राष्ट्रिय सडक संजालसँग जोडियो तल्लो हुम्ला

हुम्ला, २ पुस ।
राष्ट्रिय सडक संजालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक संजालमा जोडिएको छ । हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीनवटा गाउँपालिका राष्ट्रिय सडक संजालमा जोडिएका हुन् ।

कर्णाली करिडोर सडकको निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालीकोट बाजुर हुँदै हुम्लाको सिमाना कवाडीबाट वालुकुनासम्मको करिब २७ किलोमिटर ट्र्याक सकेर गाडी चल्न सुरु गरेपछि हुम्ला राष्ट्रिय सडक संजालमा समाहित भएको हो ।
नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडक खण्डको निर्माण कार्य पूरा भएपछि त्यसको अवस्थाका बारेमा बुझ्न हुम्ला जिल्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूको टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
शुक्रबार जिल्ला सदरमुकाम सिमकोटबाट आएका जिल्लाका अधिकारीहरूको टोलीले निर्माणाधीन कर्णाली करिडोरको संयुक्त रूपमा अनुगमन गरेको छ । हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको नेतृत्वमा आएको जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीको टोलीले हुम्ला र बाजुरा जिल्लाको सिमाना ताँजाकोट गाउँपालिकाको कवाडी, अदानचुली र सर्केगाड गाउँपालिकाको वालुकुनासम्मको रोडको अनुगमन गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
‘नेपाली सेनाले निर्माण गरेको सडकको अनुमगन गर्नका लागि सांसद लामाको नेतृत्वमा जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, नेकपाका जिल्ला अध्यक्ष लालकेश जैशी, ताँजकोट, अदानचुली र सर्केगाडका जनप्रतिनिधि, नागरिक अगुवा र संचारकर्मीको टोलीले संयुक्त रूपमा अनुगमन गरेको छ’, अध्यक्ष फडेराले भने, ‘सडकको अनुगमनपश्चात अब नेपाली सेनालाई उक्त सडक, सडक विभागलाई हस्तान्तरण गर्ने प्रक्रिया गरेपश्चात नियमित रूपमा वालुकुनासम्म सवारी साधनहरू आवतजावत गर्न पाउनेछन् ।’
नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकमा अहिले सेनाको अनुमतिमा अत्यावश्यक कामका नाममा केही सवारी साधनहरू संचालनमा आउने गरेका छन् । यो सडक सडक विभागलाई हस्तान्तरण भएपश्चात निर्बाध रूपमा सवारी साधन चल्ने र यातायातको पहुँचमा नभएका हुम्ला, मुगुका नागरिकलाई सहज हुने अध्यक्ष फडेराले बताए ।
अनुगमन टोलीले हुम्ला जिल्लाको सिमाना मैला कवाडीदेखि सर्केगाड गाउँपलिका वडा– १ जैरसम्मको सडक अनुगमन गरेको छ । धुलाचौरदेखि बाजुराको कवाडी हुँदै हुम्लाको वालुकुनासम्म करिब २७ किलोमिटर सडकको अनुगमन गरेको छ ।
सडकको अनुगमनपश्चात प्रमुख जिल्ला अधिकारी गिरीले जिल्ला प्रशासन कार्यालयमा कर्मचारीको अभावका कारण अनुगनमा ढिलाइ भएकाले यसलाई दिगो रूपमा सुचारु गर्न लागेको जानकारी दिए ।
जिल्ला समन्वय समिति हुम्लाका प्रमुख दानबहादुर रावतले अब हुम्लामा समृद्धि ल्याउन सबैले आत्मनिर्भर र व्यावसायिक बाटो रोज्नुपर्ने बताए ।






