काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष बुढा रास्वपामा प्रवेश, पद फाल्न सभापति गगनथापालाई कडा चुनौती

गाेल्डेन बुढा

जुम्ला ,१४ जेठ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार गाउँपालिकामा आयोजित भेलामार्फत उनले आफू रास्वपामा प्रवेश गरेको सार्वजनिक घोषणा गरेका हुन्।रास्वपा प्रवेशसँगै अध्यक्ष बुढाले नेपाली काङ्ग्रेस नेतृत्वलाई खुला चुनौती दिएका छन्। आफू संविधानअनुसार सार्वभौम जनताबाट निर्वाचित भएको उल्लेख गर्दै उनले पार्टीले चाहेर आफ्नो पद खोस्न नसक्ने दाबी गरे।उनले भने, “आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको तयारी हुँदै थियो। हामी बस्ती स्तरमा गएर आम जनतालाई कार्यक्रममा ल्याउन पहल गरिरहेका थियौँ। त्यतिबेला नेपाली काङ्ग्रेस जुम्लाका उपसभापति कार्मा बुढाको फोन आएछ। उहाँले कसैलाई गुठीचौर गाउँपालिकाका अध्यक्ष रास्वपामा प्रवेश गर्दैछन्, गोप्य रूपमा फोटो र भिडियो पठाइदिनू भनेर भन्नुभएको रहेछ।”उनले नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा र जिल्ला तहका नेताहरूमाथि लक्षित गर्दै भने, “गगन थापालाई भन्न चाहान्छु, कार्मा बुढालाई भन्न चाहान्छु, तपाईंहरूको तागत र हिक्मत छ भने गाउँपालिकाको पद फालेर देखाउनुस्। यो संविधानको पद हो। सार्वभौम जनताले निर्वाचित गरेको पद हो। नेपाली काङ्ग्रेसका एक–दुई जनाले दिएको पद होइन।”अध्यक्ष बुढाले सञ्चारकर्मीलाई सम्बोधन गर्दै आफ्नो अभिव्यक्तिको भिडियो तत्काल सार्वजनिक गर्न आग्रह समेत गरे।उनले गुठीचौर गाउँपालिका ‘रास्वपामय’ भइसकेको दाबी गर्दै अब सिंगो जुम्ला र कर्णाली प्रदेशलाई रास्वपामय बनाउने अभियान सुरु भएको बताए।

“हाम्रो लक्ष्य गाउँपालिका मात्र होइन, सिंगो जुम्लालाई रास्वपामय बनाउने हो,” उनले भने, “नेपालका छ वटा प्रदेशमा रास्वपाको प्रभाव देखिइसकेको छ। अब कर्णाली पनि रास्वपामय बन्दैछ।”निकट भविष्यमा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा जुम्लाबाट रास्वपाका उम्मेदवार निर्वाचित हुने दाबी गर्दै उनले आफूहरू अवसरवादी नभई परिवर्तन चाहने समूह भएको बताए।“हामी अवसरवादी होइनौँ। हामी परिवर्तन चाहने मान्छे हौँ। देशले जे माटो माग्छ, त्यहीँ जान चाहन्छौँ। त्यसैले पद दाउमा राखेर रास्वपामा प्रवेश गरेका हौँ,” उनले भने।उनले अब कर्णालीमा नयाँ ढंगले राजनीतिक यात्रा सुरु हुने दाबी गर्दै नेपाली काङ्ग्रेस नेतृत्वलाई पुनः चुनौती दोहोर्‍याए।दानबहादुर बुढाको राजनीतिक यात्रा भने विभिन्न दल हुँदै अघि बढेको देखिन्छ। उनी २०५७ सालमा माओवादी आन्दोलनमा भूमिगत भएका थिए। त्यहाँ पनि नटिक्दै एमालेमा प्रवेश गरेका थिए। त्यसपछि स्थानीय तह पहिलो निर्वाचनअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरी गुठीचौर गाउँपालिकाको अध्यक्ष पदको टिकट पाएका थिए।पहिलो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्दा उनले ६ सय ७९ मत ल्याएर पराजित भएका थिए। दोस्रो पटक भने १ हजार ७ सय ७५ मत ल्याएर निर्वाचित भएका थिए।त्यस्तै, गुठीचौर गाउँपालिका–३ का स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष इन्द्र बुढाले पनि रास्वपा प्रवेश गरेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका बुढा बिहीबार रास्वपामा प्रवेश गरेका हुन्।गुठीचौर गाउँपालिकाका अध्यक्ष, एक वडाध्यक्षसहित केही स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेको जनाइएको छ।

काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष बुढा रास्वपामा प्रवेश, पद फाल्न सभापति गगनथापालाई कडा चुनौती

घुयँत्राे:नेपालमा आयोग जन्मिन्छ, न्याय मर्छ !

Leave a comment

Your email address will not be published. Required fields are marked *