अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती

सल्यान : सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। विरामीको चाप दिन प्रतिदिन बढी रहे पनि स्वाथ्यकर्मी नहुँदा विरामी मारमा परेका हुन् ।
कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी रहेको अस्पतालमा जनशक्ति निकै कम रहेको छ । विगतमा अस्पतालमा दरबन्दीअनुसार कर्मचारी भए पनि समायोजन भएर जाँदा समस्या भएको सल्यान अस्पतालका डा. प्रदिप शर्माले बताए ।

उनले भने, ‘करार र केही स्थायी कर्मचारीले अस्पताल चलि रहेको थियो । तर समायोजन भएर गएपछि समस्या भएको छ ।’ अस्पताल व्यवस्थापन समिति नहुँदा करारमा कर्मचारी भर्ना गर्न पनि समस्या भएको डा. शर्माको भनाइ छ । लामो समयदेखि अस्पताल व्यवस्थापन समितिको वैठ्क वस्न नकस्दा पनि थप समस्या भएको उनको भनाई छ । प्रदेश सरकारलाई आवश्यक जनशक्ति पठाई दिन ताकेता गर्न समेत जनशक्ति र पैसा पठाउन नसकेको शर्माले बताए ।

उनले भने, ‘अस्पताल कर्मचारीविहीन हुँदा समेत प्रदेशले केही हेरेको छैन । सवै दरबन्दी अनुसारको कर्मचारी नपाए पनि केही कर्मचारी पठाए सेवा चुस्त द्रस्त हुने थियो ।’ प्रत्येक दिन साना ठूला शल्यक्रिया भइरहने बताउँदै डा. शर्माले महिनामा १०÷१२ सिजरियन र हाडजोर्नीको शल्यक्रिया हुने गरेको बताए । दैनिक १० देखि १२ जनासम्म सुत्केरी हुने र दुई नर्शले एक सिफ्टमा २० देखि २५ जनासम्म विरामी हेर्नुपर्ने बाध्यता रहेको नर्स कोपिला रानाले बताइन् ।

उनले भनिन, ‘दिनमा १०/१२ जना सुत्केरी हुन आउछन्। तिनलाई समय दिनेकी अरु विरामीलाई दिने समस्या छ ।’ प्रदेशबाट राखिएका कर्मचारी राम्रो अवसर पाए पछि गएको र अहिले करारमा रहेका केही नर्सले सघाइ रहेको उनको भनाई छ । आवश्यक जनशक्ति नहुँदा इमर्जेन्सीमा एक जनाले १२ देखि १४ घण्टासम्म ड्युटी दिनु पर्ने बाध्यता रहेको अहेव जीवन पुनले बताए । स्थायी र करार दुवैबाट एकजना पनि चिकित्सक नरहेको डा. शर्माले बताए । एनएसआई नामक एक संस्थाका चार चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आइरहेको उनको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *