बर्दिया ,७ मंसिर ।
बाल संरक्षण, मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना अभिवृद्धिका लागि समुदायस्तरमा सक्रिय युवा अभियन्ताहरूले परियोजनाको अवधि समाप्त भएपछि पनि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। युवाहरूको नेतृत्व र सक्रिय सहभागिताबाट मात्रै समाजमा विद्यमान सामाजिक समस्याहरूको न्यूनीकरण गर्दै सुरक्षित र संरक्षणमुखी समुदाय निर्माण गर्न सकिने उनीहरूको निष्कर्ष छ।

बाँके युनेस्को क्लब (बीयूसी) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाअन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा युवा अभियन्ताहरूको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकाससम्बन्धी तीनदिने कार्यशाला सम्पन्न गरेको छ।
कार्यशालाको मुख्य उद्देश्य युवा अभियन्ताहरूले समुदायस्तरमा सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि र योगदानको समीक्षा गर्नुका साथै बाल संरक्षण, मानव बेचबिखन रोकथाम तथा सुरक्षित आप्रवासनसम्बन्धी अभियानलाई दिगो बनाउने रणनीति तयार गर्नु रहेको थियो।
कार्यशालामा युवा अभियन्ताहरूले परियोजनाको अवधिमा समुदायस्तरमा गरेका काम, प्राप्त उपलब्धि, अनुभव तथा सिकाइहरू प्रस्तुत गरेका थिए। त्यसक्रममा अभियान सञ्चालनका क्रममा देखिएका चुनौती, समस्या र सुधार गर्नुपर्ने पक्षबारे समेत समीक्षा गरिएको थियो।

सहभागितामूलक छलफल तथा अभ्यासमार्फत युवा अभियन्ताहरूका सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौती पहिचान गर्न स्वोट (SWOT) विश्लेषण गरिएको थियो। साथै, आगामी दिनमा अभियानलाई प्रभावकारी बनाउने रणनीति, व्यावहारिक कार्ययोजना तथा स्थानीयस्तरमै अपनत्व सिर्जना गरी कार्यक्रमलाई निरन्तरता दिने उपायबारे छलफल गरिएको थियो।
कार्यशालाका क्रममा दुर्गा क्षेत्रीले सुरक्षा परियोजनाका समग्र उद्देश्य तथा उपलब्धिबारे प्रकाश पार्दै युवा अभियन्ताहरूलाई सामाजिक समस्याको सम्बोधनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले समुदायलाई सुरक्षित, संरक्षणमुखी र समावेशी बनाउन युवाहरूको सक्रियता तथा जिम्मेवार पहल आवश्यक रहेको बताउनुभयो।
कार्यशालाको समापन समारोह बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका सहअध्यक्ष निरज गौतम, राजापुर नगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश दहित, वडा नं. ८ का अध्यक्ष राजेश थारू तथा क्लबका वित्त तथा प्रशासन व्यवस्थापक वेदप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै राजापुर नगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश दहितले समुदायमा सामाजिक विषयबारे सचेतना अभिवृद्धि गर्न युवा अभियन्ताहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले मानव बेचबिखन, बालविवाह तथा अन्य सामाजिक विकृति र समस्याको रोकथाममा युवाहरूले सक्रिय नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो। सामुदायिक सहभागिता र सामूहिक जिम्मेवारीबाट मात्रै सकारात्मक तथा दिगो परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो।
त्यसैगरी, वडा नं. ८ का अध्यक्ष राजेश थारूले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले युवा अभियन्ताहरूलाई सचेतनामूलक गतिविधिलाई निरन्तरता दिन, आफ्ना साथी तथा समकक्षीलाई समेत अभियानमा जोड्न र स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग समन्वय गरेर बालबालिकाका लागि सुरक्षित वातावरण निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो।
बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज गौतमले परियोजनाको अवधिभर युवा अभियन्ताहरूले देखाएको सक्रियता, समर्पण र नेतृत्व क्षमताको प्रशंसा गर्नुभयो। परियोजनामार्फत प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै निरन्तर सामुदायिक अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। परियोजना सकिए पनि अभियान नरोकिने गरी स्थानीय सरकार र समुदायसँगको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने उहाँको भनाइ थियो।
क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले सामाजिक उत्तरदायित्व र सामुदायिक नेतृत्वप्रतिको प्रतिबद्धता कायम राख्न युवा अभियन्ताहरूलाई आग्रह गर्नुभयो। समाजमा विद्यमान चुनौतीहरूको समाधानका लागि युवाहरूको नेतृत्वमा सञ्चालन हुने अभियान अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले उपलब्धिलाई दिगो बनाउन सामूहिक प्रयास, प्रभावकारी समन्वय, साझा जिम्मेवारी र स्थानीय अपनत्व आवश्यक रहेको बताउनुभयो।
समापन सत्रमा युवा अभियन्ताहरू सबित्रा सुनार र हेमन्त चौधरीले कार्यशालाबाट प्राप्त सिकाइ, अनुभव, आत्मसमीक्षा तथा आगामी योजनाबारे प्रस्तुति गर्नुभएको थियो। उहाँहरूले समुदायसँगको निरन्तर सम्पर्क, सचेतना अभिवृद्धि र सामाजिक समस्याविरुद्ध सामूहिक अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेषगरी मानव बेचबिखन रोकथाम तथा बाल संरक्षणका सवालमा आफूहरू निरन्तर सक्रिय रहने उहाँहरूको भनाइ थियो।
यसैबीच, परियोजनाअन्तर्गत समुदायमा पुर्याएको योगदान, सक्रिय सहभागिता र समर्पणको कदर गर्दै युवा अभियन्ताहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यशालाको सहजीकरण नमस्कार शाहले गर्नुभएको थियो भने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बी.के.ले प्राविधिक तथा समन्वयात्मक सहयोग गर्नुभएको थियो। कार्यक्रममा क्लबका फिल्ड सुपरभाइजरहरू सबित्रा भाट र प्रमिशा थारूलगायतको सहभागिता रहेको थियो।

तीनदिने कार्यशालाले युवा अभियन्ताहरूलाई विगतका कामको समीक्षा गर्दै आगामी दिनमा थप जिम्मेवार र योजनाबद्ध ढङ्गले अघि बढ्न मार्गनिर्देशन गरेको छ। परियोजनाको अवधि सकिएपछि पनि स्थानीयस्तरमा युवाहरूको नेतृत्व, सामुदायिक सहकार्य र स्थानीय सरकारको समन्वयमार्फत बाल संरक्षण तथा मानव बेचबिखनविरुद्धका अभियानलाई निरन्तरता दिने साझा प्रतिबद्धतासहित कार्यशाला सम्पन्न भएको आयोजकले जनाएको छ।



