स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी

गाेल्डेन बुढा

जुम्ला,१५ असार ।
जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४७ वर्षीय धर्म बोहोराको स्याउ बगैंचामा अहिले तीन सय बिरुवा छन्। गोल्डेन, रेड डेलिसिएस लगायत तीन जातका स्याउ फल्छन्। वार्षिक ३० देखि ४० क्विन्टलसम्म उत्पादन हुने स्याउ उनले व्यापारीलाई काँचै बेच्दैनन्। बरु सबै स्याउ चाना बनाएर बजार पठाउँछन्। यही निर्णयले उनको खेतीलाई सामान्य उत्पादनबाट मूल्य अभिवृद्धि भएको व्यवसायमा रूपान्तरण गरेको छ।११ वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैंचाबाट उत्पादन हुने स्याउलाई प्रशोधन गरेर बेच्ने सोच उनले धेरै वर्षअघि बनाएका थिए। त्यसका लागि ‘बोहोरा कृषि फलफूल तथा प्रशोधन फर्म’ दर्ता गरे। २०७४ सालदेखि स्याउका चाना बिक्री सुरु गरेका उनले पहिलो वर्ष ६० केजी मात्रै बिक्री गर्न सके। प्रति केजी ८ सय ५० रुपैयाँका दरले बिक्री हुँदा ४२ हजार ५ सय रुपैयाँ आम्दानी भएको थियो। त्यही सानो सुरुवात आज वार्षिक सात लाख रुपैयाँभन्दा बढीको कारोबारमा रूपान्तरण भएको छ।समयसँगै उत्पादन र बजार दुवै बढे। अघिल्लो वर्ष ६ क्विन्टल स्याउका चाना बिक्री गरेर ६ लाख रुपैयाँ आम्दानी गरेका उनले दोस्रो वर्ष ४ देखि ५ क्विन्टल चाना बिक्री गरे।

गत वर्ष साढे तीन क्विन्टल नियमित अर्गानिक पसलमा र थप एक क्विन्टल फुटकर बिक्री गरी कुल चार लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनले बताए। अहिले चाना प्रति ८ सय ५० देखि केजी एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।उनले जुम्लाको चन्दननाथ बहुउद्देश्यीय अर्गानिक मिनीमार्केट, अस्पताल लाइन, बसपार्क र विमानस्थल लाइनका अर्गानिक पसलसँग वार्षिक सम्झौता गरेका छन्। नियमित बजार सुनिश्चित भएकाले उत्पादनपछि बिक्रीको चिन्ता छैन। सम्झौताबाहेक फुटकर बिक्रीसमेत हुने भएकाले उनको वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ।धर्मराजका अनुसार स्याउदाना बेच्दा किसानले आफ्नो मेहनतको उचित मूल्य पाउँदैन। व्यापारीले ए–ग्रेड, बी–ग्रेड छुट्याउँछन्, साना आकारका स्याउ लिन मान्दैनन्। मूल्य पनि प्रति केजी न्यूनतम ४५ देखि करिब ७० रुपैयाँ मात्रै दिन्छन्। तर, चाना बनाएपछि साना–ठूला सबै स्याउ उपयोग हुन्छन्। फाल्नुपर्ने अवस्था रहँदैन, भण्डारण गर्न सकिन्छ र बजारमा बढी मूल्य पनि पाइन्छ। यही कारण उनले उत्पादन भएको सबै स्याउ चाना बनाएर बिक्री गर्ने निर्णय गरेका हुन्।औपचारिक तालिम नलिएका धर्मराजको सिकाइ भने खेतबारीमै भयो।

