२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 20°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

तारेभिरमा फोहोर फाल्ने र जलाउने कार्य रोक्न माग गर्दै उच्च अदालतमा रिट

सुर्खेत, ८ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ स्थित श्रीकृष्ण सामुदायिक वनको तारेभिर क्षेत्रमा भइरहेको अव्यवस्थित फोहोर विसर्जन र जलाउने कार्य रोक्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता शेरबहादुर खत्रीले मंसिर ७ गते सार्वजनिक सरोकारको विषय भन्दै उच्च अदालत सुर्खेतमा परमादेशको मागसहित रिट दायर गरेका हुन् ।
उनले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश सरकार, प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालय, वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई विपक्षी बनाएका छन् ।
रिटमा तारेभिर क्षेत्रमा नगरपालिकाले फोहोरमैला अव्यवस्थित रूपमा थुपार्ने र आगो लगाएर जलाउने गरेको उल्लेख छ । यसबाट निस्कने विषाक्त धुवाँ, दुर्गन्ध तथा प्रदूषक पदार्थले मानव स्वास्थ्य, वन क्षेत्र, प्राकृतिक स्रोतसाधन र पारिस्थितिक प्रणालीमा प्रतिकूल असर परेको निवेदकको जिकिर छ ।
रिटमा वीरेन्द्रनगरका विभिन्न वडा तथा बजार क्षेत्रबाट दैनिक उत्पादन हुने घरायसी, व्यावसायिक र संस्थागत फोहोरको संकलन, ढुवानी, पृथकीकरण, प्रशोधन तथा अन्तिम विसर्जन वैज्ञानिक र वातावरणमैत्री ढंगबाट हुनुपर्नेमा त्यसो नभएको उल्लेख छ । फोहोरको स्रोतमा पृथकीकरण, वैज्ञानिक प्रशोधन, सुरक्षित विसर्जन र प्रदूषित तरल पदार्थ व्यवस्थापनको पर्याप्त व्यवस्था नगरी खुला रूपमा फोहोर थुपार्ने र जलाउने गरिएको निवेदनमा दाबी गरिएको छ ।
यसबाट वीरेन्द्रनगरका बस्ती मात्र नभई आसपासका क्षेत्रसमेत प्रभावित हुन सक्ने भन्दै रिटमा तारेभिरबाट प्रभावित हुन सक्ने बस्तीहरूको भौगोलिक दूरीसमेत उल्लेख गरिएको छ । रिटअनुसार तारेभिरको फेदीमा रहेका वडा नं. १ का सोलिघोप्टे तथा तल्लो तारेभिरका बस्ती करिब एकदेखि दुई किलोमिटर दूरीमा छन् ।
बाङ्गेसिमल तथा वडा नं. २ र ३ का उत्तरी बस्ती दुईदेखि तीन किलोमिटर, वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र तीनदेखि चार किलोमिटर दूरीमा छन् । यस्तै, वडा नं. १४ का मैकल तथा भिरबारी टोल एकदेखि दुई किलोमिटर, गोठीकाँडा तीनदेखि चार किलोमिटर र वयलकाँडा तथा गढी क्षेत्र चारदेखि पाँच किलोमिटर दूरीमा रहेको रिटमा उल्लेख छ ।
बराहताल गाउँपालिका–१० अन्तर्गत सिस्नेरी तथा तारेभिर सिमाना क्षेत्र दुईदेखि चार किलोमिटर, पोखरीकाँडा ६ देखि आठ किलोमिटर र लेखगाउँ सातदेखि आठ किलोमिटर दूरीमा छन् । फोहोर जलाउँदा निस्कने धुवाँ हावाको बहावसँगै फैलिने भएकाले सिंगो वीरेन्द्रनगर उपत्यका वायु प्रदूषण र जनस्वास्थ्य जोखिमबाट प्रभावित हुन सक्ने निवेदकको दाबी छ ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा, महिला तथा श्वासप्रश्वाससम्बन्धी जोखिममा रहेका नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र वन क्षेत्रको जैविक विविधता, वनस्पति तथा वन्यजन्तुको बासस्थानमा समेत असर पुग्ने रिटमा उल्लेख छ ।
