ढाका, ९ मङ्सिर (रासस/एएनआई) ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्नुभएको छ । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।
विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत गएका थिए । उनीमाथी प्रदर्शनका क्रममा सयौँ मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अदालतको फैसलालाई अस्वीकार गर्दै उनले स्वदेश फर्किएपछि कानूनी लडाइँ लड्ने बताउँदै आएका छन् ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई दोषी ठहर गरिएको र उहाँको सुपुर्दगीका लागि सरकारले भारतसँग माग गरिसकेको बताएको छ । सरकारले आफ्नो अडान परिवर्तन नगर्ने उनको भनाइ छ ।
हसिनाले मङ्गलबार डिसेम्बर १६ मा स्वदेश फर्किने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरिएको छ । उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशी विमानबाट भारत जाएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताइएको छ ।
डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ । हसिनाका सहयोगी अबु ओबैदा अरिनले उनले आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहाँसिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कन चाहेको बताउनुभएको छ । उनले हसिनाको पुनरागमनपछि देश शान्ति, स्थिरता र समृद्धितर्फ अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
यस महिनाको सुरुमा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि मूल्यमा डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने बताएका थिए । हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने समयसीमा गुमाइसकेको र सजाय रोक्ने कानूनी आधार नरहेको एक अभियोजकले यसअघि बताएका थिए । बङ्गलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने व्यवस्था भए पनि हसिनाले त्यस्तो आग्रह गरेका छैनन । उनले अदालतको फैसलालाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएका छन् ।
हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा रहेको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएको थियो र फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन दिएको थिएन । त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो ।
सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात–ए–इस्लामी पार्टी भने फेब्रुअरीको निर्वाचनमा पुनः राजनीतिमा फर्किएको थियो । अहिले उक्त पार्टी बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ । हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो ।
हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए । सन् १९७५ मा सैन्य ‘कू’ का क्रममा उनी र परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यसबेला देशबाहिर रहेका हसिना र उनकी कान्छी बहिनी भने बाँचेका थिए ।
हसिनाको स्वदेश फिर्ती अस्वीकार
बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ ।
हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए । तर, विदेश राज्यमन्त्री हुमायूँ कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै उनी सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताएका छन् ।
कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारसँग कुरा गर्दै कबिरले बङ्गलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको उल्लेख गरे । उनले इच्छा र वास्तविकता फरक हुने भन्दै हसिना फर्किए हत्कडी लगाइने चेतावनी दिए ।
हसिनाले डिसेम्बर १६ मा फर्कने घोषणा गरेपछि सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) ले भारतसँगको सीमामा गस्ती बढाएको छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि भारत गएकी हसिना त्यसयता त्यहीँ रहँदै आएका छन् । उनको स्वदेश फर्कने घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव बढाएको छ भने सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैबीच, सरकारले बदलिँदो राजनीतिक अवस्थाबारे विपक्षीसहित विभिन्न दलसँग छलफल गरेको छ । राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे बैठक भएको जनाइएको छ ।
सरकारले विदेशी कूटनीतिज्ञहरूलाई हसिनाको अवामी लिग पार्टीले आतङ्कवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै त्यसका सदस्यहरू फर्किए कानूनी कारबाही गरिने जानकारी दिएको छ । डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बङ्गलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा यो दिवस मनाइन्छ ।


