ओम शाही
सुर्खेत, ९ मंसिर ।
कर्णाली प्रदेशमा आयोजना भएको खेलकुदको सर्वोच्च प्रतियोगिता १० औँ राष्ट्रिय खेलकुद अन्ततः सुभारम्भ भएको छ । दुई वर्ष अगावै सम्पन्न भइसक्नुपर्ने प्रतियोगिता खेल पूर्वाधार अभाव र संघीय सरकारको उपेक्षाका कारण अन्यौलमा पर्दै आएको थियो । कर्णालीमा पहिलोपटक हुन लागेको प्रतियोगिता दुई वर्षअघि अर्थात् २०८१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो ।
कर्णालीले ३ कात्तिक २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १० औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो । त्यसपछि पहिलो पटक २ देखि ९ मंसिर २०८१ सम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको थियो । तर, प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण उक्त मितिमा प्रतियोगिता हुन सकेन ।
त्यसपछि २३ देखि ३० चैत २०८१ सम्म दोस्रोपटक र ३ देखि १० जेठ २०८२ सम्म तेस्रोपटक मिति तोकियो । ती दुवै मितिमा पनि प्रतियोगिता हुन सकेन । त्यसपछि चौथोपटक २०८२ फागुनमा प्रतियोगिता आयोजना गर्ने गरी मिति तोकिए पनि प्रतियोगिता सम्पन्न हुन नसकेको इतिहास छ । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना भएको प्रतियोगिताका खेल मंगलबारबाट सुरु भएसँगै लामो समयदेखिको अन्यौलता हटेको छ ।
१६ मंसिरमा एक भव्य कार्यक्रमका बीच औपचारिक समुद्घाटन भई २७ मंसिरमा समापन हुने प्रतियोगितामा समावेश १० खेल मंगलबारबाट सुरु भएका छन् । १० औँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले एक अर्ब ५९ करोड खर्चेर तयार पारेको प्रादेशिक रंगशालामा खेलका गतिविधि सुरु भएसँगै वीरेन्द्रनगरमा खेलाडी, प्रशिक्षक तथा आगन्तुक पाहुनाहरुले भरिन थालेको छ । अन्य प्रदेश तथा जिल्लाबाट आएका आगन्तुकहरुका कारण वीरेन्द्रनगरमा चहलपहलसमेत बढेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार प्रतियोगिताको उद्घाटन अगावै पुरुष फुटबल, महिला र पुरुष क्रिकेट, कराते, जिम्न्याष्टिक, बक्सिङ, महिला बास्केट बल, टेनिस, शारीरिक सुगठन, पौडीका प्रतिस्पर्धा सम्पन्न हुनेछन् । यी खेलहरु कर्णालीका ६ र लुम्बिनीका दुई जिल्लामा खेलाइने छ । राखेपको खेल तालिका अनुसार बुधबार विभिन्न आठ विधाका खेल खलाउने तयारी छ । प्रतियोगितामा कुल ३२ खेल समावेश छन् भने, सुर्खेत प्रतियोगिताको मुख्य केन्द्र हुनेछ । कुल खेलमध्ये सुर्खेतमा मात्रै २३ खेलका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी छन् । प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक, अफिसियल तथा पाहुनाको आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । आवास व्यवस्थापन समितिका संयोजकसमेत रहेका उपाध्यक्ष हमालका अनुसार प्रतियोगिताका लागि पाँच हजार नौ सय बेड सुनिश्चित गरिएको छ । खेल तालिका र सहभागी खेलाडीको संख्याका आधारमा ८ देखि १५ मंसिरसम्म करिब तीन हजार दुई खेलाडी कर्णाली आइपुग्ने अनुमान गरिएको छ ।
महिला क्रिकेटमा विभागीय टिमको बर्चश्व
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएका महिला क्रिकेटमा दुई विभागीय टोली सशत्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबले विजयी सुरूवात गरेका छन् । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको दुवै टोलीले पहिलो खेलमै शानदार प्रर्दशन गरेका छन् ।
एपीएफले लुम्बिनी प्रदेशलाई एक सय ५८ रनको फराकिलो अन्तरले पराजित गर्यो । एक सय ९८ रनको विशाल लक्ष्य पाएको लुम्बिनी १५ ओभर चार बलमा ३९ रनमै समेटिन पुग्यो । लुम्बिनीका श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन । लुम्बिनीविरुद्ध एपीएफका करूणा भन्डारीले तीन, बिनु बुढा र राजमती ऐरीले समान दुई/दुई विकेट लिए ।
