२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 20°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

शान्ति सम्झौताका दुई दशक जहाँको त्यहिँ संक्रमणकालिन न्याय

ओम शाही
सुर्खेत, ८ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगर नगरनगरपालिका–८ की शान्ति ढकालका श्रीमान् निजामती कर्मचारी थिए । उनी दैलेखको तत्कालिन लालिकाँडा गाविसमा सचिवको रुपमा सेवा गर्दै थिए । श्रीमान् सरकारी जागिरे भएकाले शान्तिको परिवार ठिकठाक चल्दै थियो ।शान्तिका काखमा छोराछोरी हुँर्कदै थिए । बिडम्बना २०५५ सालमा तत्कालिन राज्यपक्षले शान्तिको परिवार नै उजाडिदियो । कारण थियो, तत्कालिन १० वर्षे द्वन्द्व । तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशत्र द्वन्द्वको साइड इफेक्टले शान्तिको सिउँदो पुछियो । छोराछोरी सधैँका लागि टुहुरा भए । त्यपछि सुरु भयो शान्तिका जीवनमा अशान्ति ।
शान्तिका श्रीमान्‌लाई तत्कालिन राज्य पक्ष अर्थात नेपाली सेनाले मारिदिएको थियो । श्रीमान्‌सँग छुटिएको २८ वर्ष बित्यो । शान्तिका श्रीमान् राज्यविरुद्धको द्वन्द्वमा हिँडेका थिए न त तत्कालिन नेकपा माओवादी थिए । उनी थिए, राष्ट्रसेवक कर्मचारी । सेनाले मारेको चार/पाँच दिनपछि मात्रै शान्तिले श्रीमान् मरेको थाहा पाइन । तर, उनले श्रीमान्‌को शवसमेत देख्न पाइनन् । श्रीमान्‌लाई मारिएको थाहा छ । तर, उनलाई श्रीमान् अझै पनि जिवित फर्कने आश लागिरहन्छ । किनभने उनीसँग श्रीमान् मारिएको प्रमाण छैन । यहीँ कारण उनी दुई दशक यता श्रीमान्‌को न्यायका लागि लडिरहेकी छन् ।
राज्यसँग चलिरहेको न्याय माग्ने लडाइँ कहिले टुङ्गो लाग्ने हो, अनभिज्ञ छन् शान्ति । तत्कालिन राज्य र माओवादीबीच चलेको द्वन्द्व अत्य भएको दुई दशक पुग्दा संक्रमणकालीन न्याय पाउने शान्तिको आशा अझै पुरा भएको छैन । ‘छोराछोरी साना थिए, अहिले छोराछोरीले छोराछोरी पाइसके तर, हामीले न्याय पाएनौ,’ उनले भनिन्, ‘हाम्रा निर्दोश मान्छे मारिए । हामीले चाहेको न्याय हो । तर, २० वर्षसम्म पनि न्याय देऊ भन्नु परेको छ । राज्यले द्वन्द्व पीडितलाई नागरिक सरहको व्यवहार नै नगर्दा न्याय पाइन्छ जस्तो लाग्नै छाड्यो ।’
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का पूर्णप्रसाद पौडेलका छोरालाई नेपाली सेनाले अपहरणशैलीमा गिरफ्‌तार गर्‍यो । राजनीतिकरुपमा कतै पनि आवद्धता नभएका उनलाई सेनाले तत्कालिन नेकपा माओवादीको ट्याग भिराएर अपहरण गरेको उनी बताउँछन् । पूर्णप्रसादको सम्पत्ति सेनाले लुट्यो । सेनाले श्रीमतीको सामूहिक बलत्कार गरेको उनी बताउँछन् । यति मात्रै होइन सेनाले उनलाई झण्डै १८ महिना आफ्‌नो कष्टडीमा राखेर निर्मम यातना दियो । त्यो क्षण उनका लागि जीवनभर बिझाउने घाउ बनेर बसेको छ ।
आफूमाथी यतिसम्मको ज्यादती किन गरियो भन्ने प्रश्नको चित्तबुझ्‌दो जवाफ उनले अझै भेट्न सकेका छैनन् । पूर्णप्रसाद छोराका हत्यारा सैनिक अधिकारीलाई कारवाही र क्षतिपूर्ति पाउनुपर्ने माग लिएर सर्वोच्च अदालतको ढोकासम्म पुगेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले पूर्णप्रसादको घटनामा छानविन गरेर कारवाही र क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको छ । तर, सिफारिस कार्यान्वयन नहुँदा जीवनको उत्तरार्धमा पुगेका पूर्णप्रसादलाई न्याय मिलेको छैन । उनलाई पनि राज्यले न्याय देला भन्नेमा विश्वास लाग्न छाडेको छ ।