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणको योजना अघि बढाए पनि निर्माण, सञ्चालन र वैज्ञानिक व्यवस्थापनको सम्पूर्ण व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निवेदनमा दाबी गरिएको छ । ल्याण्डफिल साइट निर्माणका लागि बजेट खर्च तथा प्रक्रिया अघि बढेको भए पनि तारेभिरमा अव्यवस्थित फोहोर विसर्जन र जलाउने कार्य नियन्त्रण हुन नसकेको निवेदकको जिकिर छ ।
निवेदनमा संविधानको धारा १६, ३० र ३५ ले प्रत्याभूत गरेका मौलिक हक तथा वन ऐन, २०७६, वातावरण संरक्षण ऐन, २०७६, कर्णाली प्रदेश वन ऐन, २०७८, प्रदेश वातावरण संरक्षण ऐन, २०७७, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का व्यवस्थालाई आधार बनाइएको छ । रिटमा तारेभिरमा फोहोर जलाउने र अव्यवस्थित रूपमा विसर्जन गर्ने कार्य तत्काल रोक्न, त्यहाँ थुपारिएको फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न तथा वातावरणीय पुनर्स्थापना गर्न परमादेश जारी गर्न माग गरिएको छ ।
त्यस्तै, तारेभिरको विकल्पमा उपयुक्त स्थान पहिचान गरी प्राविधिक तथा वातावरणीय अध्ययन गर्न, आवश्यक स्वीकृति प्राप्त गर्न र आधुनिक प्रविधिसहितको सुरक्षित ल्याण्डफिल साइट तथा फोहोर प्रशोधन केन्द्र निर्माण गरी निश्चित समयसीमाभित्र सञ्चालनमा ल्याउन माग गरिएको छ ।
निवेदकले तारेभिरमा विगतदेखि थुपारिएको फोहोर तथा जलाइएको प्लास्टिकजन्य र अन्य फोहोरबाट माटो, पानी, हावा, वनस्पति, वन्यजन्तु र मानव स्वास्थ्यमा परेको तथा पर्न सक्ने असरबारे विज्ञ र प्राविधिक सम्मिलित अध्ययन समिति गठन गरी वैज्ञानिक परीक्षण गर्न पनि माग गरेका छन् ।
उक्त अध्ययनको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत रिटमा छ । त्यसैगरी, फोहोर व्यवस्थापनका लागि हालसम्म विनियोजन गरिएको बजेट, खर्च विवरण, ल्याण्डफिल साइट निर्माणको प्रगति, स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन र आगामी दीर्घकालीन व्यवस्थापन योजनासमेत सार्वजनिक गर्न माग गरिएको छ ।
तारेभिर आसपासका बस्तीका नागरिकको स्वास्थ्यमा फोहोर तथा विषाक्त धुवाँको प्रभाव अध्ययन गरी आवश्यक स्वास्थ्य परीक्षण, उपचार र जनस्वास्थ्य संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि निवेदनमा समेटिएको छ । रिटको अन्तिम टुंगो नलागेसम्मका लागि निवेदकले अन्तरिम आदेशसमेत माग गरेका छन् ।
अन्तरिम आदेशमार्फत तारेभिरमा खुला रूपमा फोहोर जलाउने कार्य तत्काल रोक्न, दुर्गन्ध तथा हानिकारक जीवाणु नियन्त्रणका लागि प्राविधिक परीक्षणबाट उपयुक्त ठहरिएका रसायन प्रयोग गरी फोहोरको तत्काल प्रशोधन तथा व्यवस्थापन गर्न माग गरिएको छ । त्यस्तै, सम्बन्धित विज्ञ तथा प्राविधिक निकायबाट स्थलगत निरीक्षण गराई तारेभिर क्षेत्रको वातावरणीय अवस्था, हावा, पानी र माटोको प्रदूषण परीक्षण गरी प्रारम्भिक प्रतिवेदन अदालतसमक्ष पेस गर्न पनि माग गरिएको छ ।
रिटमा वीरेन्द्रनगर नगरपालिकाबाट तारेभिर ल्याण्डफिल साइट निर्माणका लागि तयार गरिएको वातावरणीय अध्ययन प्रतिवेदनको प्रतिलिपि झिकाई त्यसमा उल्लेखित स्वीकृत सर्त, फोहोर विसर्जनको विधि, फोहोर जलाउने कार्यसम्बन्धी व्यवस्था र वातावरणीय अनुगमनको अवस्थासमेत परीक्षण गर्न माग गरिएको छ ।

तारेभिरमा फोहोर फाल्ने र जलाउने कार्य रोक्न माग गर्दै उच्च अदालतमा रिट

शान्ति सम्झौताका दुई दशक जहाँको त्यहिँ संक्रमणकालिन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!