सुरुमा ब्याटिङ रोजेको एपीएफले तीन खेलाडीको अर्धशतकिय पारिमा निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ९७ रनको योगफल तयार पारेको थियो । यस्तै, समूह (ए) मा रहेको विभागीय टोली आर्मी क्लवले कोशी प्रदेशलाई ६ विकेटले हराउँदै सानदार सुरूवात गर्यो । कोशीले दिएको ६६ रनको सामान्य लक्ष्य आर्मीले १३ दशमल एक ओभरमा मात्र चार विकेट गुमाएर पूरा गर्यो ।

आर्मीका लागि बिन्दु रावलले २१ र रूबि पोदारले १८ रन बनाए । यस्तै, कविता कुँवर १२ रनमा अविजित रहिन । कोशीका रूबिना क्षेत्रीले चार ओभरमा १२ रन मात्र दिएर तीन विकेट लिएपनि हार टार्न सकेनन् । महिला क्रिकेटमा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार (९ मंसिर) पनि दुई वटा खेल हुनेछ । बिहान साढे ९ बजे हुने खेलमा बाग्मती र सुदुरपश्चिम प्रदेश भिड्ने छन् । यस्तै, दिउँसो हुने खेलमा कर्णाली र कोशी प्रदेश भिड्ने छन् ।
फुटबलमा पुलिस र मधेसको विजयी सुरुवात
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । मंगलबार कर्णाली रङ्गशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको नेपाल पुलिसले पहिलो हाफमै दुई गोल गर्दै खेलमा आफ्नो पकड बलियो बनायो ।
पुलिसका लागि धिरेन्द्र शाहले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि थप आक्रामक बनेको पुलिसका सुजन मगरले खेलको ४६औँ मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता २–० मा पुर्याए । पहिलो हाफमा देखिएको पुलिसको उत्कृष्ट तालमेल, आक्रामक खेलशैली र गोल गर्ने क्षमताले कर्णालीलाई दबाबमा राखेको थियो ।
दोस्रो हाफमा भने कर्णाली प्रदेशले खेलमा फर्किने प्रयास गर्दै आक्रमणलाई तीव्रता दिएको थियो । दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि ती अवसरलाई गोलमा परिणत गर्न सकेनन् । दोस्रो हाफमा कर्णालीले सुधारिएको प्रदर्शन गरे पनि पहिलो हाफमा व्यहोरेको दुई गोलको अन्तर घटाउन नसक्दा घरेलु मैदानमै पराजय बेहोर्नुपर्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल पुलिस क्लबका एक र कर्णाली प्रदेशका दुई खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका थिए । यस जितसँगै नेपाल पुलिस क्लबले पुरुष फुटबलमा तीन अंक जोड्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको छ ।
त्यस्तै, पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेशले विजयी यात्रा सुरु गरेको छ । सुदूरपश्चिमलाई ०–१ गोलले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो । पहिलो हापमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो । मधेस प्रदेशका लागि विकाश दर्लामीले खेलको ५६ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेल ढिलो गरी सुरु भएका कारण निर्धारितभन्दा समय घटाइएको थियो । मधेश र सुदूरपश्चिमको खेल ३५–३५ मिनेटमा झारिएको थियो । दोस्रो दिन बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लव र लुम्बिनी प्रदेशबीच हुनेछ भने, दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।
महिला बास्केट बलतर्फ चार खेल सम्पन्न
महिला बास्केटबलतर्फ चार वटा खेल सम्पन्न भएका छन् । पहिलो दिन मंगलबार भएका प्रतियोगितामा एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् । फुल–कोर्ट (५–५) महिला बास्केटबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरमा पराजित गरेको छ ।
त्यस्तै, पहिलो चरणको फुल–कोर्ट (५–५) महिला बास्केटबलतर्फ सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको छ । उक्त खेलमा सुदुरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को अन्तरले पराजित गरेको छ । यस्तै, मंगलवार नै भएको थ्री–अन–थ्री विधाको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको छ । सो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७–१२ को अन्तरले पराजित गरेको छ । थ्री–अन–थ्री विधाको अर्को खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ को अन्तरले पराजित गरेको छ ।