पूर्णप्रसादले राज्यसँग निरन्तर भनिरहेका छन्, ‘सरकार हामीलाई संक्रमणकालीन न्याय चाहियो, निर्दोषमाथि ज्यादती गर्नेहरुलाई कारवाही गर । बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर । पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउ ।’ यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का ऋषि वली पनि संक्रमणकालिन न्याय टुङ्गोमा पुगेको देख्न चाहन्छन् । उनकी जेठी दिदी दिपा वलीलाई २०६० सालमा नेपाली सेनाले अपहरण गरेर वेपत्ता पारेको थियो ।
उनी आठ कक्षामा पढ्थिन । त्यसयता दिपाको परिवार उनी जिवितै फर्कने आशामा छ । दिपाको वास्तविक अवस्था पत्ता नलाग्दा परिवारले अन्तिम संस्कार पनि गरेको छैन । बुवा र आमा दिपाको खोजी गर्दै बिते । अहिले दिदीलाई न्याय दिलाउने लडाइँमा ऋषि आफै होमिएका छन् । वली परिवारको एउटा मात्रै माग छ, ‘सरकार कि सास देउ, कि त हाम्रा मान्छेको लाश ।’ अब पनि न्याय नपाए सडक संघर्षमा उत्रने चेतावनी ऋषिको छ । उल्लेखित पात्रहरु तत्कालिन द्वन्द्वको चपेटामा परेर राज्यपक्षबाट ज्यादती भोग्न बाध्य निर्दोष नागरिक हुन् । जो २० वर्षयता न्यायको निरन्तर खोजीमा छ ।
नेपालमा सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्ति प्रक्रिया सुरु भएको दुई दशक पुग्दा पनि द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन् । ५ मंसिर २०६३ मा नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताले द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर्ने, बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाउने, पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने र दोषीलाई जवाफदेही बनाउने प्रतिबद्धता गरेको थियो । तर, सम्झौताका महत्वपूर्ण प्रतिबद्धता अझै कार्यान्वयन हुन सकेका छैनन् ।
शान्ति सम्झौतापछि मुलुकमा राजनीतिक तथा संवैधानिक परिवर्तन भए । सशस्त्र द्वन्द्वको अन्त्य भयो, माओवादी लडाकु व्यवस्थापन गरिए र मुलुक नयाँ राजनीतिक व्यवस्थामा प्रवेश गर्‍यो । तर, द्वन्द्वका क्रममा आफन्त गुमाएका, बेपत्ता पारिएका परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्ति र अन्य पीडितका समस्या भने जहाँको त्यहीँ छन् । मानव अधिकारका क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा तयार पारिएको ‘द्वन्द्वपीडित पार्श्वचित्र’ नामक पुस्तकका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा सशस्त्र द्वन्द्वका क्रममा चार सय ३२ जना अपाङ्गता भएका, ९९ जना बेपत्ता पारिएका र दुई हजार सात सय पाँच जनाको हत्या भएको उल्लेख छ ।
