वीरेन्द्रनगरको शिक्षा सुधार नीति आगामी वर्षदेखि सुरु हुँदैछन् एआईदेखि डिजिटल शिक्षक बैंकसम्मका योजना

ओम शाही
सुर्खेत, १५ असार ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गरेको छ । स्थानीय स्रोत र साधनको अधिकतम परिचालनमार्फत गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित नगरपालिकाले नीतिमै समावेश गरेर शैक्षिक सुधार वर्ष मनाउने घोषणा गरेको हो ।
१० असार (बुधबार) मा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको वीरेन्द्रनगरले विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शिक्षक बैंक, स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित) शिक्षा, कार्यसम्पादन करार र दुई करोड रुपैयाँको छात्रवृत्ति कोष सञ्चालन लगायतका रूपान्तरणकारी कार्यक्रम अघि सारेको हो ।
कर्णाली प्रदेशको राजधानी मुकाम रहेको वीरेन्द्रनगरले अघि सारेका यी योजनामा कर्णालीका १० वटै जिल्लाका विद्यार्थी सहभागी हुन पाउनेछन् । प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा अन्यत्र जिल्लाबाट आउने विद्यार्थीको चाप उच्च छ । नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वीरेन्द्रनगरलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित दशवर्षे शिक्षा क्षेत्र योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । सोही योजनाअनुसार शिक्षा क्षेत्रमा बजेट तथा कार्यक्रम क्रमशः कार्यान्वयन गरिने जनाइएको छ ।
‘विद्यालय शिक्षालाई समयानुकूल बनाउन सूचना प्रविधि, अनुसन्धान, नवप्रवर्तन, सीपमूलक शिक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमा जोड दिइने नीति आगामी वर्ष लिइने छ,’ नगर प्रमुख मोहनमाया ढकाल भन्छिन्, ‘माध्यमिक विद्यालयमा स्टिम शिक्षालाई विस्तार गर्दै विज्ञान, सूचना प्रविधि, गणित, संगीत र योगका आधुनिक प्रयोगशाला स्थापना गर्ने योजना छ ।’
आगामी वर्षको नीतिमा प्रारम्भिक बाल विकासलाई विद्यालय शिक्षाको आधार मान्दै नगरपालिकाले ईसीडी कक्षाको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखिने जनाएको छ । भौतिक पूर्वाधार र शिक्षण–सिकाइका मापदण्डका आधारमा ईसीडी कक्षाको व्यवस्थापन तथा सुदृढीकरण गरी बालबालिकाको सिकाइको बलियो आधार निर्माण गर्ने लक्ष्य नगरपालिकाले अघि सारेको हो ।
आगामी वर्षदेखि वीरेन्द्रनगरका सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव समाधान गर्न डिजिटल शिक्षक बैंक स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रिक्त शिक्षक पदपूर्तिमा यही बैंकमार्फत योग्य शिक्षक छनोट गरिने नगरपालिकाको नीति छ । अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव न्यूनीकरणका लागि नगरस्तरीय सिकाइ सहजीकरण केन्द्रलाई थप आधुनिक र प्रभावकारी बनाइने नगरपालिकाको दावी छ ।
जेहेन्दार विद्यार्थीलाई दुई करोड छात्रवृत्ति
आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दुई करोड रुपैयाँको छात्रवृत्ति कोष सञ्चालनमा ल्याउने भएको छ । मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा स्थापना गरिएको उक्त कोष कार्यान्वयनमा ल्याई नगरभित्रका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा आर्थिक सहयोग उपलब्ध गराइने नीति नगरपालिकाले लिएको छ ।
साथै अटिजम भएका बालबालिकाका लागि प्रारम्भिक सिकाइ केन्द्र स्थापना गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै, आधारभूत र माध्यमिक शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत लक्षित समूहका विद्यार्थीलाई छात्रवृत्ति दिनेछ । ‘म बनाउँछु, मेरो नगर शिक्षा विकास कोष’ मा रहेको रकम परिचालन गरी आगामी आर्थिक वर्षमा अधिकतम विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति नगरपालिकाले लिएको छ ।
आगामी वर्षदेखि शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यापक र शिक्षकसँग कार्यसम्पादन करार गरिने छ । विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा विद्यालय र शिक्षकलाई थप जवाफदेही बनाइने नीति लिइने नगर प्रमुख ढकालले बताइन । यससँगै विद्यालयको वार्षिक नतिजाका आधारमा स्तरीकरण गरी सोहीअनुसार सामुदायिक विद्यालयमा लगानी बढाइने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
नगरपालिकाले आगामी वर्षदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पससँग सहकार्य गर्नेछ । सहकार्यअन्तर्गत शिक्षक मेन्टरिङ, प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
स्नातक र स्नाकोत्तर तहका विद्यार्थीलाई स्वयंसेवक शिक्षक
विद्यार्थी चाप बढी भएका विद्यालयमा शिक्षक अभाव न्यूनीकरण गर्न स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने कार्यक्रम पनि परीक्षणका रूपमा सुरु गरिने नीति लिइएको छ ।
त्यस्तै, शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निवृत्त शिक्षक र कर्मचारी सम्मिलित ‘वीरेन्द्रनगर थिङ्क ट्याङ्क’ स्थापना गरी शैक्षिक नीति, योजना तथा सुधारका विषयमा परामर्श र सहकार्य गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाले आगामी वर्षदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अंग्रेजी माध्यमबाट शिक्षण गर्ने शिक्षकको क्षमता विकास गर्ने भएको छ । शिक्षकलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धिमार्फत अंग्रेजी माध्यमको पठनपाठनलाई थप प्रभावकारी बनाउन यो नीति लिइएको नगर प्रमुख ढकालको दावी छ ।
साथै, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सहयोग गर्न इच्छुक गैरसरकारी संस्था तथा निजी शैक्षिक संस्थासँग साझेदारी गर्ने नीति पनि नगरपालिकाले अवलम्बन गर्नेछ । नगरपालिकाले यस्तो सहकार्यमार्फत विद्यालयको सिकाइ उपलब्धि र शिक्षण व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरेको छ ।
त्यस्तै, नगर प्रमुख स्वयं कक्षाकोठामा पुगेर विद्यार्थीसँग अन्तरक्रिया गर्न ‘कक्षाकोठामा नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको छ । यसका अतिरिक्त निजी विद्यालय, मन्टेश्वरी, ट्युसन तथा कोचिङ सेन्टरको मापदण्ड तयार गरी वर्गीकरण तथा स्तरीकरण गर्ने, सामुदायिक विद्यालयमा खेल प्रशिक्षक व्यवस्था गर्ने र सबै विद्यालयमा स्वच्छ खानेपानी, शौचालय तथा खेलमैदान सुनिश्चित गर्ने अभियान सञ्चालन गर्ने नीति पनि नगरपालिकाले अघि सारेको छ ।






