संसद विघटन गरी प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाएः जर्नादन शर्मा

सुर्खेत, २७ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा कर्णाली प्रदेश इन्चार्ज जर्नादन शर्माले संसद् विघटनलाई कसैले ठीक नमानेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमलाई असफल बनाएर संविधानको रक्षा गर्ने बताएका छन् । सुर्खेतमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानमा नभएको धारा प्रयोग गरेर संसद विघटन गरी प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाएको उनले बताएका हुन् ।

आफूलाई पार्टीको फुटेको चिन्ता भन्दा राष्ट्रको चिन्ता रहेको नेता शर्माले बताए । ‘जनताले बनाएको संविधानअनुसार काम हुँदैन भने राष्ट्रको रक्षा कसरी हुन्छ । देश त संविधानअनुसार नै चलाउने हो । त्यसैले कानुनको आवश्यकता भएको हो,’ उनले भने, ‘देशको संविधानले काम गर्दैन । राष्ट्र प्रमुखले त्यसलाई मान्दिनँ भन्यो भने राष्ट्र, राष्ट्रियता, स्वाधिनता रहँदैन ।’
‘जनता, नागरिक, समाज, बुद्धिजीविहरू हामीहरूसँग रिसाएका छन् । त्यसका लागि क्षमा माग्दछौँ,’ उनले भने, ‘संविधानको रक्षा गर्न लागि निरकुशतन्त्रका विरुद्ध जनता सडकमा आउने छन् । त्यसको समाप्त हुनेछ ।’ नेपालमा नयाँ बहसको थालनी गर्नुपर्ने बताउँदै नेता शर्माले संविधान बनाउँदा जसको बलमा देशमा परिवर्तन भएको थियो त्यसलाई स्वामित्व नदिनु नै गल्ती भएको महसुस भएको बताए । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक देश हो । उनीहरूकै बलमा नयाँ संविधान, गणतन्त्र, धर्मनिरपक्षेता, संघीय गणतन्त्र ल्याएका हौँ,’ उनले भने, ‘त्यो वर्गको स्वामित्व संविधानमा नहुँदा अहिले संविधान कुल्चने काम भयो ।’
जसले गणतन्त्र, लोकतान्त्रिक, संघीय व्यवस्थाका लडेकाहरूले संविधानको रक्षाको स्वामित्व नलिएर राजनीतिक दलहरूले त्यसको स्वामित्व लिएका कारणले अहिले संकट आएको नेता शर्माको भनाई छ । उनले नयाँ व्यवस्थाका लागि लडेका व्यक्तिहरुको सहभागितासहित स्वामित्व संविधानले दिन नसकेनको बताए । उनले भने, ‘निश्चित नेताको स्वामित्व संविधानमा रह्यो । त्यो व्यवस्थाको अन्त्य गर्नका लागि बहसको थालनी गरिनुपर्छ ।’






