वर्षौँदेखिको आङ खस्ने र पाठेघर रोगको उपचार गाउँमै
गाेल्डेन बुढा
जुम्ला ,१० वैशाख ।
जुम्लाको हिमा गाउँपालिका–४ सिम्तली गाउँकी ४७ वर्षीया नन्दरुपा बुढाको आङ खस्ने समस्या भएको ९ वर्षभन्दा बढी भइसक्यो । गाउँमा विशेषज्ञ शिविर आएपछि बल्ल उपचार गराइन् । बच्चा जन्माएपछि भारी बोक्ने, गह्रौं काम गर्ने, ठूला गाग्रीमा पानी बोक्ने गर्दा तल्लो पेट दुख्न थालेको उनले सुनाइन् ।दुर्गम गाउँ, विशेषज्ञ तथा दक्ष चिकित्सकको अभाव, उपचारका लागि रकम अभाव, यातायात असुविधाले वर्षौंदेखि रोगका विषयमा कसैलाई नभनेकी हुन् । ‘धेरै वर्ष भयो तल्लो पेट दुख्ने समस्या भएको,’ उनले भनिन्, ‘अहिलेसम्म गाउँमा यस्ता शिविर नै आएका थिएनन्। दुई वर्ष अघि जिल्ला बाहिर गएर देखाएको हो, तर जाँच गरेर पनि औषधि खाएर निको भएन ।’हिमा -३ की ५७ वर्षीया पुम्फा रोकाया ६ वर्षदेखि तल्लो पेट दुख्ने समस्याले पीडित थिइन् । गाउँमै उपचार नहुँदा रोग लुकाएर बस्नु परेको उनले सुनाइन् । उनको पनि शिविरमै उपचार गराइन् । ‘गाउँमा यस्ता शिविर आएकै थिएनन्,’ उनले भनिन्, ‘महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ रोगका विषयमा डाक्टर आउने थाहा पाएर आएकी हुँ,यस्तै महिला बेला र भदुरी बुढाले पनि पाठेघर चेकजाँच आगनमै गर्न पाउँद खुसी लागेको बताउँछिन्।’हिमा गाउँपालिकाको सहयोग तथा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले प्राविधिक सहयोगमा दक्ष चिकित्सकसहित गाउँमै राखेको महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविरमा बुढा र रोकायाले उपचार पाएका हुन् ।

धेरै वर्षपछि गाउँमै उपचार पाएकामा दुवै जना खुसी भइन्।पाठेघरको समस्याको जाँच गराउन पाएको नन्दरुपाले बताइन् । ‘बच्चा पाउँदा धेरै ख्याल गरिएन,’ उनले भनिन्, ‘गाउँमा उपचार पाउन समस्या छ । तैपनि, स्वास्थ्य चौकी र जिल्ला बाहिर अस्पताल पुगेर धेरै औषधि खाएको हो । अहिलेसम्म यसको सही उपचार पाउन सकेकी थिइनँ । उपचार सफल भयो भने धेरै खुसी मान्नेछु ।’हिमा गाउँपालिकाले दुईवटा स्वास्थ्य चाैकीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविरले १ सय ७१ जना महिलाले सेवा लिए। पहिलो दिन बड्की स्वास्थ्य चौकीमा ९४ जना र प्राथमिक स्वास्थ्य केन्द्र तलिकुडुमा ७७ जना गरी कुल १ सय ७१ जनाको पाठेघरको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।हिमा गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेब छैटौँ शुक्रराज शाहीका अनुसार बड्कीमा जाँच गराएकामध्ये सबैको अवस्था सामान्य देखिएको छ,भने तलिकुडुमा एक जनामा शंकास्पद अवस्था देखिएको छ।दुर्गमका अधिकांश महिलामा तल्लो पेट दुख्ने, पाठेघर खस्ने समस्याले लामो समयदेखि पीडित भएर बस्नु परेको स्वास्थ्य संयोजक रतनबहादुर रावत बताउँछन्।स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाका ७ वटै वडाका महिलालाई सेवा दिने गरी दुई स्थानमा दुई दिने शिविर सञ्चालन गरिएको हो। १ वडादेखि ३ सम्मका लागि बड्की स्वास्थ्य चौकी र ४ देखि ७ वडासम्मका लागि आधारभूत स्वास्थ्य केन्द्र तलिकुडुमा शिविर सञ्चालन गरिएको हो।‘१६/१७ वर्षमै विवाह गर्ने र २० वर्षभित्र दुई/तीनवटा बच्चा पाउने समस्या छ, ‘त्यस्ताका लागि यस्ता विशेषज्ञ शिविरले धेरै फाइदा पुगेको छ ।

’ स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने मान्यताले नै महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविर दुई ठाउँमा राखेको हो ।शिविरमा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको परीक्षणसँगै औषधी वितरण र स्वास्थ्यकर्मीमार्फत परामर्श सेवा पनि प्रदान गरिएको थियो।गाउँटोलमै पुगेर सेवा दिँदा महिलाले लुकाएर राखेका रोग बताउन सकेको र पहिचान भएर औषधि उपचार गर्न पाएको शाहीले बताए। पाठेघरको मुखको क्यान्सर परीक्षण, पाठेघर खसेकामा रिंग प्रेसरी राख्ने, महिलाको सेतो पानी बग्ने तथा यौन रोग समस्याको उपचार, परिवार नियोजनका साधन बारे जानकारी लगायतका सुविधा पाएका हुन् ।शिविरमा स्त्रीरोग विशेषज्ञ डा. सागर कोइरालाले परीक्षण तथा उपचार गरेेका थिए।स्वास्थ्य संस्थासम्म पुगेर रोगको जाँच नगराउँदा अकालमा ज्यानैसम्म जाने समस्या देखिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।नेपालमा प्रत्येक वर्ष करिब दुई हजारदेखि २५ सय महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र करिब १३ सयदेखि १५ सय महिलाको सोही रोगका कारण मृत्यु हुने तथ्यांक छ।गाउँका महिलालाई स्थानीयस्तरमै परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले टाढा–टाढाका बस्तीका महिलाहरू शिविरमा सहभागी भएका थिए। अध्यक्ष शाहीले नागरिकको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग गर्नु सरकारको दायित्व भएको बताए। उनका अनुसार गाउँपालिकाले विभिन्न साझेदार संस्थासँग सहकार्य गरी विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म १२ वटा स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ।दुर्गम बस्तीका महिलाहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको थियोे। उनले महिलाहरूको स्वास्थ्यप्रति अझै खुलेर सेवा लिन नमान्ने प्रवृत्ति रहेको पनि उल्लेख गर्नुभयो।शिविरमा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाकाे सहयोग थियोे।वृद्ध महिला, महिनावारी बन्द भएका मात्र होइन, २५ देखि ३० वर्षकालाई पाठेघर खस्ने समस्या देखिएको छ । महिलाले रोग लुकाएर बस्ने, परीक्षण नै गर्न लाज मान्ने, अप्रेसन गर्न डराउने, रिङ प्रेसरी राख्न पनि झन्झट मान्ने गरेकाे पाइएको छ।





