नेपालगञ्जमा धार्मिक सद्भावसहित मनाइयो बकर इद, सबै समुदायबीच भाइचाराको सन्देश

बाँके ,१४ जेठ ।
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बाँकेसहित देशभर हर्षोल्लास, धार्मिक श्रद्धा र आपसी सद्भावका साथ मनाइएको छ । नेपालगञ्जमा भने यो पर्व मुस्लिम समुदायमा मात्रै सीमित नभई विभिन्न धर्म र समुदायबीचको एकता तथा भाइचाराको प्रतीकका रूपमा मनाइएको छ ।
त्याग, समर्पण, बलिदान र मानवताको सन्देश बोकेको बकर इदका अवसरमा बिहिवार बिहानैदेखि मुस्लिम समुदायका मानिसहरू स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेका थिए । सामूहिक नमाज अदा गरेपछि एकअर्कासँग अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
नेपालगञ्जको बीपी चोकस्थित इदगाह, एक्लैनीको फुलबारी मस्जिद, फुल्टेक्रास्थित फैजाने मदिना मस्जिदलगायत बाँकेका विभिन्न मस्जिद तथा इदगाहमा हजारौँ मुस्लिम धर्मावलम्बी सहभागी भएका थिए । पर्वका अवसरमा मुस्लिम समुदायसँगै अन्य धर्मका नागरिक तथा जनप्रतिनिधिहरूले पनि शुभकामना आदानप्रदान गर्दै धार्मिक सद्भावको वातावरण थप मजबुत बनाएका छन् ।
फैजाने मदिनाका धर्मगुरु मुफ्ती फजल हकले बकर इद अल्लाहप्रतिको पूर्ण समर्पण, त्याग र बलिदानको प्रतीकका रूपमा मनाइने बताउनुभयो । उहाँका अनुसार इस्लाम धर्मअनुसार रमजान अर्थात् इदुल फित्र पर्वको करिब ७० दिनपछि इस्लामिक पात्रोको १२औँ महिना ‘जिलहिज्जा’को १०औँ दिन बकर इद मनाइन्छ ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बकर इदले धार्मिक महत्वसँगै सामाजिक सद्भाव र मानवताको सन्देश फैलाउने बताउनुभयो । उहाँले हिजरी संवत्अनुसार करिब १४३९ वर्षअघि हजरत इब्राहिमले अल्लाहको आदेशअनुसार आफ्ना प्रिय छोरा इस्माएल अलैहिस्सलामलाई बलिदान गर्न तयार भएको घटनाको सम्झनामा यो पर्व मनाइने गरिएको उल्लेख गर्नुभयो ।
“अल्लाहले इब्राहिमलाई सबैभन्दा प्रिय वस्तु कुर्बानी गर्न आदेश दिनुभएको थियो । उहाँ आफ्ना छोरा इस्माएललाई बलिदान दिन तयार हुँदा अल्लाह प्रसन्न भई त्यसको सट्टा भेडा कुर्बानी गर्न आदेश दिनुभयो । त्यही घटनाबाट बकर इद पर्वको सुरुवात भएको हो,” अध्यक्ष खाँले भन्नुभयो ।
धर्मगुरु मुफ्ती फजल हकका अनुसार पैगम्बर मोहम्मद सलल्लाहु अलैहि वसल्लमले यस पर्वको परम्परालाई थप विस्तार र निरन्तरता दिनुभएको हो । उहाँले साउदी अरबका मक्का र मदिनालाई मुस्लिम समुदायका प्रमुख धार्मिक तीर्थस्थलका रूपमा स्मरण गर्दै बकर इदका अवसरमा धार्मिक यात्रा गर्नु शुभ मानिने परम्परा रहेको जानकारी दिनुभयो ।
उहाँले इस्लाम धर्मसम्बन्धी हदिस ग्रन्थको अध्ययन अहिले पनि मदरसाहरूमा गराइने बताउँदै बकर इदले त्याग, सहिष्णुता, मानवता र आपसी सद्भावको सन्देश दिने भएकाले यसको सामाजिक महत्व निकै गहिरो रहेको उल्लेख गर्नुभयो ।
आजदेखि तीन दिनसम्म मनाइने यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।






