बैजनाथमा प्राङ्गारिक कृषि पोषण मेला : स्थानीय उत्पादन र स्वस्थ खानाप्रति सचेतना

बाँके ,१४ जेठ ।
बाँकेको बैजनाथ गाउँपालिका मा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रदर्शनी’ सम्पन्न गरिएको छ । विभिन्न दातृ निकायको सहयोग तथा गाउँपालिकाको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले आयोजना गरेको एकदिने मेलामा स्थानीय किसानहरूले आफैं उत्पादन गरेका कृषि तथा खाद्य सामग्रीको प्रदर्शनी गरेका थिए ।
मेलामा स्थानीय उत्पादनको बजारीकरणसँगै अर्ग्यानिक तरकारी तथा खाद्य सामग्रीको सेवनबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो । घरमै उत्पादन गरिएका खाद्य वस्तुको सन्तुलित प्रयोगले स्वास्थ्य र पोषणमा सकारात्मक प्रभाव पार्ने भएकाले स्थानीय उत्पादनप्रति नागरिकलाई आकर्षित गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा आईडी नेपाल की कल्पना धितालले समुदायमा उत्पादित स्थानीय सामग्रीबाट बनाइने परिकार पौष्टिक र स्वास्थ्यवर्द्धक हुने बताउँदै यस्ता उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले स्वस्थ जीवनका लागि पोषणयुक्त तथा स्वच्छ खानाको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै स्थानीय स्तरमै उत्पादन हुने तरकारी तथा खाद्य सामग्रीको उत्पादन र उपभोग बढाउन आग्रह गर्नुभयो ।
त्यसैगरी कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले बैजनाथ गाउँपालिकाका किसानहरू तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताउँदै अझ बढी पोषणयुक्त बाली उत्पादन गर्न पालिकाले आवश्यक सहयोग गरिरहेको जानकारी दिनुभयो ।
बी–ग्रुपकी जेसी अधिकृत रामकुमारी थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका कृषि अधिकृत विशाल केसी लगायत विभिन्न सरोकारवालाले स्थानीय कृषि उत्पादन, पोषण र स्वास्थ्यबीचको सम्बन्धबारे धारणा राखेका थिए ।
प्रदर्शनीमा करिब २५ वटा स्टलमार्फत स्थानीय किसान तथा कृषक समूहले उत्पादन गरेका तरकारी र खाद्य सामग्री बिक्री तथा प्रदर्शनका लागि राखिएका थिए । साथै सामुदायिक विद्यालयका विद्यार्थीहरूले पोषणसम्बन्धी जनचेतना फैलाउन विभिन्न सिर्जनात्मक कला तथा सामग्री प्रस्तुत गरेका थिए ।
भगवती माध्यमिक विद्यालय को प्राङ्गणमा आयोजित कार्यक्रममा स्वास्थ्य पोषण, प्राङ्गारिक कृषि उत्पादन, कृषि उपज अवलोकन तथा सांस्कृतिक कार्यक्रमसमेत गरिएको स्थानीय मालती विश्वकर्माले जानकारी दिनुभयो






