सुर्खेत, ८ मंसिर ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला औपचारिक रूपमा प्रदेश सरकारको मातहतमा आएको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म हस्तान्तरण हुन नसकेको रंगशाला सोमबार एक समारोहबीच सरकारलाई हस्तान्तरण गरिएको हो ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार रंगशालाको उद्घाटन गरेका छन् । उद्घाटनसँगै प्रदेशकै गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालाको स्वामित्व तथा सञ्चालन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारमा आएको छ । सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गरिएको रंगशाला कर्णालीमा आयोजना हुन लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य खेलस्थल हो ।
प्रतियोगिताको उद्घाटन समारोहसहित प्रमुख खेल सञ्चालन गर्ने उद्देश्यले आधुनिक सुविधासहित रंगशाला निर्माण गरिएको हो । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल मंसिर ८ गतेदेखि सुरु हुने तालिका छ भने औपचारिक उद्घाटन मंसिर १६ गते कर्णाली प्रदेश रंगशालामा हुँदैछ । प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन गर्ने तयारी छ ।
झण्डै एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको रंगशालामा १० हजार दर्शक अटाउने क्षमता छ । यहाँ फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सल आट्र्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहललगायतका खेल पूर्वाधार निर्माण गरिएका छन् । रंगशालाको निर्माण कार्य २०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेपछि सुरु भएको थियो ।
निर्माणको जिम्मा एमएसी–जीएसएल जेभीले पाएको थियो । सम्झौताअनुसार २०८१ जेठसम्म निर्माण सम्पन्न हुनुपर्ने भए पनि निर्धारित समयभन्दा ढिलो गरी निर्माण प्रक्रिया टुंगिएको हो । निर्माण सम्पन्न भएपछि पनि प्राविधिक प्रतिवेदन, अन्तिम भुक्तानी र हस्तान्तरण प्रक्रियाका कारण रंगशाला प्रदेश सरकारको स्वामित्वमा आउन सकेको थिएन । रंगशाला निर्माणको उद्देश्य १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु मात्रै नभई कर्णालीमा दीर्घकालीन खेल पूर्वाधार विकास गर्नु पनि हो ।
आधुनिक खेल संरचनाको अभाव झेल्दै आएको कर्णालीका लागि यो रंगशाला खेलाडी उत्पादन, प्रशिक्षण र राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनको महत्वपूर्ण केन्द्र बन्न सक्ने अपेक्षा गरिएको छ । यसअघि कर्णालीमा राष्ट्रियस्तरका ठूला प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव थियो । खेलाडीले नियमित प्रशिक्षण र प्रतिस्पर्धाका लागि अन्य प्रदेशका संरचनामा निर्भर हुनुपर्ने अवस्था थियो । प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माण भएको रंगशालाले उक्त अभाव कम गर्ने अपेक्षा गरिएको छ ।
सरकारको मातहतमा आयो कर्णाली प्रदेश रंगशाला


