२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीको दबदबा, पौडीमा चार स्वर्ण:टेनिसमा प्रदीप र प्रणवको विजयी सुरुआत, फुटबलमा पुलिस र मधेश विजयी, महिला क्रिकेटमा एपीएफ र आर्मीको शानदार प्रदर्शन

सुर्खेत ,८ मंसिर ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलका प्रतिस्पर्धा जारी रहँदा पौडीमा बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गरेको छ। प्रतियोगिताको पहिलो दिन मंगलबार बागमतीले चार स्वर्णसहित नौ पदक जितेको छ। यस्तै टेनिसमा गण्डकीका प्रदीप खड्का र नेपाल आर्मीका प्रणव खनालले विजयी सुरुआत गर्दा पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मधेश प्रदेश विजयी भएका छन्। महिला क्रिकेटमा विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले पनि सुखद सुरुआत गरेका छन्।

पौडीको पहिलो दिन विभिन्न ११ पदकका लागि प्रतिस्पर्धा भएकोमा बागमतीले चार स्वर्ण, दुई रजत र तीन कास्य जितेको हो। एनआरएनएले तीन स्वर्ण र एक कास्य, आर्मीले दुई स्वर्ण, पाँच रजत र एक कास्य तथा नेपाल पुलिसले एक स्वर्ण, दुई रजत र छ कास्य पदक प्राप्त गरेका छन्। कोशीले एक स्वर्ण र सुदूरपश्चिमले दुई रजत पदक जितेका छन्।

टेनिसमा प्रदीप र प्रणवको विजयी सुरुआत

टेनिसको पुरुष सिंगल्समा गण्डकीका प्रदीप खड्का र नेपाल आर्मीका प्रणव खनालले विजयी सुरुआत गरेका छन्। बर्दियाको गुलरियामा भएको खेलमा प्रणवले नेपाल पुलिसका निहालजंग थापालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गरे। प्रदीपले लुम्बिनीका मघेन्द्र गिरीलाई ६–० र ६–२ को सोझो सेटमा हराए।

अन्य खेलमा गण्डकीका करणबहादुर थापाले पुलिसका दर्शिल श्रेष्ठलाई ६–३ र ७–५, बागमतीका निसान श्रेष्ठले एपीएफका सक्षमविक्रम शाहलाई ६–३ र ६–१ तथा एनआरएनएका रेन्जेन लामाले सुदूरपश्चिमका रमेशसिंह दंगालाई ६–० र ६–० ले पराजित गरे।

त्यस्तै बागमतीका प्रितम परियारले एपीएफका देवासिश रेउलेलाई ६–० र ६–३, एनआरएनएका असभसम्राट हाडाले लुम्बिनीका विवेक कुँवरलाई ६–० र ६–० तथा आर्मीका राजवीर प्रधानले सुदूरपश्चिमका माधवसिंह विष्टलाई ६–० र ६–० को सेटमा हराए।

प्रतियोगितामा लुम्बिनी, गण्डकी, बागमती, सुदूरपश्चिम, एनआरएनए, पुलिस, आर्मी र एपीएफका गरी ३४ पुरुष र १३ महिला खेलाडी सहभागी छन्। मंसिर १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा भइरहेको छ।

पुरुष फुटबलमा पुलिस र मधेश विजयी

पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मधेश प्रदेशले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्‍यो।

पुलिसका लागि धीरेन्द्र शाहले खेलको ३६औँ मिनेटमा पहिलो गोल गरे भने सुजन मगरले ४६औँ मिनेटमा दोस्रो गोल थपे। दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।

दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १–० गोलले हरायो। मधेशका विकास दर्लामीले खेलको ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

बुधबार हुने खेलमा पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश तथा दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

महिला क्रिकेटमा एपीएफ र आर्मीको प्रभावशाली जित

महिला क्रिकेटमा विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन्। राष्ट्रिय खेलाडीको बाहुल्यता रहेका दुवै टोलीले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका हुन्।

