थारु समुदायको हक–अधिकार र पहिचानका मुद्दा उठाउने तयारीमा नेपाल थारु संघ: प्रथम राष्ट्रिय महाधिवेशन जेठ १६ र १७ गते ललितपुरमा हुने

ललितपुर ,१४ जेठ ।
नेपाल थारु संघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ १६ र १७ गते ललितपुरस्थित वी.पी. स्मृति भवन, वी.पी. नगरमा आयोजना हुने भएको छ । लोकतन्त्र, समाजवाद, राष्ट्रियता र थारु एकताको मूल नारासहित हुन लागेको महाधिवेशनमा देशभरका २६ जिल्लाबाट ५०६ जना प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति लाई प्रमुख अतिथिका रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा गरिएको छ । नेपाल थारु संघका केन्द्रीय अध्यक्ष शिवनारायण महतो गुरौद्वारा हस्ताक्षरित निमन्त्रणापत्रमार्फत थारु समुदायको हक, अधिकार, पहिचान तथा संगठन सुदृढीकरणका विषयमा केन्द्रित महाधिवेशनमा सभापति थापाको उपस्थितिले थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
![]()
महाधिवेशनबारे जानकारी दिँदै थारु नेता फुलाराम थारुले थारु समुदायको एकता, पहिचान र अधिकार सुनिश्चित गर्न यो ऐतिहासिक अवसर भएको बताएका छन् । उनले लामो समयदेखि थारु समुदायले सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा आफ्ना अधिकारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै अब संगठित ढंगले आवाज उठाउन आवश्यक रहेको बताए ।
उनले भने, “थारु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान जोगाउने सवाल आजको प्रमुख आवश्यकता हो । राष्ट्रिय महाधिवेशनले समुदायका साझा मुद्दालाई राष्ट्रिय बहसमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।”
थारुले महाधिवेशनले संगठन विस्तार, युवापुस्ताको सहभागिता वृद्धि, समुदायभित्रको एकता मजबुत बनाउने तथा आगामी रणनीति तय गर्ने विश्वास समेत व्यक्त गरे । उनका अनुसार थारु समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक र सम्मानजनक सहभागिता सुनिश्चित गर्न संगठनले थप प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नेछ ।
नेपाल थारु संघले महाधिवेशनमा थारु अगुवा, विभिन्न जिल्लाका प्रतिनिधि, राजनीतिक व्यक्तित्व तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने जनाएको छ । उद्घाटन समारोह जेठ १६ गते अपरान्ह १ बजे वी.पी. स्मृति भवन, वी.पी. नगर, ललितपुरमा हुने कार्यक्रम तय गरिएको छ ।






