२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 20°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

सम्पादकीय : राष्ट्रिय खेलकुदको विरासत जोगाउने चुनौती

दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः मंसिर १६ देखि कर्णालीमा आयोजना हुँदैछ । पटक–पटक मिति सरेर अन्योलमा परेको प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा खेलकुदको चहल पहल बढेको छ भने खेलाडी, प्रशिक्षक र पाहुनाको स्वागतका लागि कर्णाली तयार हुँदैछ । यो कर्णालीका लागि राष्ट्रिय खेलकुदको आतिथ्य गर्ने अवसर मात्र होइन, आफ्नो क्षमता प्रमाणित गर्ने महत्वपूर्ण परीक्षा पनि हो । प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको चार वर्ष बितिसक्दा पनि कर्णालीले समयमै तयारी पूरा गर्न सकेन । खेल पूर्वाधारको अभाव र विभिन्न प्राविधिक कारण देखाउँदै चार पटकसम्म प्रतियोगिताको मिति सारियो । २०८१ मंसिरमै हुनुपर्ने प्रतियोगिता २०८३ मंसिरमा आइपुग्दा बल्ल आयोजना हुने अवस्थामा पुगेको छ । यसले राष्ट्रिय खेलकुद जस्तो नियमित प्रतियोगिता सञ्चालनमा सरकारी इच्छाशक्ति, पूर्वतयारी र समन्वयको कमजोरी उजागर गर्छ । अब प्रतियोगिता सम्पन्न हुनु मात्र पर्याप्त छैन, विगतको ढिलासुस्तीबाट पाठ सिक्नु पनि आवश्यक छ ।
प्रतियोगिताका लागि वीरेन्द्रनगरमा एक अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको प्रदेश रंगशाला कर्णालीको महत्वपूर्ण उपलब्धि हो । करिब १० हजार दर्शक क्षमताको प्यारापिटसहित विभिन्न खेलका पूर्वाधार निर्माण भएका छन् । फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी र कभर्ड हललगायत संरचनाले प्रदेशको खेलकुद विकासका लागि आधार तयार गरेका छन् । तर, यस्ता संरचनाको वास्तविक उपयोग प्रतियोगिता अवधिमा मात्र सीमित हुनु हुँदैन । नियमित प्रशिक्षण, खेलाडी उत्पादन र राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्ने वातावरण बनाउन सके मात्रै यति ठूलो लगानीको प्रतिफल प्राप्त हुनेछ ।
आठ जिल्लामा ३२ खेल सञ्चालन गर्ने तयारीले प्रतियोगितालाई प्रदेश राजधानीमा मात्र सीमित नराखी अन्य जिल्लासम्म विस्तार गरेको छ । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहित ११ टोलीका खेलाडीले एक हजार तीन सय ३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । हजारौँ खेलाडी, अफिसियल र पाहुनाको आगमनले कर्णालीको पर्यटन, होटल व्यवसाय, यातायात तथा स्थानीय व्यापारमा आर्थिक गतिविधि बढाउने सम्भावना छ । यस अवसरलाई प्रदेशको पर्यटन प्रवद्र्धन र पहिचान विस्तारसँग जोड्नुपर्छ ।
यद्यपि, आवास व्यवस्थापन, यातायात, स्वास्थ्य सेवा, सुरक्षा र खेलस्थलको तयारीमा देखाइएको सक्रियता प्रतियोगिता अवधिभर कायम रहनुपर्छ । पाँच हजार नौ सय बेडको व्यवस्था र दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालनको तयारी सकारात्मक छ । तर, व्यवस्थापनको वास्तविक परीक्षण खेल सञ्चालन हुँदा हुनेछ । कुनै खेलाडीले आवास, खानपान, स्वास्थ्य सेवा वा यातायातका कारण असुविधा भोग्नुपर्ने अवस्था आउनु हुँदैन । तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अनिवार्य छ । सहआयोजक कर्णालीले कम्तीमा चार स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्नु महत्त्वपूर्ण भए पनि राष्ट्रिय खेलकुदको सफलता पदकको संख्याले मात्रै मापन हुँदैन । खेल व्यवस्थापन, पूर्वाधारको उपयोग, खेलाडीको अनुभव र प्रतियोगिताले छोड्ने दीर्घकालीन प्रभाव पनि उत्तिकै महत्वपूर्ण छन् । दशौँ राष्ट्रिय खेलकुद कर्णालीको सामर्थ्य देखाउने ऐतिहासिक अवसर हो । यसलाई औपचारिक उद्घाटन र समापनमा सीमित नगरी खेलकुद विकासको नयाँ आधार बनाउनुपर्छ । प्रतियोगितापछि रंगशाला र अन्य पूर्वाधार उपयोगविहीन हुने विगतका प्रवृत्ति दोहोरिन दिनु हुँदैन । खेलाडी उत्पादन, प्रशिक्षकको क्षमता विकास र स्थानीयस्तरमा नियमित प्रतियोगिताको वातावरण बनाउन प्रदेश सरकारले दीर्घकालीन योजना ल्याउनुपर्छ । ढिलै भए पनि कर्णालीमा आइपुगेको राष्ट्रिय खेलकुदले प्रदेशलाई राष्ट्रिय खेलकुदको नक्सामा स्थापित गर्न सकोस् । त्यसका लागि प्रतियोगिता सफल आयोजना मात्र होइन, त्यसबाट प्राप्त उपलब्धिको संरक्षण र निरन्तरता अहिलेको मुख्य जिम्मेवारी हो ।

सम्पादकीय : राष्ट्रिय खेलकुदको विरासत जोगाउने चुनौती

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

सम्पादकीय : राष्ट्रिय खेलकुदको विरासत जोगाउने चुनौती

शान्ति सम्झौताका दुई दशक जहाँको त्यहिँ संक्रमणकालिन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!