सुर्खेत, ९ मंसिर ।
बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेको भन्दै वीरेन्द्रनगरमा बजार अनुगमनलाई तीव्रता दिने विषयमा जोड दिइएको छ । फुटपाथ व्यवस्थापन, फोहोर नियन्त्रण, कर राजस्व असुली व्यवस्थित गर्ने तथा उपभोक्ता हित संरक्षणका लागि क्षेत्रगत कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशक समितिको मंगलबार बसेको बैठकले बजार व्यवस्थापनलाई सरकार, निजी क्षेत्र र नागरिक समाज सबैको साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले फुटपाथ व्यवस्थापनको कामलाई पुनः निरन्तरता दिनुपर्ने र फोहोर व्यवस्थापनलाई चुस्त बनाउनुपर्नेमा जोड दिएको छ ।
त्यस्तै, नियमित कर तथा राजस्व असुलीलाई व्यवस्थित बनाउन करदाताको मोबाइलमा सूचना जाने व्यवस्था गर्नुपर्ने विषय पनि उठाइएको छ । बजार अनुगमनलाई प्रभावकारी बनाउन क्षेत्रगत कार्ययोजना निर्माण गरी अनुगमन कार्यलाई तीव्रता दिनुपर्ने बैठकको निष्कर्ष छ। उत्पादन तथा उद्योग क्षेत्र, व्यापारी र सेवा क्षेत्रलाई लक्षित गरी सांकेतिक अनुगमन गर्नुपर्ने र त्यसबाट बजारमा सकारात्मक नतिजा ल्याउनुपर्नेमा जोड दिइएको छ ।
अनुगमनका क्रममा वस्तु तथा सेवाको गुणस्तर, परिमाण, मात्रा, मूल्य र उपभोग गर्न मिल्ने अवधिलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बैठकले औँल्याएको छ ।
त्यस्तै, बजार अनुगमनका क्रममा जरिवानाभन्दा सचेतनालाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । यद्यपि केही कसुरमा दण्ड तथा जरिवाना पनि आवश्यक रहेको बैठकको निष्कर्ष छ । यस्तै, बैठकमा होटल व्यवसायी संघ सुर्खेतकी अध्यक्ष प्रतिभा वलीले बजार व्यवस्थापन तथा होटलको फोहोर व्यवस्थापनका लागि होटलमा काम गर्ने कर्मचारीलाई टिप्स दिएर फोहोर उठाउने गरिएको बताइन् ।
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव रामप्रसाद जैसीले ‘आफ्नो फोहोर आफैँ राखौँ’ अभियान सञ्चालन गर्न थालिएको बताए । व्यापार व्यवसाय गर्नेहरूले फुटपाथमा नभई सटर भाडामा लिएर व्यवसाय सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए ।
बैठकमा स्थानीय सरकार सबलीकरण कार्यक्रम द एसिया फाउण्डेशनका कर्णाली प्रदेश संयोजक विशाल आचार्यले उपभोक्तासम्बन्धी सरकारले बनाएका ऐन, कानुन, उपभोक्ता अदालत र अदालतले हेर्ने विषयमा प्रस्तुति दिएका थिए । उनले १० औँैँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी स्वच्छता, खानेपानी तथा व्यवस्थापकीय पक्षमा समेत छलफल भएको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत दिपेन सुवेदीले नगरपालिकाले उपभोक्ता हित र बजार व्यवस्थापनसम्बन्धी हालसम्म निर्माण गरेका नीति, ऐन तथा कानुनबारे जानकारी गराए। उनका अनुसार नगरपालिकाले बजार व्यवस्थापनसम्बन्धी पाँचवटा कानुन निर्माण गरेको छ । नगरपालिकाभित्र अटो चढेपछि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म मात्रै भाडा तोकिएको छ ।
वीरेन्द्रनगर उपत्यकाभन्दा बाहिर अटोलाई नगरपालिकाले सडक अनुमति नदिएको उनले जानकारी गराए । नगरपालिकाले नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिएको भए पनि सबै खालका व्यवसायीले कर तिर्ने विषयमा छल्ने गरेको समस्या रहेको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद भट्टराईले बजार व्यवस्थापनको दायरा जति विस्तार गर्यो, त्यति नै बढ्दै जाने बताए । उनले बजार व्यवस्थापनका लागि क्षेत्रगत रूपमा काम गर्नुपर्ने र नियमनकारी निकायदेखि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । उत्पादन, उद्योग, व्यापारी र उपभोक्ता क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
नगरपालिकाका उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक निलकण्ठ खनालले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । बजार अनुगमनलाई निरन्तरता दिँदै नियमनकारी निकाय, व्यवसायी र उपभोक्ताबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो । उनले उत्पादन, उद्योग, व्यापारिक तथा उपभोक्ता क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने र १० औँैँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी स्वच्छता, खानेपानी तथा व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने बताए ।


