काठमाडौँमा वायु प्रदूषण ह्वात्तै बढ्यो, स्वास्थ्य जोखिम बढ्दो

काठमाडौँ, १० वैशाख । 

काठमाडौँ उपत्यकामा वायु प्रदूषण पुनः तीव्र रूपमा बढ्न थालेको छ । पछिल्ला केही दिनयता सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ ।

यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, जसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विज्ञहरू बताउँछन् । एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् ।

“अहिले वर्षा नभएर सुक्खा बढ्दो अवस्थामा छ, यसले धुलो र धुवाँ वायुमण्डलमा थुप्रिन मद्दत गरेको छ”, उनले भने, “वर्षा भएमा हावामा रहेका कणहरू जमिनमा बस्छन् र प्रदूषण घट्छ, तर अहिले त्यो अवस्था छैन ।” उनका अनुसार सम्बन्धित निकायलाई दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने सङ्केत देखिएको जानकारी दिए । “वर्षा नहुँदा वायुमण्डल सफा हुन सक्दैन, जसले प्रदूषण थप बढाउने सम्भावना रहन्छ”, उनले भने ।

विज्ञहरूले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाव दिइएको छ ।

काठमाडौँमा वायु प्रदूषण ह्वात्तै बढ्यो, स्वास्थ्य जोखिम बढ्दो

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’  

काठमाडौँमा वायु प्रदूषण ह्वात्तै बढ्यो, स्वास्थ्य जोखिम बढ्दो

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती  

Leave a comment

Your email address will not be published. Required fields are marked *