समूह ‘बी’ मा रहेको एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १९७ रन बनाएको थियो। जवाफमा लुम्बिनी १५ दशमलव चार ओभरमा ३९ रनमै समेटियो।

एपीएफका लागि कप्तान सीता रानामगरले ४२ बलमा एक छक्का र नौ चौकासहित ६६ रन बनाइन्। इन्दु वर्माले २७ बलमा १२ चौकासहित अविजित ५८ र रेवती धामीले अविजित ५५ रनको योगदान गरिन्।

बलिङतर्फ एपीएफकी करुणा भण्डारीले तीन तथा बिनु बुढा र राजमती ऐरीले समान दुई विकेट लिइन्। लुम्बिनीका श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाइन्।

यस्तै समूह ‘ए’ मा रहेको आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो। कोशीले दिएको ६६ रनको लक्ष्य आर्मीले १३ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

आर्मीका बिन्दु रावलले २१, रुबी पोदारले १८ र कविता कुँवरले अविजित १२ रन बनाइन्। कोशीकी रुबिना क्षेत्रीले तीन विकेट लिए पनि टोलीको हार टार्न सकिनन्।

यसअघि पहिले ब्याटिङ गरेको कोशी १८ दशमलव पाँच ओभरमा ६५ रनमा समेटिएको थियो। कोशीका रुबिना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन्। आर्मीकी यमुना थारूले चार ओभरमा दुई मेडन राख्दै छ रन खर्चेर चार विकेट लिइन्।

महिला क्रिकेटमा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार बिहान साढे ९ बजे बागमती र सुदूरपश्चिम तथा दिउँसो कर्णाली र कोशी प्रदेशबीच खेल हुनेछ।

महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी

महिला बास्केटबलतर्फ पहिलो दिन फुल कोर्ट र थ्री बाइ थ्री विधामा समान दुई–दुई खेल सम्पन्न भएका छन्।

सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको फुल कोर्टतर्फको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरले पराजित गर्‍यो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ ले हरायो।

थ्री बाइ थ्रीतर्फ त्रिभुवन आर्मीले एपीएफलाई १७–१२ तथा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ ले पराजित गर्दै विजयी सुरुआत गरेका छन्।

राराहिल सेमिफाइनलमा प्रवेश

१२औँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ राराहिल सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा भएको खेलमा राराहिलले स्वर्णिमलाई १७–१५ ले पराजित गरेको हो। राराहिलकी सन्ध्या माझीले सर्वाधिक आठ अंक जोडिन्।

सिनियर ब्वाइजतर्फ ज्ञानोदय बाल वाटिका, बाल दीक्षा सदन, पुष्पसदन, निसर्ग वाटिका र स्वर्णिमले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

ज्ञानोदयले मोक्षदालाई ४४–१४, बाल दीक्षा सदनले केभीएस रानीवनलाई ४२–३३, पुष्पसदनले केभीसीलाई ६४–४९, निसर्ग वाटिकाले होली भिजनलाई ५४–४४ र स्वर्णिमले राइजिङ स्टारलाई ४८–१६ ले पराजित गरे।

यसअघि नै ग्रिनफिल्ड, एलआरआई र रेडियन्ट पब्लिक क्वार्टरफाइनलमा पुगिसकेका छन्। अब क्वार्टरफाइनलमा ग्रिनफिल्ड र निसर्ग वाटिका, एलआरआई र पुष्पसदन, रेडियन्ट पब्लिक र ज्ञानोदय तथा स्वर्णिम र बाल दीक्षा सदनबीच प्रतिस्पर्धा हुनेछ।

टीआईए कपमा आयोजकको मिश्रित नतिजा

१८औँ टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आयोजक टीआईएले मंगलबार मिश्रित नतिजा निकालेको छ। टीआईए ‘बी’ ले जित निकाल्दा टीआईए ‘ए’ भने पराजित भयो।

