बाँकेमा सामाजिक सद्भाव सुदृढ बनाउन महत्वपूर्ण निर्णय, शनिबार सद्भाव र्याली आयोजना हुने

बाँके, १५ साउन।
बाँके जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा शान्ति–सुरक्षा थप सुदृढ बनाउन जिल्ला प्रशासन कार्यालयको पहलमा आयोजित सर्वपक्षीय बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लामा सामाजिक सद्भाव कायम राख्दै सम्भावित अप्रिय घटना रोक्न सबै पक्षको साझा पहल आवश्यक रहेको निष्कर्ष निकालेको हो।
बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्न जिल्लाका सबै सरोकारवालाको सहभागितामा शनिबार बिहान ७ः३० बजे नेपालगञ्जको बीपी चोकदेखि धम्बोझी (वीरेन्द्र चोक) सम्म सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सिरहामा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बैठकले जिल्लामा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि हुन नदिन विशेष सतर्कता अपनाउने निर्णय गरेको छ। यसअन्तर्गत विगतमा सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सार्वजनिक स्थानमा डीजे तथा साउन्ड सिस्टम बजाउन लगाइएको पूर्ण प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो।
यस्तै, विभिन्न अवसरमा आयोजना हुने धार्मिक जुलुस तथा र्यालीमा हतियार प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गर्ने निर्णय पनि गरिएको छ। परम्परागत रूपमा हतियार प्रदर्शन हुने स्थानमा समेत वास्तविक हतियार प्रदर्शन नगरी प्रतीकात्मक रूपमा मात्र प्रस्तुत गर्ने व्यवस्था मिलाइने बैठकले जनाएको छ।
बैठकले जिल्लाको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण वातावरणलाई थप मजबुत बनाउन राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, धार्मिक अगुवा, नागरिक समाज तथा आम नागरिकलाई संयमित, जिम्मेवार र सहिष्णु भूमिका निर्वाह गर्न आग्रह गरेको छ।