तथ्यांक अनुसार कर्णालीका तीन हजार दुई सय ३६ जना द्वन्द्वको चपेटामा परेका छन् । जिल्लागत विवरणअनुसार सबैभन्दा बढी कालिकोटमा ६ सय ९० जना द्वन्द्वपीडित रहेको तथ्यांक । त्यहाँ एक सय २५ जना अपाङ्गता भएका, २६ जना बेपत्ता र पाँच सय ३९ जनाको हत्या भएको छ । त्यसपछि रुकुममा पाँच सय ६५, जाजरकोटमा चार सय ५०, सुर्खेतमा तीन सय ६६ र दैलेखमा तीन सय नौ जना राज्य र तत्कालिन विद्रोही माओवादीबाट प्रभावित भएका छन् । त्यस्तै जुम्लामा दुई सय ९८, सल्यानमा दुई सय ८१, हुम्लामा एक सय २८, मुगुमा ८६ र डोल्पामा ५८ जना प्रभावित भएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी बताउँछन् ।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशका १० जिल्लाबाट दुई सय ३८ वटा उजुरी परेका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले संक्रमणकालीन न्यायका विषयमा आयोगले विगत लामो समयदेखि घटनाको अध्ययन अनुसन्धान गर्ने र संलग्न व्यक्तिहरूलाई कारवाहीको लागि सिफारिस गर्दै आएको बताए ।
‘द्वन्द्वको समयमा भएका घटनाहरूका सम्बन्धमा आयोगले घटना स्थलमा गई सत्य–तथ्य संकलन गर्दै आएको छ, जसले पीडितको न्याय प्राप्तिमा सहयोग मिलेको छ,’ उनले भने, ‘समस्या समाधान गर्नका लागि गठन हुने आयोगसँग पीडितको न्यायको लागि हामी समन्वय र सहकार्य गर्नेछौँ ।’ यी तथ्याङ्कले कर्णालीका सबै जिल्लामा सशस्त्र द्वन्द्वको प्रभाव परेको देखाउँछन् । द्वन्द्वको मानवीय क्षति संख्यामा मात्र सीमित छैन । प्रत्येक संख्याको पछाडि परिवारको विछोड, अभिभावक गुमाएका बालबालिका, जीवनसाथी गुमाएका महिला, बेपत्ता आफन्तको प्रतिक्षामा रहेका परिवार र जीवनभर शारीरिक तथा मानसिक पीडा भोग्न बाध्य व्यक्तिको कथा जोडिएको छ ।
कर्णालीमा भौगोलिक विकटता, कमजोर पूर्वाधार, गरिबी, सामाजिक विभेद र राज्यका सेवामा सीमित पहुँचका कारण द्वन्द्वपीडितले थप कठिनाइ भोगिरहेका छन् । परिवारको मुख्य अभिभावक गुमाउँदा जीविकोपार्जनमा समस्या, बालबालिकाको शिक्षा प्रभावित, उपचार तथा स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक तथा आर्थिक असुरक्षा, मनोसामाजिक समस्या र न्यायिक प्रक्रियामा पहुँचको कठिनाइ प्रमुख समस्याका रूपमा रहेको इन्सेक प्रदेश संयोजक सुवेदीले बताए ।
विशेषगरी बेपत्ता पारिएका व्यक्तिका परिवारले आफ्ना आफन्तको अवस्थाबारे जानकारी नपाउँदा लामो समयदेखि अनिश्चितता र पीडाको जीवन बिताइरहेका छन् । द्वन्द्वका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिका लागि नियमित उपचार, पुनर्स्थापना, सहायक सामग्री, रोजगारी र सामाजिक सुरक्षाको पर्याप्त व्यवस्था हुन सकेको छैन । महिला तथा यौन हिंसाबाट प्रभावित व्यक्तिले सामाजिक लाञ्छना, विभेद र गोपनीयताको चुनौतीसमेत सामना गर्नुपरेको छ ।

