सुर्खेत, ९ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ स्थित श्रीकृष्ण सामुदायिक वनको तारेभिरमा भइरहेको फोहोर विसर्जन र जलाउने कार्य रोक्न माग गर्दै दायर रिटमा उच्च अदालत सुर्खेतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश सुदर्शन देव भट्टको एकल इजलासले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
अदालतले मागबमोजिम तत्काल अन्तरिम आदेश भने जारी गरेको छैन । अधिवक्ता शेरबहादुर खत्रीले दायर गरेको परमादेशसम्बन्धी रिटमा सुनुवाइ गर्दै अदालतले निवेदनमा उठाइएका विषयमा विपक्षीहरूको जवाफ माग गरेको हो । अदालतको आदेशअनुसार नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृषि, वन तथा वातावरण मन्त्रालयसहितका विपक्षीले लिखित जवाफ दिनुपर्नेछ ।
आदेशमा विपक्षी नं. १, २ र ८ ले उच्च सरकारी वकिल कार्यालय, सुर्खेतमार्फत तथा विपक्षी नं. ३, ४, ५ र ६ ले मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेश, सुर्खेतमार्फत लिखित जवाफ पेस गर्नुपर्ने उल्लेख छ । त्यसैगरी विपक्षी नं. ७ वीरेन्द्रनगर नगरपालिकाले आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत जवाफ पेस गर्नुपर्नेछ ।
अदालतले म्याद सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा म्याद अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नसमेत आदेशमा भनिएको छ । अधिवक्ता खत्रीले तारेभिरमा अव्यवस्थित रूपमा फोहोर थुपार्ने र आगो लगाएर जलाउने कार्यले वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पारेको दाबीसहित रिट दायर गरेका थिए ।
उनले फोहोर जलाउँदा निस्कने विषाक्त धुवाँ र दुर्गन्धले आसपासका बस्ती तथा वीरेन्द्रनगर उपत्यकाको वातावरणमा असर परेको उल्लेख गर्दै त्यसलाई तत्काल रोक्न माग गरेका छन् । रिटमा तारेभिरमा थुपारिएको फोहोरको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभावको अध्ययन तथा परीक्षण, प्रभावित क्षेत्रको पुनर्स्थापना र दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थानमा आधुनिक ल्याण्डफिल साइट तथा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न परमादेश जारी गर्न माग गरिएको छ ।
त्यसैगरी, फोहोर व्यवस्थापनका लागि विनियोजन गरिएको बजेट, खर्च विवरण, ल्याण्डफिल साइट निर्माणको प्रगति र वातावरणीय अध्ययन प्रतिवेदन सार्वजनिक गर्न तथा तारेभिर आसपासका नागरिकको स्वास्थ्य परीक्षण र आवश्यक उपचारको व्यवस्था गर्न पनि निवेदनमा माग गरिएको छ । रिट निवेदनसँगै माग गरिएको अन्तरिम आदेशका सम्बन्धमा अदालतले तत्काल आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको छ ।
आदेशमा निवेदकले अन्तरिम आदेश माग गरेको विषय प्रस्तुत रिट निवेदनमा अन्तिम आदेश हुँदा सम्बोधन गर्न सकिने भएकाले मागबमोजिम हाल अन्तरिम आदेश जारी गरिरहनु नपर्ने उल्लेख छ । यससँगै अदालतले तत्काल फोहोर विसर्जन र जलाउने कार्य रोक्न अन्तरिम आदेश जारी नगरी विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि नियमानुसार प्रक्रिया अघि बढाउने बाटो खुला गरेको छ ।


