सुर्खेत, ८ मंसिर ।
कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कार्यक्रमलाई बीचमै रोक्नुभन्दा आवश्यक नीति तथा मापदण्डहरू परिमार्जन गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
सोमबार वीरेन्द्रनगरमा सिसिआर कर्णाली प्रदेशको आयोजनामा भएको प्रादेशिक परामर्श गोष्ठीमा सहभागीहरूले कार्यक्रमको निरन्तरता, यसको व्यवस्थापन र प्रभावकारिताका विषयमा धारणा राखेका हुन् । कार्यक्रममा सन्तोष महर्जनले बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम अति आवश्यक रहेको भन्दै यसका लागि कर्णाली प्रदेशले पनि प्रयास गरिरहेको बताए ।
उनले बैंक खाता खोल्न देखिएका समस्याबारे चर्चा गर्दै सरकारले त्यसको समाधानका लागि के गर्न सक्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताए । उनले कर्णालीमा सामाजिक सुरक्षा सुदृढीकरणका नीतिगत प्राथमिकता, नीतिगत भूमिका, बजेटको भूमिका, अनुगमन, समन्वय तथा प्रदेशसभा सदस्यहरूको भूमिकाबारे चर्चा गरे ।
सिसिआर कर्णाली प्रदेशका टेकराज आचार्यले कर्णालीमा बालबालिका ऐनको आवश्यकता रहेको बताए। उनले बालविवाह, कम उमेरमै गर्भवती हुने समस्या, कुपोषण तथा शिक्षामा सुधारको आवश्यकताबारे चर्चा गरे । पत्रकार ओम शाहीले कार्यक्रमलाई परिमार्जन गरेर सञ्चालनमा ल्याउनुपर्ने बताए ।
छोरीहरूको आवश्यकता र आर्थिक विपन्नतालगायतका क्षेत्रका आधारमा वर्गीकरण गरेर कार्यक्रम लागू गर्दा बढीभन्दा बढी प्रतिफल प्राप्त हुने उनको भनाइ थियो । पत्रकार दीपकजंग शाहीले स्वेच्छिक रूपमा बचत खाता निर्माणसँगै बिमा कोष बनाएर कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । यस्तै, कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले कार्यक्रम सुरु गर्दाकै समयमा २० वर्षको हिसाब गरेर यसलाई अगाडि नबढाउन सुझाव दिएको बताए । तर, सुरु गरिसकेको कार्यक्रम बीचमै छोड्न नहुने भन्दै उनले निरन्तरता दिनुपर्नेमा जोड दिए ।
‘छोरीहरूको खातामा जम्मा हुने रकमलाई आम्दानी हुने परियोजनामा लगानी गर्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘पैसा चलायमान बनाउनुपर्छ र बैंकसँग सरोकार नराखी सरकारले नै काम गर्दा प्रतिफल प्राप्त हुन्छ ।’ अर्का सांसद घनश्याम भण्डारीले खाता खोलिसकेपछि त्यसको व्यवस्थापनको बाटोमा पनि ध्यान दिनुपर्ने बताए । खातामा जम्मा भएको रकम कुनै आयोजनामा लगानी गर्नुपर्ने उनको भनाइ थियो । उनले समस्या स्रोतभन्दा पनि सोचका कारण आएको बताए ।
कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले पनि कार्यक्रमलाई सरकारले निरन्तरता दिनुपर्ने बताए । कर्णालीका छोरीहरूको भविष्यबारे दीर्घकालीन सोच नहुँदा समस्या आएको उनले बताए ।
त्यस्तै, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका सुवर्णकुमार खड्काले कार्यक्रमको अवधारणा र प्रक्रियाबारे जानकारी गराए । उनले आर्थिक वर्ष २०७६/०७७ देखि लागू भएको कार्यक्रमका लागि आर्थिक वर्ष २०७८/०७९ देखि बजेट विनियोजन हुन नसकेको र खातामा रकम जान नसकेको अवस्थाबारे जानकारी दिए ।
आवश्यक बजेट विनियोजन हुन नसकेको र बैंकलाई मात्रै फाइदा भएको विषय पनि उनले उठाए। कार्यक्रमको समस्या समाधानका लागि प्रदेशस्तरीय विकास समस्या समाधान समितिमा सिफारिस गरी पठाइएको उनले बताए ।


