सल्यानको दार्मामा स्क्रब टाइफसको प्रकोप नियन्त्रणमा लिन मुख्यमन्त्रीको शाहीको निर्देशन

सुर्खेत, ७ असोज ।
सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप देखिएको छ । गाउँपालिकाका वडा नम्बर १, ५ र ६ बढी प्रभावित भएका छन भने रोगका कारण हालसम्म सात जनाको मृत्यु भएको बताइएको छ । प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । वडा नम्बर १ मा स्थानीयको रगत परीक्षण गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालसहित चिकित्सक र स्वास्थ्यकर्र्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ । स्क्रब टाइफस परीक्षणका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट २ सय र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २ सय ५० गरी हालसम्म ४ सय ५० वटा किट दार्मा पठाइएको छ । प्रकोपको अवस्था हेर्दा तत्काल कम्तीमा एक हजार थप परीक्षण किट आवश्यक रहेको जनाइएको छ ।
कर्णााली प्रदेश सरकारले पनि परीक्षण किट, औषधि र थप स्वास्थ्यकर्र्मी पठाउने तयारी गरेको छ । मुख्यमन्त्री मंगल बहादुर शाहीले बुधबार बिहानसम्म प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप एक हजार किट, आवश्यक औषधी तथा चिकित्सकसहितको जनशक्ति पठाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उपलब्ध स्रोत–साधन परिचालन गरेर रोगलाई नियन्त्रणमा लिन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ ।

यसैबीच, सल्यानकै कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षण किटको माग गरेका छन् । प्रदेश सरकारले जिल्लाका जोखिमयुक्त क्षेत्रमा परीक्षण तथा निगरानी बढाउने तयारी गरेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले यसअघि स्क्रब टाइफससँगै डेगु परीक्षण किट क्सिसाइक्लिन, एजिथ्रोमाइसिन, पारासिटामोललगायत आवश्यक औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको थियो ।
सो पत्र र मुख्यमन्त्रीको निर्देशन अनुसार आवश्यक औषधी तथा किटहरु सल्याण मंगलबार विहानै सल्याण पठाउने तयारी भैरहेको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले दिए ।






