२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 20°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

अन्ताल्या, ८ मङ्सिर (रासस/एपी) ।
जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ । सम्मेलनको अन्तिम दस्तावेजमा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख गर्ने कि नगर्ने भन्ने विवादले वार्ता टुङ्गोमा पुग्न सकेन ।
वार्षिक जलवायु सम्मेलनले जलवायु परिवर्तनविरुद्ध मुलुकहरूले चाल्नुपर्ने कदम समेटिएको ‘कभर डिसिजन’ नामक साझा दस्तावेज जारी गर्ने प्रयास गरेको थियो । तर, टर्कीले प्रस्तुत गरेको मस्यौदामा जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता नसमेटिएपछि धेरै देशले त्यसप्रति असन्तुष्टि जनाए ।
आयरल्यान्डका जलवायु, ऊर्जा तथा वातावरणमन्त्री डाराग ओ’ब्रायनले युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका तर्फबाट बोल्दै प्रस्तावित दस्तावेजले जलवायु परिवर्तन सामना गर्न आवश्यक कार्य र महत्वाकांक्षा समेट्न नसकेको बताऐ। जीवाश्म इन्धनको उल्लेखबिनाको जलवायुसम्बन्धी निर्णय स्वीकार गर्न नसकिने उनको भनाई थियो ।
पानामाकी प्रमुख जलवायु वार्ताकार एना एगुइलारले विज्ञान र वास्तविकताले माग गरेको कदम चाल्नुको सट्टा पुराना प्रतिबद्धता दोहोर्‍याउने काम भएको टिप्पणी गरे । कार्बन कब्जा तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भर रहेको र यसअघि भएका सहमतिका भाषासमेत कमजोर बनाइएको उनको भनाइ थियो । उहाँले यसलाई जलवायु न्यायको विषयसमेत बताए ।
मार्सल टापुकी जलवायु दूत तथा प्रमुख वार्ताकार क्याथी जेतनिल–किजिनरले विश्वले उत्सर्जन घटाउन, जनताको सुरक्षा गर्न र जलवायु वित्त उपलब्ध गराउन तत्काल कदम चाल्ने अपेक्षा गरेको बताए । जीवाश्म इन्धनको विस्तारलाई प्रोत्साहन गर्ने र गलत समाधान प्रस्तुत गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने उनको भनाई थियो ।
संयुक्त अधिराज्यका प्रमुख जलवायु वार्ताकार केट ह्युजेसले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र कार्यान्वयनको गतिलाई पछाडि धकेल्ने बताए । जलवायु कार्यमा सामूहिक महत्वाकांक्षा बढाउनुपर्ने बेला प्रस्तावले त्यसलाई कमजोर बनाएको उनको टिप्पणी थियो ।
तर, पलाउका वातावरणमन्त्री स्टिभन भिक्टरले प्रस्तावित दस्तावेजमा केही कमजोरी भए पनि स्वच्छ विद्युतीकरण, समुद्री संरक्षण र जलवायु वित्तजस्ता सकारात्मक विषय समेटिएकाले त्यसलाई समर्थन गरेको बताए । कार्बन कब्जासम्बन्धी प्रावधानमा असहमति भए पनि अन्य विषयलाई बेवास्ता गर्न नहुने उनको भनाई थियो । साझा कभर डिसिजन पारित नभए पनि अन्य कार्ययोजना स्वीकृत भएकाले सम्मेलनलाई पूर्ण असफलता भन्न नमिल्ने उनले उल्लेख गरे ।
कोप–३१ वार्ताका अध्यक्ष तथा अस्ट्रेलियाका जलवायु तथा ऊर्जा मन्त्री क्रिस बोवेनले साझा दस्तावेजमा सहमति हुन नसकेकोप्रति निराशा व्यक्त गरे । केही मुलुकका जीवाश्म इन्धनसम्बन्धी अडान निकै कडा रहेकाले सहमति जुटाउन कठिन भएको उनले बताए । यद्यपि, वास्तविक विश्वमा जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको परिवर्तन अपरिहार्य रहेको र त्यो प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो ।

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित
अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ । सन् २०१८ को मध्यावधि निर्वाचनमा प्राप्त ४० सिटको उपलब्धिलाई उछिन्दै यसपटक डेमोक्रेटले अहिलेसम्म ४४ सिट जितेका हुन् ।
उत्तरी क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार चक हबार्डले रिपब्लिकन प्रतिनिधि भर्जिनिया फक्सलाई ३३० मतले पराजित गरेपछि पार्टीको सिट संख्या २५८ पुगेको हो । सीबीएस न्युजका अनुसार ४३५ सदस्यीय प्रतिनिधिसभामा डेमोक्रेटले पाएको यो बहुमत पार्टीको अपेक्षाभन्दा बढी हो । अझै चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेकाले थप सिट जित्ने सम्भावना छ । रिपब्लिकनले भने कम्तीमा १७३ सिट पाउने निश्चित भएको छ ।
सभामुख बन्ने तयारीमा रहनुभएका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले यस शताब्दीमा अमेरिकी काँग्र्रेसमा कुनै पनि पार्टीले हासिल गरेको यो सबैभन्दा ठूलो बहुमत भएको बताएका छन् । निर्वाचन परिणामले अमेरिकामा विभाजित सरकारको अवस्था सिर्जना गरेको छ ।
डेमोक्रेटले सिनेटमा नियन्त्रण कायम राखेका छन् भने रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा छन् । डेमोक्रेटले बढ्दो जीवनयापन खर्च सम्बोधन गर्ने १०० दिने कार्यसूची बनाउनुका साथै ट्रम्प प्रशासनमाथि व्यापक निगरानी गर्ने तयारी गरेको सीबीएस न्युजले जनाएको छ ।

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

चार दशकको सास्तीपछि फत्तेपुरमा फेरिँदै विकासको चित्र,

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

सम्पादकीय : राष्ट्रिय खेलकुदको विरासत जोगाउने चुनौती

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!