४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर–५ पोषणमैत्री वडा घोषणा

गाेल्डेन बुढा

जुम्ला,१५ असार।
दुर्गम बस्तीमा कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको विकास र व्यवहार परिवर्तनलाई संस्थागत बनाउने लक्ष्यसहित जुम्लाको गुठीचौर गाउँपालिका–५ लाई पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। स्थानीय बाजागाजा, नाचगान र सयौँ स्थानीयवासीको उत्साहजनक सहभागिताबीच गरिएको घोषणा केवल औपचारिक कार्यक्रम नभई समुदायस्तरमै पोषण सुधारको साझा प्रतिबद्धताका रूपमा हेरिएको छ।गुठीचौर गाउँपालिकाको झारज्वाला माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकाली र गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले संयुक्त रूपमा वडा घोषणा गरेका हुन्।उनिहरुले पानसमा बत्ती बालेर गमलामा पानी हालेका थिए। जिल्ला समन्वय समितिका उपप्रमुख थकालीले कुपोषण कुनै एक परिवारको समस्या नभई समग्र समाजको चुनौती भएको उल्लेख गर्दै अब कुनै पनि बालबालिका कुपोषणको सिकार बन्न नपर्ने अवस्था सिर्जना गर्न सबै तहको निरन्तर प्रयास आवश्यक रहेको बताए।

उनले पोषण सुधारका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक तथा समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अभियानलाई निरन्तर अघि बढाउन आग्रह गरे।कर्णाली प्रदेश योजना आयोगका कार्यालय प्रमुख गोपाल केसीले पोषणमैत्री स्थानीय शासन घोषणा अन्तिम लक्ष्य नभई दिगोपनाको सुरुवात भएको बताए। उनले सूचक पूरा गरेर घोषणा गर्नुभन्दा पनि त्यसलाई व्यवहारमा उतारेर दीर्घकालसम्म कायम राख्नु अझ चुनौतीपूर्ण हुने धारणा राखे।गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले वडा नम्बर ५ को उपलब्धि सम्पूर्ण गाउँपालिकाकै गौरव भएको बताइन्। पोषणमैत्री घोषणा सफल बनाउन सहयोग गर्ने सबै सहयोगी दाता, वडा कार्यालय, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सम्पूर्ण गुठीचौर गाउँपालिकालाई नै पोषणमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यका साथ काम अघि बढाइने प्रतिबद्धता जनाइन्।वडा अध्यक्ष कमलबहादुर महतले घोषणा सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। राष्ट्रियस्तरकी गायिका इब्सल सञ्जाल तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको भन्दै उनले समुदायको सक्रिय सहभागिताले अभियानप्रति अपनत्व बढाएको बताए।घोषणा समारोहमा स्थानीय पञ्चेबाजा, विद्यालयका स्वागत गीत, सांस्कृतिक नृत्य तथा स्थानीय महिलाहरूले ‘सरसफाइ गरौँ, स्थानीय रैथाने बाली उत्पादन गरि खाऔँ’ भन्ने सन्देशमूलक देउडा प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुति मार्फत पोषण, सरसफाइ र स्थानीय उत्पादनको महत्व जोड्नु कार्यक्रमको विशेष आकर्षण बनेको थियो।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले घोषणा कागजमा सीमित भए त्यसको कुनै अर्थ नहुने भन्दै नागरिकको दैनिक व्यवहारमा पोषणसम्बन्धी अभ्यास स्थापित गर्नुपर्ने बताए। उनले वडा नम्बर ५ का नागरिकलाई अभियानलाई निरन्तरता दिन आग्रह गरे।

गाउँपालिका प्रवक्ता अर्जुनकुमार महताराले पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि बालबालिका, गर्भवती तथा सुत्केरी महिला, किशोरी र समुदायको पोषण अवस्थासँग सम्बन्धित सूचक पूरा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए। भौगोलिक रूपमा सबैभन्दा टाढा रहेको आफ्नो वडाले पनि सीमित स्रोतसाधनका बीच कुपोषण न्यूनीकरणका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै अभियान सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका गाउँपालिका प्रतिनिधि रावल, नेपाली कांग्रेसका सभापति टेकबहादुर भण्डारी, गाउँपालिकाका पूर्व अध्यक्ष हरिबहादुर भण्डारी, गैसस महासंघका जिल्ला अध्यक्ष टेकबहादुर रावतलगायतका वक्ताहरूले पोषणमैत्री स्थानीय शासनको दिगोपना कायम राख्न व्यवहार परिवर्तन, सामुदायिक सहभागिता र निरन्तर अनुगमन आवश्यक रहेको धारणा राख्दै शुभकामना व्यक्त गरे।गाउँपालिका पोषण शाखा प्रमुख जग्गीप्रसाद धितालका अनुसार संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० अनुसार आवश्यक तयारी पूरा गरिएको हो। उनका अनुसार कार्यविधिले निर्धारण गरेका ४९ सूचकमध्ये ९६ प्रतिशत सूचक पूरा गरेपछि जिल्ला समन्वय समितिको अनुगमन तथा मूल्याङ्कनका आधारमा वडा नम्बर ५ लाई पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो। उनले बालबालिकामा देखिएको कुपोषणको अवस्था अहिले उल्लेख्य रूपमा सुधार भएको दाबी गरे।।

महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाका अनुसार पोषण कार्यक्रमले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको छ। उनले कुनै पनि लक्ष्य हासिल गर्न व्यवहार परिवर्तन अपरिहार्य हुने उल्लेख गर्दै पोषण सुधारलाई दिगो बनाउन समुदायको निरन्तर सक्रियता आवश्यक रहेको बताइन्।

४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर–५ पोषणमैत्री वडा घोषणा

सम्पादकीय :  जोखिमका बालिकाको संरक्षण कसले गर्ने

४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर–५ पोषणमैत्री वडा घोषणा

स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी

Leave a comment

Your email address will not be published. Required fields are marked *