दाङ ,९ मंसिर ।
लैंगिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (मंसिर ९ देखि २४ गतेसम्म) का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लैंगिक हिंसा मानव अधिकारको गम्भीर उल्लंघन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौती भएको उल्लेख गर्नुभएको हो । महिला, बालबालिका तथा लैंगिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण, दुव्र्यवहार र असमान व्यवहारको अन्त्य गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व भएको उहाँले बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले लैंगिक समानता, सामाजिक न्याय, समावेशिता तथा महिला सशक्तीकरणलाई शासन, नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको मुख्यमन्त्री आचार्यले सन्देशमा उल्लेख गर्नुभएको छ । महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, सीप विकास, आत्मनिर्भरता, निर्णय प्रक्रियामा सहभागिता, हिंसा प्रभावित व्यक्तिको संरक्षण, न्यायमा पहुँच तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।
लैंगिक उत्तरदायी शासन प्रणालीको विकास, सामाजिक विभेदको न्यूनीकरण तथा सबै नागरिकका लागि समान अवसर सुनिश्चित गर्न प्रदेश सरकार स्थानीय तह, संघीय सरकार, नागरिक समाज र सरोकारवाला संस्थासँग समन्वय तथा सहकार्य गर्दै अघि बढिरहेको उहाँले बताउनुभएको छ ।
हिंसा प्रभावित व्यक्तिहरूलाई सुरक्षित वातावरण, आवश्यक परामर्श, संरक्षण, न्याय तथा पुनःस्थापनाको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लैंगिक हिंसा रोकथाम, हिंसाजन्य व्यवहारको अन्त्य, पीडितमैत्री सेवा प्रवाह र सामाजिक चेतना अभिवृद्धिका प्रयासलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।
१६ दिने अभियानलाई अभियान अवधिमा मात्र सीमित नराखी वर्षभरि लैंगिक हिंसाविरुद्ध जागरण, प्रतिरोध र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउन उहाँले राजनीतिक दल, सरकारी निकाय, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था, समुदाय तथा नागरिकलाई आह्वान गर्नुभएको छ ।
लैंगिक समानता स्थापित भएको, हिंसामुक्त समाज, सुरक्षित वातावरण र समान अवसरसहित प्रत्येक नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने समृद्ध लुम्बिनी निर्माणमा प्रदेश सरकार दृढ प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले सन्देशमा उल्लेख गर्नुभएको छ । लैंगिक हिंसा अन्त्य गरी समानता, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको उहाँले जोड दिनुभएको छ ।


