चन्दननाथको शेरा खेतमा रोपाइँ

गाेल्डेन बुढा
जुम्ला,१४ जेठ ।
जुम्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा बुधबार परम्परागत रूपमा जुम्ली कालीमार्सी धान रोपाइँ गरिएको छ। धार्मिक आस्था, ऐतिहासिक विरासत, कृषि सभ्यता र जुम्ली पहिचानसँग गाँसिएको उक्त शेरा जिउलोमा हरेक वर्षको जेठ १४ गते मार्सी धान रोप्ने परम्परा रहिआएको छ।परम्परागत रूपमा रोपिँदै आएको जुम्ली कालीमार्सी धानलाई चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर जुम्लामा खेती सुरु गरेको जनविश्वास छ।

यही ऐतिहासिक र धार्मिक मान्यतालाई निरन्तरता दिँदै मन्दिरको शेरा खेतमा बिहीबार पनि विधिपूर्वक रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए।उनका अनुसार चन्दननाथ बाबाको शेरा जिउलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ। “यो केवल खेती मात्र होइन, जुम्लाको धार्मिक आस्था, संस्कार र सभ्यतासँग जोडिएको जीवित परम्परा हो,” अध्यक्ष थापाले भने।रोपाइँका क्रममा परम्परागत रूपमा मागल गाउने, पञ्चेबाजा बजाउने, सामूहिक रूपमा खेतमा ओर्लिने चलन रहिआएको भए पनि पछिल्लो समय ती मौलिक सांस्कृतिक अभ्यास विस्तारै हराउन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। पुस्तान्तरणसँगै आधुनिकताको प्रभाव बढ्दै जाँदा जुम्लाको मौलिक कृषि संस्कृति संकटमा पर्न थालेको स्थानीयको गुनासो छ।गुठीका नायव सुब्बा रत्नाप्रसाद आचार्यका अनुसार यस वर्ष मन्दिरको शेरा खेतअन्तर्गत २२ भारी क्षेत्रफलमा मार्सी धान रोपिएको छ। रोपाइँ कार्यक्रममा स्थानीय बासिन्दा, चन्दननाथ नमूना माध्यमिक विद्यालयका विद्यार्थी, स्थानीय महिला, चन्दननाथ बहुउद्देश्यीय सहकारीका महिला कर्मचारी तथा नागरिक अगुवाको उल्लेख्य सहभागिता रहेको थियो।समुद्री सतहदेखि करिब ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो विश्वकै उच्च स्थानमा धान फल्ने क्षेत्रमध्ये एक मानिन्छ। कठोर हिमाली भूगोल र चिसो हावापानीका बीच उत्पादन हुने जुम्ली मार्सी धान केवल कृषि उत्पादन नभई जुम्लाको ऐतिहासिक पहिचान र जीवनपद्धतिको अभिन्न हिस्सा बनेको छ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले छुमचौर क्षेत्रमा उत्पादन हुने मार्सी धान खेती संरक्षण र प्रवर्द्धनका लागि सरकारले विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। “मार्सी जुम्लाको पहिचान हो। यसको संरक्षण नगर्ने हो भने हाम्रो मौलिक कृषि सभ्यता नै संकटमा पर्न सक्छ,” उनले भने।यता, अहिले जुम्लाभर मार्सी धान रोपाइँको चटारो सुरु भएको छ। किसान बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन्। पातारासी गाउँपालिका–३ छुमचौर गाउँकी कमला महताराका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ चल्ने गर्दछ।पछिल्लो समय जुम्ली मार्सी चामलले राष्ट्रिय बजार पाउन थालेपछि किसानको आकर्षण पनि बढ्दै गएको छ। अहिले मार्सी चामल प्रतिकेजी १ सय ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ। स्वास्थ्यका दृष्टिले पोषिलो, स्वादिलो तथा हिमाली जैविक उत्पादनका रूपमा स्थापित हुँदै गएपछि यसको माग देशभर बढिरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लामा उत्पादन हुने मार्सी चामलको माग बढ्दै जाँदा खेती विस्तारसमेत बर्सेनि बढिरहेको छ। उनका अनुसार जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाअन्तर्गत सिँजा–चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट तथा विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौर क्षेत्रमा अहिले जुम्ली काली र रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ।उनका अनुसार चन्दननाथ–१ र चन्दननाथ–३ जात सिफारिस भइसकेका छन् भने मार्सी–१८, २० र २२ परीक्षणको चरणमा रहेका छन्।कृषि विकास कार्यालयको तथ्यांकअनुसार जुम्ली मार्सी चामलबाट वार्षिक करिब ३ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ भने अघिल्लो वर्ष २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो। यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो। रोपाइँ क्षेत्र घटेर २ हजार ८८ हेक्टरमा सीमित भए पनि उत्पादन भने बढेको तथ्यांकले देखाएको छ।तर, उत्पादन वृद्धि भइरहे पनि परम्परागत खेतीयोग्य जमिन भने घट्दै गएको स्थानीयको गुनासो छ। कुनै समय ८० मुरीसम्म मार्सी उत्पादन हुने खेतबारी अहिले ३० मुरीमै सीमित हुन थालेका छन्। खेतीयोग्य जमिन बाँझिने, युवापुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुने र परम्परागत कृषि प्रणाली कमजोर बन्दै जाँदा जुम्ली मार्सीको मौलिकता जोगाउने चुनौती थपिएको छ।इतिहास र किंवदन्तीअनुसार जुम्ली मार्सी धानको परीक्षण सन् १०९८ मा गरिएको थियो भने सन् १११२ बाट यसको औपचारिक खेती सुरु भएको मानिन्छ। करिब नौ सय वर्ष पुरानो इतिहास बोकेको जुम्ली मार्सी आज पनि जुम्लाको धार्मिक संस्कार, कृषि परम्परा, स्थानीय अर्थतन्त्र र सांस्कृतिक अस्तित्वको महत्वपूर्ण आधार बनेर उभिएको छ।






