभावकारी कदच चालिएको छैन । खुल्ला सडकमा तीब्र गतिकै कारण टिपपर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । तर दुर्घटना न्यूनिकरणको लागि वैकल्पिक उपायको खोजी भएको छैन ।
चालक नै सचेत छैनन् ः ट्राफिक जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यका अनुसार फराकिलो सडकखण्ड र तीब्र गतिका कारण दुर्घटना बढेका हुन् । फराकिलो सडकमा ब्रेकिङ डिस्टेन्स कायम नहुनु, ट्राफिक रुटलाई वेवास्ता गर्नु र साना गाडीको तुलनामा टिपरको आवाज ठूलो हुने हुँदा आवाजकै कारण यात्रु र अन्य सवारी साधन आफै साइड लाग्छन् भन्ने सोचकै कारण दुर्घटना हुने गरेको उनको भनाइ छ । टिपपर लगायत अधिकांश सवारी साधन दुर्घटनामा चालकको कमजोरी नै दुर्घटनाको मुख्य कारण पाइएको छ । ‘जाने बुझेकै चालकले ट्राफिक नियमविपरित गाडी कुदाउँछन्’ ट्राफिक प्रमुख आचार्य भन्छन्, ‘चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण हो ।’ ट्राफिक प्रहरीलाई छलेर सवारी चलाउने बानीले पनि दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछ । ‘जहाँ ट्राफिक प्रहरी छैन, त्यही दुर्घटना हुने गरेका छन्’ आचार्य भन्छन्, ‘ट्राफिक प्रहरीलाई छलेर सवारी चलाउने प्रवृत्तिका कारण पनि दुर्घटना बढेका छन् ।’ प्रहरीको तथ्याङ्क अनुसार ट्राफिक नियमविपरित गाडी चलाउने चालकको संख्या पाँच हजारभन्दा बढी छ ।
दुर्घटना बढ्दो क्रममा
सुर्खेतमा पछिल्लो साढे तीन वर्षको अवधिमा दुई सय ९८ वटा सवारी साधन दुर्घटनामा परेका छन् । २०७४ देखि ०७७ पुस २४ गतेसम्म दुई सय ९८ सवारी साधन दुर्घटनामा परेका हुन् । जसमध्ये २०७४ मा ४१ वटा, ०७५ मा ३६ वटा २०७६ मा ४४ वटा र चालु आर्थिक वर्षमा १८ वटा सवारी दुर्घटना भएका छन् । ति दुर्घटनामा परी २०७५ मा ८२ जना, ०७५ मा ९२ जना, ०७६ मा ८८ जना र चालु आर्थिक वर्षमा ३६ जना गरी कुल एकसय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्इ सय ९८ जना गम्भीर घाइते भएका छन् ।
७३ हजार चालकलाई कारबाही
«ाफिक नियमविपरित सवारी साधन चलाउने चालकको संख्या अत्याधिक रछ । पछिल्लो साढे चार वर्षको अवधिमा सुर्खेतमा मात्र ७३ हजार चारसय ४० जना चालकले ट्राफिक नियमविपरित सवारी साधन चलाएका छन् । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३ मा १५ हजार नौसय ८५ जना, २०७४ मा १४ हजार नौसय ९४ जना, २०७५ मा २८ हजार तीनसय ५० जना, २०७६ मा आठ हजार नौसय ५९ जना र चालु आर्थिक वर्षमा पाँच हजार एकसय ५२ जना चालकले ट्राफिक नियमविपरित गाडी चलाएका छन् । ट्राफिक नियमविपरित गाडी चलाउने चालकबाट सो अवधिमा चार करोड १२ लाअख ५४ हजार आठसय रुपैयाँ राजश्व संकलन भएको छ । जसमध्ये आर्थिक वर्ष २०७३ मा ५० लाख ९५ हजार पाँचसय, २०७४ मा ८७ लाखा ८९ हजार, २०७५ मा एक करोड ६३ लाख ५८ हजार पाँचसय, २०७६ मा ७२ लाख ९३ हजार तीनसय र चालु आर्थिक बर्षमा ३६ लखा १८ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अब टिपर चलाउने निश्चित समय तालिका तोक्छौं ः प्रजिअ
सुर्खेतमा टिपर दुर्घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले दुर्घटना न्यूनिकरणका लागि नयाँ विकल्प खोज्ने भएको छ । अब जिल्लाका मुख्य सडकमा साँझ, राती वा विहानको समयमा मात्रै टिपर चलाउन पाउने गरी छलफल चलाउने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हिरालाल रेग्मीले बताए । टिपर व्यवसायी र सरोकारवाला निकायसँग छलफल गरेर रुट र समयअनुसार मात्र टिपर सञ्चालन गर्नेगरी समय तालिका तोकिने प्रजिअ रेग्मी बताउँछन् । ‘ टिपपर दुर्घटनाले धनजनको क्षति पुगेको छ’ प्रजिअ रेग्मीले भने, ‘ अब टिपपर दुर्घटना न्यूनिकरणका विकल्पहरु खोज्छौँ ।’ टिपपर दुर्घटना न्यूनिकरणका लागि छिट्टै टिपर चालक, ट्राफिक प्रहरी र यातायात व्यवसायीसँग छलफल थाल्ने रेग्मीको भनाइ छ । ‘दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी सक्रिय छ, तर प्रहरीको प्रयासबले मात्रै टिपपर तथा अन्य सवारी साधनको दुर्घटना न्यूनिकरण सम्भव छैन’ उनी भन्छन्, ‘अब सवारी चालक र यातायात व्यवसायसँग नै छलफल गरेर दुर्घटना न्यूनिकरणका उपायहरु खोजिनुपर्छ ।’






