स्ववियु जारी खुला भलिबलमा प्रतिस्पर्धा चर्किँदै, तीन टोली विजयी
गाेल्डेन बुढा
जुम्ला ,१० बैशाख।
जुम्लामा जारी प्रथम स्ववियु खुला भलिबल प्रतियोगिता दोस्रो दिनदेखि नै प्रतिस्पर्धात्मक मोडमा प्रवेश गरेको छ । बिहीबार भएका खेलहरूले उपाधि दाबेदार टोलीहरूको शक्ति सन्तुलन प्रस्ट पार्दै प्रतियोगितालाई थप रोचक बनाएका छन् ।जुम्ला बहुमुखी क्याम्पसमा सम्पन्न खेलअन्तर्गत कर्णाली प्राविधिक शिक्षालय (केटिएस) ले आयोजक स्ववियु टिममाथि सुरुदेखि नै दबाब कायम राख्दै सोझो तीन सेटमा जित निकाल्यो । संगठित खेल, सुदृढ डिफेन्स र सटिक स्म्यासका कारण केटिएसले सहज जित हात पारेको हो ।दोस्रो खेलमा तातोपानी गाउँपालिकाले क्याम्पसको होस्टेल टिमलाई कुनै मौका नदिँदै लगातार तीन सेटमा पराजित गर्यो । घरेलु समर्थनका बाबजुद होस्टेल टिमले लय समात्न नसक्दा तातोपानीले खेल नियन्त्रणमा राख्दै जित सुनिश्चित गर्यो ।तेस्रो खेलमा पातारासी गाउँपालिकाले डिएमडी टिममाथि एकतर्फी दबाब सिर्जना गर्दै सोझो तीन सेटमा विजयी भयो । पातारासीको समन्वय र आक्रामक खेलशैली प्रतियोगितामा उनीहरूको बलियो उपस्थिति संकेत गर्ने देखिएको छ। क्याम्पस सभापति लोकेन्द्र बुढाका अनुसार प्रारम्भिक चरणमै देखिएको यस्तो प्रतिस्पर्धाले आगामी खेलहरू अझै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
“टोलीहरूबीचको प्रतिस्पर्धा कडा बन्दै गएको छ, दर्शकको उपस्थिति पनि उत्साहजनक छ,” उनले भने ।शुक्रबार क्वाटरफाइनल र सेमिफाइनलका खेल सञ्चालन हुनेछन् । पहिलो खेल पातारासी गाउँपालिका र नयाँ कर्णाली टिमबीच हुनेछ भने दोस्रो खेल कर्णाली मावि र तातोपानी गाउँपालिकाबीच हुनेछ । यी खेलका विजेताबीच सेमिफाइनलको अन्तिम भिडन्त हुनेछ ।बिहान ८ बजेदेखि सुरु हुने खेलहरूबाट फाइनल समीकरण तय हुने र शनिबार प्रतियोगिता सम्पन्न हुने आयोजकले जनाएको छ । दुर्गम जिल्लामा विद्यार्थीस्तरबाट आयोजना गरिएको यस्तो प्रतियोगिताले खेलकुद विकाससँगै युवा ऊर्जालाई सकारात्मक दिशामा उन्मुख गराउने अपेक्षा गरिएको छ ।