राजनीतिक सहमति भयो, न्याय अधुरै
विस्तृत शान्ति सम्झौताले द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको सत्यतथ्य सार्वजनिक गर्ने, बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाउने, पीडित तथा प्रभावितलाई राहत र परिपूरण उपलब्ध गराउने, दोषीलाई कानुनी जवाफदेही बनाउने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन संस्थागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
संक्रमणकालीन न्यायलाई संस्थागत रूपमा अघि बढाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी कानुनी व्यवस्थामा सुधारका प्रयाससमेत भएका छन् । तर, आयोगहरूको कामकारबाही, उजुरीको छानबिन, सत्य अन्वेषण, पीडितको विश्वास, न्यायिक जवाफदेहिता र प्रभावकारी परिपूरणका सवालमा अझै चुनौती रहेको मध्यपश्चिम विश्वविद्यालयका द्वन्द्व र शान्ति अध्ययन विभागका उपप्राध्यापक ललितजंग शाही बताउँछन् ।
संक्रमणकालिन न्यायको प्रक्रिया पीडितको सहमति, सहभागिता, विश्वास र अधिकारमा आधारित हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आममाफी वा दण्डहीनतालाई प्रश्रय दिने कुनै पनि व्यवस्था न्यायको मूल मर्म र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुकूल हुन नसक्ने उनको बुझाई छ ।
‘संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक प्रभाव र स्वार्थको जोखिम, पीडितको अर्थपूर्ण सहभागिता तथा विश्वासको कमी, उजुरीको निष्पक्ष र प्रभावकारी छानबिनमा ढिलाइ, गम्भीर मानव अधिकार उल्लंघनका घटनामा जवाफदेहिता सुनिश्चित गर्न कठिनाइ र पीडित तथा साक्षीको सुरक्षाको अपर्याप्तता प्रमुख चुनौती देखिन्छ,’ शाहीले भने । उनका अनुसार पीडितको आवश्यकता र अवस्थाअनुसार परिपूरण तथा पुनर्स्थापनाको अभाव र दुर्गम क्षेत्रका पीडितलाई न्यायिक प्रक्रिया तथा आयोगसम्म पुग्न कठिनाइ छ ।
संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सत्यको अधिकार सुनिश्चित गर्नुपर्ने मानवअधिकार रक्षक संजाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकाल बताउँछन् । ‘द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्ने, बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाउने र पीडित परिवारलाई सत्य जान्ने अधिकार सुनिश्चित राज्यले गर्नुपर्छ,’ उनले भने, ‘गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा निष्पक्ष अनुसन्धान, कानुनी कारबाही र न्यायिक प्रक्रिया सुनिश्चित गरी पीडितले न्याय पाउने प्रभावकारी व्यवस्था हुनुपर्ने हो ।’
पीडितको आवश्यकता र अवस्थाका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, जीविकोपार्जन, सामाजिक सुरक्षा, आर्थिक सहायता, मनोसामाजिक परामर्श र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । संक्रमणकालिन न्यायसम्बन्धी आयोगमा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, पीडित तथा साक्षीको सुरक्षा, गोपनीयता, सम्मान र सहज पहुँचको व्यवस्था गर्ने तथा संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संविधान, सर्वोच्च अदालतका आदेश र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुकूल बनाउन ढिला गर्न नहुने ढकालले बताए ।
कर्णालीका द्वन्द्वपीडितको हकमा भौगोलिक विकटता र उनीहरूको सामाजिक तथा आर्थिक अवस्थालाई ध्यानमा राखेर स्थानीय तहमै न्यायमा पहुँच, कानुनी सहायता, स्वास्थ्य उपचार, पुनर्स्थापना र सामाजिक सुरक्षाका कार्यक्रम विस्तार गर्नुपर्ने मानवअधिकारकर्मीहरु बताउँछन् ।
द्वन्द्व पीडित महिलाहरुको राष्ट्रिय सञ्जाल कर्णाली प्रदेशकी संयोजक सितलसिंह राठौरले पटक–पटक सरकार परिवर्तन हुने, आयोग गठन गर्ने तर काम नगर्ने परिपाटीले संक्रमणकालिन न्याय जहाँको त्यही छुटेको बताउँछिन् ।
‘निर्दोष मान्छे मारिए, गोली लागेर अंगभंग भए, महिलाहरु बलात्कृत भए, सम्पत्ति लुटियो,’ उनले भनिन्, ‘न्याय पाउन हामीले २० वर्ष पर्खनु परेको छ । निर्दोषमाथि ज्यादती गर्नेहरु स–सम्मान हिँडिरहेका छन् ।’ संक्रमणकालीन न्याय राज्यको प्रमुख दायित्व भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, संसद्, मानव अधिकार आयोग, राजनीतिक दल, नागरिक समाज र पीडित परिवार सबैको भूमिका आवश्यक रहेको उनले बताइन ।
सरकारले आवश्यक कानुनी, नीतिगत र बजेटीय व्यवस्था गर्नुपर्ने, मानव अधिकार आयोगले घटनाको अनुगमन र पीडितको अधिकार संरक्षणमा भूमिका खेल्नुपर्ने तथा राजनीतिक दलले संक्रमणकालीन न्यायलाई राजनीतिक स्वार्थभन्दा माथि राख्नुपर्ने उनले बताइन । विस्तृत शान्ति सम्झौताको २० वर्ष पूरा हुनु विगतको समीक्षा गर्ने अवसर मात्र नभई शान्ति प्रक्रियाका अपूर्ण कार्यभार पूरा गर्ने महत्वपूर्ण समय हुनुपर्ने हो । तर, द्वन्द्वपीडितलाई न्याय नदिएर शान्ति प्रक्रिया पूर्ण भएको ठम्याई सरकारको छ । जसले सत्य, न्याय, परिपूरण र संस्थागत सुधारमार्फत दिगो शान्तिको सुनिश्चितता माथि प्रश्नै–प्रश्न तेस्रिरहेका छन् ।

शान्ति सम्झौताका दुई दशक जहाँको त्यहिँ संक्रमणकालिन न्याय

सम्पादकीय : राष्ट्रिय खेलकुदको विरासत जोगाउने चुनौती

शान्ति सम्झौताका दुई दशक जहाँको त्यहिँ संक्रमणकालिन न्याय

तारेभिरमा फोहोर फाल्ने र जलाउने कार्य रोक्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!