टीआईए ‘बी’ ले निम्सलाई ३२–२० ले पराजित गर्दा आयुश तामाङले १६ अंक जोडे। काठमाडौं जेभियर्सले अनमोल माझीको २१ अंकको सहयोगमा टीआईए ‘ए’ लाई ४१–२१ ले हरायो।

अन्य खेलमा ज्ञान निकेतनले स्किब्सलाई २९–२७, मार्वलसले रिलायन्स को–एडलाई ३१–२२ र एलआरआईले क्याम्पियनलाई ३०–१८ ले पराजित गरे।

सिनियर गल्र्सतर्फ बौद्ध चिल्ड्रेन हेभनले टीआईएलाई २६–८, भ्याली पब्लिकले इम्पेरियल वर्ल्डलाई ५३–८, चेल्सी वर्ल्ड स्कुलले एलआरआईलाई १७–१० र निम्सले जोन डेवीलाई २०–६ ले पराजित गरेका छन्।

भ्याली पब्लिक कपमा आयोजक विजयी

२०औँ भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आयोजक भ्याली पब्लिक ‘ए’ ले विजयी सुरुआत गरेको छ।

भंगालस्थित घरेलु कोर्टमा भएको खेलमा भ्याली पब्लिक ‘ए’ ले एन्जल्स हार्टलाई ४१–३६ ले पराजित गर्‍यो। विजयी टोलीका आर्यान गुरुङले २१ अंक जोडे।

सिनियर ब्वाइजकै अन्य खेलमा जेबी स्कुलले रेडियन्टलाई ३४–३२ र इडेन ब्रिज एकेडेमीलाई २६–२२, न्युटनले बाल वाटिकालाई ४८–४०, गोल्डेनपिकले सेबलाई ५५–५०, डाफोडिलले इबीएलाई ५१–२१, रिलायन्सले स्किब्सलाई ४५–३९, पारामाउन्ट एकेडेमीले टीआईएलाई ३५–२६ र फेरिल्यान्डले वेदव्यासलाई ५०–४६ ले पराजित गरे।

जुनियर ब्वाइजतर्फ एन्जल्स हार्ट, स्कोलर्स होम, फेरिल्यान्ड, न्युटन, गण्डकी र एसिया प्यासिफिक विजयी भए।

सिनियर गल्र्सतर्फ जेबीले न्युटनलाई २१–१९, फेरिल्यान्डले सेबलाई १९–१०, बाल वाटिकाले क्यान्भास बसन्त ऋतुलाई ८–६, ज्ञान संस्कारले रिलायन्सलाई १७–११, इबीएले ह्वाइटफिल्डलाई ६–४ र डाफोडिलले भ्याली पब्लिक ‘बी’ लाई २५–१० ले पराजित गरेका छन्।

दसौँ राष्ट्रिय खेलकुदसहित विभिन्न विद्यालयस्तरीय प्रतियोगितामा खेलाडीहरूले देखाएको प्रतिस्पर्धात्मक प्रदर्शनले नेपाली खेलकुदमा नयाँ प्रतिभाको सम्भावना उजागर गरेको छ। विभिन्न विधामा भएका खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाउँदै लगेका छन्।

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीको दबदबा, पौडीमा चार स्वर्ण:टेनिसमा प्रदीप र प्रणवको विजयी सुरुआत, फुटबलमा पुलिस र मधेश विजयी, महिला क्रिकेटमा एपीएफ र आर्मीको शानदार प्रदर्शन

मिडिया सेन्टरको उद्घाटन

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीको दबदबा, पौडीमा चार स्वर्ण:टेनिसमा प्रदीप र प्रणवको विजयी सुरुआत, फुटबलमा पुलिस र मधेश विजयी, महिला क्रिकेटमा एपीएफ र आर्मीको शानदार प्रदर्शन

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीको दबदबा, पौडीमा चार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!