२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

सम्पादकीय : न्यायको प्रतिक्षामा बितेको दुई दशक

नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको दुई दशक पुग्न लाग्दा पनि हजारौँ द्वन्द्वपीडितका घाउ निको भएका छैनन् । आफन्त गुमाएका परिवार अझै न्यायको प्रतीक्षामा छन् । बेपत्ता पारिएका व्यक्तिका परिवार आफ्ना प्रियजन फर्किने आशामा छन् । द्वन्द्वका क्रममा घाइते तथा अपाङ्गता भएका नागरिक उपचार, पुनर्स्थापना र जीविकोपार्जनको समस्यासँग जुधिरहेका छन् । तर, राज्यको प्राथमिकतामा उनीहरूको पीडा परेको देखिँदैन । शान्ति प्रक्रियाका राजनीतिक उपलब्धिको चर्चा भइरहँदा पीडितका न्यायसम्बन्धी आधारभूत प्रश्न भने अनुत्तरित छन् । सुर्खेतकी शान्ति ढकालले श्रीमान् गुमाएको २८ वर्ष बितिसक्यो । तत्कालीन राज्य पक्षबाट मारिएका उनका श्रीमान् निजामती कर्मचारी थिए । उनले श्रीमान्‌को शवसमेत देख्न पाइनन् । मृत्युको आधिकारिक प्रमाण नहुँदा आज पनि उनको मनमा श्रीमान् फर्किने झिनो आशा बाँकी छ । त्यसैगरी, छोराको हत्या, आफू र परिवारमाथि भएको ज्यादतीको न्याय खोजिरहेका पूर्णप्रसाद पौडेल र सेनाबाट अपहरणपछि बेपत्ता पारिएकी दिदीको अवस्था पत्ता लगाउन संघर्षरत ऋषि वलीका पीडा पनि उस्तै छन् । यी प्रतिनिधि पात्र मात्रै हुन् । द्वन्द्वका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित बनेका हजारौँ नागरिकको न्यायको लडाइँ अझै जारी छ ।

२०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर्ने, बेपत्ताको अवस्था पत्ता लगाउने, पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने र दोषीलाई जवाफदेही बनाउने प्रतिबद्धता गरेको थियो । तर, सम्झौताका दुई दशक बितिसक्दा पनि ती प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भएका छैनन् । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन तथा कानुनी सुधारका प्रयास भए पनि पीडितले अनुभूति गर्ने गरी परिणाम आउन सकेको छैन । इन्सेकको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा द्वन्द्वका क्रममा दुई हजार सात सय पाँच जनाको हत्या, ९९ जना बेपत्ता र चार सय ३२ जना अपाङ्गता भएका छन् । तीन हजार दुई सय ३६ नागरिक प्रभावित भएको यो तथ्याङ्कले कर्णालीमा द्वन्द्वको गहिरो मानवीय क्षति देखाउँछ । प्रत्येक संख्याभित्र एउटा परिवारको विछोड, अभाव र अधुरो न्यायको कथा छ । संक्रमणकालीन न्याय राजनीतिक दलबीचको सहमति वा सत्ता समीकरणको विषय होइन । यो राज्यको संवैधानिक दायित्व र पीडितको मौलिक अधिकारसँग जोडिएको विषय हो ।

त्यसैले आयोग गठन गर्ने र म्याद थप्ने औपचारिकताबाट अब सरकार मुक्त हुनुपर्छ । निष्पक्ष छानबिन, सत्यको सार्वजनिक उद्घाटन, बेपत्ताको अवस्था पहिचान, गम्भीर मानव अधिकार उल्लङ्घनमा कानुनी जवाफदेहिता र पीडितको आवश्यकताअनुसार परिपूरण सुनिश्चित गरिनुपर्छ । पीडितको अर्थपूर्ण सहभागिता र साक्षीको सुरक्षा पनि उत्तिकै आवश्यक छ । विशेषगरी कर्णालीको भौगोलिक विकटतालाई ध्यानमा राखेर दुर्गम बस्तीमै कानुनी सहायता, उपचार, मनोसामाजिक परामर्श, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था विस्तार गर्नुपर्छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र बेपत्ता परिवारका फरक आवश्यकता सम्बोधन गर्न राज्य संवेदनशील हुनुपर्छ । शान्ति सम्झौता राजनीतिक संक्रमण अन्त्य गर्ने दस्तावेज मात्र होइन, पीडितलाई न्याय दिलाउने प्रतिबद्धता पनि हो । पीडितका घाउमा मलम नलगाई, सत्य स्थापित नगरी र दोषीलाई जवाफदेही नबनाई दिगो शान्ति सम्भव छैन । दुई दशकसम्म न्यायको ढोका ढकढक्याइरहेका शान्ति, पूर्णप्रसाद र ऋषिजस्ता नागरिकलाई अब आश्वासन होइन, परिणाम चाहिएको छ । राज्यले उनीहरूलाई न्याय दिन जति ढिलाइ गर्छ, शान्ति प्रक्रियाको अपूर्णता त्यति नै गहिरिँदै जानेछ ।

सम्पादकीय :  न्यायको प्रतिक्षामा बितेको दुई दशक

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा

सम्पादकीय :  न्यायको प्रतिक्षामा बितेको दुई दशक

सम्पादकीय : न्यायको प्रतिक्षामा बितेको दुई दशक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!