छिमेकी गाउँ तलिउमका भीमबहादुर रोकायाको स्याउ फर्म एक दिन अवलोकन गर्न पुगेका उनी त्यहीँबाट प्रेरित भए। “हेरेर सिकेँ, अभ्यास गर्दै गएँ,” उनी भन्छन्। अनुभवले उनलाई सिकाएको सीप अहिले आम्दानीको मुख्य आधार बनायो।स्याउका चानाबाट भएको आम्दानीले उनको जीवनशैली पनि फेरियो। सदरमुकाम खलंगामा १२ लाख रुपैयाँमा घडेरी किनेका छन्। पाँच सदस्यीय परिवारको दैनिक खर्च, लुगाफाटा, चामल, नुन, तेल, दालदेखि दुई छोरा र एक छोरीको निजी विद्यालयको पढाइ खर्चसम्म यही व्यवसायले धानेको छ।सामान्य लेखपढ गरेका धर्मराजको अनुभवले कृषिमा उत्पादन मात्र पर्याप्त हुँदैन, उत्पादनलाई मूल्य अभिवृद्धि गर्न सके किसानको आम्दानी धेरै गुणा बढ्ने देखिन्छ। जुम्लाको स्याउ उत्पादनलाई प्रशोधन उद्योगसँग जोड्न सके किसानले काँचो उत्पादनको मूल्यमा सीमित हुनुपर्ने अवस्था हट्नेछ।यस्तै, जुम्लाको चन्दननाथ नगरपालिका–८ जातिभिड गाउँका ४३ वर्षीय सिरी थापाको परिचय दुईवटा छ। एउटा, उनी भगवती आधारभूत विद्यालयका निजी शिक्षक हुन्, जहाँबाट उनी मासिक १८ हजार रुपैयाँ तलब बुझ्छन्। अर्को, उनी स्याउका चानालाई व्यवसायमा रूपान्तरण गरेर वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्ने किसान–उद्यमी हुन्।विद्यालयको जिम्मेवारी पूरा गरेपछि बिहान र बेलुकाको फुर्सदको समय उनी स्याउ बगैंचामै बिताउँछन्। अरूका लागि विश्रामको समय उनको उत्पादन र आम्दानी बढाउने अवसर बनेको छ। यही समयको सदुपयोगले उनको जीवनमा अतिरिक्त आयको नयाँ बाटो खोलेको छ।थापाले १० वर्षअघि स्याउका चाना बेच्न सुरु गरेका थिए। सुरुमा सानो प्रयासका रूपमा थालेको काम अहिले व्यवस्थित व्यवसायमा परिणत भएको छ। स्याउ उत्पादनसँगै त्यसको मूल्य अभिवृद्धि गर्ने सोचले उनले ‘मालिका स्याउ प्रशोधन उद्योग’ दर्ता गरेका छन्।उनको १ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा २ सय स्याउका बिरुवा फलिरहेका छन्। ती बिरुवाबाट वार्षिक २० क्विन्टल स्याउ उत्पादन हुन्छ। उत्पादनलाई प्रशोधन गरी चाना बनाएर बजारमा पुर्‍याउँदा आम्दानी पनि बढेको छ।गत वर्ष मात्रै उनले २ सय क्विन्टल स्याउका चाना बिक्री गरेर २ लाख रुपैयाँ आम्दानी गरे। अहिले भने बजार विस्तार र माग बढेसँगै वार्षिक आम्दानी ६ लाख बढी रुपैयाँ पुगेको छ।

शिक्षकको तलबभन्दा धेरै आम्दानी कृषिजन्य प्रशोधनबाट हुन थालेपछि उनी थप उत्साहित छन्।थापाको अनुभवले स्याउ बेच्ने मात्रै होइन, त्यसलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्न सके किसानको आम्दानी उल्लेख्य रूपमा बढ्न सक्ने देखाएको छ। जुम्लाको स्याउलाई प्रशोधित उत्पादनसँग जोड्ने प्रयासले स्थानीय उत्पादनको बजार विस्तारसँगै ग्रामीण अर्थतन्त्रलाई पनि नयाँ सम्भावना दिएको छ।फुर्सदको समयलाई सिर्जनात्मक श्रममा रूपान्तरण गर्दै थापाले देखाएको बाटोले कृषि, उद्यम र रोजगारीलाई एकैसाथ जोडेको छ। सीमित तलबमा निर्भर रहने अवस्थाबाट बाहिर निस्केर उनले स्याउका चानामार्फत अतिरिक्त आम्दानीको दिगो आधार निर्माण गरेका छन्। जुम्लाका धेरै किसानका लागि उनको यात्रा प्रेरणाको उदाहरण बनेको छ।कृषि कार्यालयका तथ्यांक अनुसार, चालु आर्थिक वर्ष जुम्लामा १७,५५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यसमध्ये ५,५९१ मेट्रिक टन जिल्ला बाहिर निर्यात भई ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ आम्दानी भएको छ।गत आर्थिक वर्ष २०८१/८२ मा १९,८४० मेट्रिक टन उत्पादन भई ९,३३१ मेट्रिक टन निर्यात भएको थियो, जसबाट ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो।यस वर्ष स्याउ खेती ४,३२५ हेक्टरबाट ४,४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र २,००० हेक्टरबाट २,१२५ हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्यामा पनि बृद्धि भएको छ, १९,१२५ बाट १९,१५० पुगेको छ। बिक्री–वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ्दो छ।

स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी

४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर–५

स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी

वीरेन्द्रनगरको शिक्षा सुधार नीति  आगामी वर्षदेखि सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *