२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 20°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

पूर्णिमा मेलामा दुई समूहबीच झडप, प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

बाँके  ,८ मंसिर ।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा मेलाका क्रममा दुई समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ। झडपका क्रममा स्थानीय एक व्यक्ति र प्रहरी नायब निरीक्षकसहित चार जना प्रहरी घाइते भएका छन्।

मङ्गलबार बिहान करिब ४ बजे मेलामा सहभागी दुई समूहबीच कुटपिट र ढुङ्गामुढा भएपछि तनावको स्थिति सिर्जना भएको थियो। घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीमाथि समेत ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापामाथि कुटपिट गरेपछि विवाद सुरु भएको थियो। सोही घटनालाई लिएर दुई समूहबीच झडप भएको उहाँले जानकारी दिनुभयो।

झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमणको प्रयास भएपछि थप अप्रिय घटना हुन नदिन आठ राउन्ड हवाई फायर गरिएको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो।

घटनामा कुटपिटबाट स्थानीय थापा घाइते हुनुभएको छ भने प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीसहित चार जना प्रहरीसमेत घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोज सुनारलाई पक्राउ गरेको छ। झडपमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

मेलाजस्ता सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा हुने यस्ता झडपले सहभागीको सुरक्षा र शान्ति सुरक्षामाथि चुनौती थप्ने गरेको छ। घटनापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पूर्णिमा मेलामा दुई समूहबीच झडप, प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

अपी हिमालः जहाँ प्रकृति बोल्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!