कर्णालीमा पोषण र उत्पादनको नमिल्दो चक्र !
पोषण र उत्पादनको चक्र कर्णालीमा आफैमा अमिल्दो छ । रैथाने बाली उत्पादनका दृष्टिकोणमा नेपालकै ध्यान तानिरहेको कर्णालीमा उत्पादनमा वृद्धि गर्न समेत सम्भावना धेरै छन् । पौष्टिक आहारले भरिएको कर्णालीको रैथाने उत्पादनहरुले भने अहिले कर्णालीलाई कुपोषणबाट बचाउन सकेको छैन । स्वास्थ्यका राष्ट्रिय सूचकमा पनि कर्णालीको अवस्था ज्यादै न्यून छ । नेपालमा पुड्कोपन सम्बन्धि सूचक २५ प्रतिशत छ, कर्णालीमा भने ३६ प्रतिशत सूचक रहेको देखिन्छ । २० प्रतिशत भन्दा माथि रहेको सूचक उच्च जोखिममा हुन् । त्यसैगरी ख्याउटेपनको अवस्था समेत उस्तै छ । राष्ट्रिय सूचकको तुलनामा केहि कम रहेपनि कर्णालीमा अझै चार प्रतिशत नागरिकमा ख्याउटेपनको समस्या छ । राष्ट्रिय रुपमा नेपालमा ख्याउटेपनको सूचक भने आठ प्रतिशत हो । ४० प्रतिशत बालबालिकामा कर्णालीमा रक्तअल्पताको समस्या छ । दुई वर्षमुनिका १६ प्रतिशत बालबालिकामा अझै पूर्णखोप पुगेको छैन । १५ देखि ४९ वर्ष उमेरका २१ प्रतिशत महिलाहरुमा समेत रक्तअल्पताको समस्या छ ।
खाद्य स्रोत र साधनले भरिपूर्ण कर्णालीमा यहाँका नागरिक आफैमा कुपोषणको सिकार हुनु हामी सबैको कमजोरी हो । हामीले खानपानमा असल व्यवहार अपनाउन सकेका छैनाँै । स्थानीय स्तरमै उत्पादन गर्ने कर्णालीले आफ्ना स्वस्थ्यवर्धक उत्पादन आफै उपभोग गर्दैन । यसको मुख्य समस्या भनेकै अझैपनि कर्णाली खाद्यान्नमा आत्मनिर्भर भएको छैन । यहाँ खाद्यान्न नै अभाव छ । उत्पादनका दृष्टिकोणमा खाद्यान्न अभाव हुँदा कुपोषणको सिकार हुनसक्ने स्वभाविक जोखिम बढ्छ । आयातिक खाद्यान्नमा भर पर्दा सबै नागरिकहरु त्यसको पहुँचमा रहन्छन् भन्ने पनि हुदैन । यसरी खाद्यान्नमा पहुँच नभएपछि उनीहरुको असल खानपानको बानीमा समेत प्रभाव पर्छ । उपलब्धताका आधारमा मात्र कर्णालीको नागरिकहरुका भान्सामा खाद्यान्न पुगेका छन् । तर शारिरिक आवश्यकताको आधारमा मात्र भान्सामा खानाको तयारी गर्ने परिवारको संख्या कर्णालीमा न्यून छ ।
यस्तो अवस्थामा विशेषगरी कर्णालीको प्रदेश सरकार तथा स्थानीय तहले समेत कृषि उपज उत्पादनमा नागरिकलाई सहयोग गर्नुपर्छ । वर्तमान समयमा कर्णालीका अधिकांश घरपरिवारले करेसावारीमा ध्यान दिएको देखिदैन । शहरीकरणसँगै बढ्दो जीवनशैलीले यहाँका नागरिकलाई करेसावारीको निर्माण, व्यवस्थापन तथा उत्पादनमा जोड्नुपर्छ । आफैले करेसावारीमा आवश्यक पौष्टिक आहारको उत्पादन गर्न सके उनीहरुलाई आर्थिक भार समेत पर्दैन र नियमित पौष्टिक आहारलाई खानामा समावेश गर्न सक्छन् । यस तर्फ नागरिकमा सचेतना तथा ति खालका कार्यक्रमको निर्माण गर्ने जिम्मेवारी सरकारको हो । त्यसैगरी सरकारको सहयोगविना पनि नागरिकहरु आफैले असल खानपानको व्यवहार अवलम्वन गर्न सक्छन् । उनीहरु स्थानीय स्तरमै उपलब्ध मौसमी उत्पादनहरुलाई प्रयोग गर्न सक्छन् । यसले उनीहरुलाई स्वस्थ्यकर रहन मदत पुग्छ । कर्णालीका धेरै नागरिकमा करेसावारीको निर्माणमा प्राविधिक ज्ञान समेत छैन । करेसावारीमै मलखादको निर्माण, सिंचाईको व्यवस्था तथा रोगबाट उत्पादनलाई बचाउन विविध खालका कृषि उपजलाई तह अनुसार उत्पादन गर्ने विषयमा नागरिकलाई जानकारी दिनुपर्छ । यो स्थानीय तहका वडा तहले सचेतनाको कार्यक्रम सञ्चालन गर्न सक्छन् । थोरै बजेट तथा जनशक्तिमा यस्ता कार्यक्रमहरु सञ्चालन गरेर नागरिकलाई पौष्टिक आहारको पहुँचमा ल्याउदा कर्णालीमा कुपोषणको सूचकलाई घटाउन सकिन्छ । यस तर्फ आम सर्वसाधारण तथा जिम्मेवार निकायहरुले ध्यान दिन जरुरी छ ।





