२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई तीव्रता दिन दुई प्रदेश सरकारबीच छलफल

सुर्खेत ,८ मंसिर ।

लुम्बिनी र कर्णाली प्रदेश सरकारले सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई छिटो अघि बढाएर सम्पन्न गर्ने विषयमा छलफल गरेका छन्।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्री र कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाको नेतृत्वमा आएको टोलीबीच आज मन्त्रालयमा भएको भेटवार्तामा सडक निर्माणलाई गति दिने विषयमा छलफल भएको हो।

भेटका क्रममा लामो समयदेखि चर्चामा रहेको सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माणमा देखिएका अवरोध हटाउँदै निर्माण कार्य छिटो सुरु गर्ने र समयमै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्रीले बर्दियातर्फबाट समेत उक्त सडक निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहाँले सडक निर्माणका लागि वन क्षेत्रसँग सम्बन्धित सहमतिको प्रक्रिया छिटो टुङ्ग्याउन दुवै प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो।

उहाँले सडक निर्माणमा देखिएका कानुनी तथा प्रक्रियागत जटिलता समाधान गर्दै आयोजना कार्यान्वयनलाई अघि बढाउन दुवै प्रदेशबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

छलफलका क्रममा कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले सडक आयोजनाको हालसम्मको प्रगति, निर्माण कार्यमा देखिएका समस्या तथा काम अघि बढाउन आइपरेका कठिनाइबारे जानकारी गराउनुभएको थियो।

सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माण सम्पन्न भए कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको बर्दियाबीचको सडक सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ। यसले दुई प्रदेशबीचको आवागमन छोट्याउनुका साथै स्थानीय बासिन्दाको यात्रा, व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

विशेषगरी कर्णालीका बासिन्दालाई लुम्बिनी प्रदेशको तराई क्षेत्रसँग जोड्न महत्त्वपूर्ण मानिएको यस सडकको निर्माणले अन्तरप्रदेशीय यातायात तथा आर्थिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। त्यसैले वन क्षेत्रको सहमति र अन्य प्रक्रियागत अवरोध हटाएर आयोजना निर्माणलाई अघि बढाउनु दुवै प्रदेशका लागि महत्त्वपूर्ण बनेको छ।

सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई तीव्रता दिन दुई प्रदेश सरकारबीच छलफल

पूर्णिमा मेलामा दुई समूहबीच झडप, प्रहरीद्वारा आठ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!