बुबाले भोगेको मुद्दाको पीडाले कानुनतर्फ डोर्यायो बरिस्ठ अधिवक्ता देवेन्द्रराज शर्मा !

गोल्डेन बुढा
जुम्ला,१४ असोज ।
जुम्लाको गुठिचौर गाउँपालिका–४ धवलपुरा खल्लाबाडा गाउँका ६२ वर्षीय देवेन्द्रराज शर्मा अहिले वरिष्ठ अधिवक्ता हुन्। चार दशकभन्दा लामो समयदेखि कानुन व्यवसायमा सक्रिय उनले आफ्नो जीवनको ठूलो हिस्सा अदालत, कानुन र न्यायका लागि खर्चिएका छन्। तर, उनको जीवनको सुरुआती सपना कानुन व्यवसायी बन्ने थिएन। उनी कृषि विज्ञ बन्न चाहन्थे।२०२१ सालमा कृष्णभक्त शर्मा र अम्बिकादेवी शर्माको पहिलो सन्तानका रूपमा जन्मिएका शर्माले गाउँबाटै पढाइ सुरु गरे। उनका बुबा नेपाली शिक्षक थिए। तीन भाइ र तीन बहिनीमध्ये उनी जेठा हुन्। माइला भाइ केशवराज शर्मा शाखा अधिकृत छन् भने कान्छा भाइ उमेश शर्मा सब–इन्जिनियर छन्। बहिनीहरू विष्णुमाया शर्मा (देवकोटा), लंगनमाया शर्मा (देवकोटा) र राज्यलक्ष्मी शर्मा (तिमिल्सेना) हुन्। राज्यलक्ष्मी जुम्लाको गुठिचौर गाउँपालिकामा अनमी छिन्।शर्माको वैवाहिक जीवन २०३२ सालमा दुर्गादेवी शर्मासँग जोडियो। उनका दुई छोरा र एक छोरी छन्। जेठा छोरा विश्वनाथ शर्मा डाक्टर छन्। कान्छा महेश शर्मा जनस्वास्थ्य अधिकृत छन्। छोरी गोदावरी शर्मा अधिवक्ता हुन्। उनी कानुनमा स्नातकोत्तर पढ्दैछिन्। दुई भाइ, दुई छोरा र एक छोरी पढ्ने घरको खर्चसमेत यही पेसाबाट चलिरहेको शर्मा बताउँछन्।शर्माको शिक्षा कक्षा १ देखि ५ सम्म गाउँकै सत्यवादी माध्यमिक विद्यालय दशौदीबाट भयो। कक्षा ६ देखि १० सम्म सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालयमा पढे। त्यही विद्यालयबाट २०३९ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे।एसएलसीपछि उनी नेपाल ल क्याम्पस काठमाडौं पुगे। त्यहाँ आईएल र बीएल गरे। तर, कानुन उनको पहिलो रोजाइ थिएन।
कृषि पढ्ने उनको ठूलो रुचि थियो। कृषि विज्ञ बन्ने उनको ठूलो रहर थियो। त्यतिबेला उनले बागवानी विषयसमेत पढेका थिए। बागवानी विषय चार सय पूर्णाङ्कको हुने उनी सम्झन्छन्।तर,जीवनले उनलाई अर्को बाटोमा डोर्यायो।गाउँको छिमेकीसँग जग्गा–बाली लुटपाटसम्बन्धी मुद्दा पर्यो। मुद्दाका कारण उनका बुबाले धेरै दुःख पाए। तत्कालीन जिल्ला अदालतदेखि क्षेत्रीय अदालत वीरेन्द्रनगर सुर्खेतसम्म बुबाले मुद्दा लड्नुपरेको पीडा उनले नजिकबाट देखे। त्यही घटनाले उनको मनमा कानुन पढ्ने र न्यायको क्षेत्रमा काम गर्ने सोच बलियो बनायो।त्यतिबेला जुम्लाबाट काठमाडौं पुग्न अहिले जस्तो सहज थिएन। जुम्लाबाट नेपालगन्ज, भारत हुँदै कृष्णनगर भएर काठमाडौं पुग्नुपर्थ्यो। लामो र कठिन यात्रापछि काठमाडौं पुगेका उनले कानुन पढे। कृषि विज्ञ बन्ने सपना बोकेका उनी अन्ततः कानुन व्यवसायी बन्ने यात्रामा लागे।२०४९ सालदेखि उनले अधिवक्ताको काम सुरु गरे। कानुनका किताबमा पढेका विषयलाई अदालतको बहसमा प्रयोग गर्ने त्यो सुरुआती समय उनका लागि सहज थिएन। उनले हेरेको पहिलो मुद्दा नामसारी बदरसम्बन्धी थियो। तत्कालीन जुम्लाको डिल्लीचौर गाविस–तिर्खु गाउँका नन्दराम बोहोरा प्रतिवादी थिए भने नरजित बोहोरा वादी थिए।अदालतमा पहिलोपटक बहस गर्दा उनको मनमा अनेक प्रश्न उठ्थे। न्यायाधीशको अगाडि कसरी बोल्ने, के बोल्ने, बोल्न जानिन्छ कि नाइँ भन्ने डर हुन्थ्यो।‘श्रीमान् (न्यायाधीश) को अगाडि के हुन्छ, कस्तो हुन्छ, बोल्न जानिन्छ कि नाई भन्ने सोच्दा मुटु हलचल हुन्थ्यो,’ शर्मा आफ्नो पहिलो बहस सम्झन्छन्, ‘बहस गर्दागर्दै बीचबीचमा अलमलिन्थें। अन्ततः मुद्दा जित्यो।’पहिलो मुद्दामै प्राप्त सफलताले उनको आत्मविश्वास बढायो। त्यसपछि उनले कानुन व्यवसायलाई निरन्तर आफ्नो कर्मक्षेत्र बनाए।चार दशकभन्दा लामो वकालत यात्रामा उनले अहिलेसम्म एक हजारभन्दा बढी मुद्दा हेरेको बताउँछन्। उनका लागि मुद्दा लिनु केवल कानुनी कागज हेर्नु होइन, सेवाग्राहीसँग विश्वासको सम्बन्ध बनाउनु पनि हो।‘मुद्दा मापदण्ड लिने अवस्था विश्वास, धैर्यता, गोपनीयता र सेवा शुल्क हो,’ उनी भन्छन्।उनका अनुसार अहिलेसम्म करिब पाँच प्रतिशत मुद्दा मात्रै असफल भएको होला। ‘९५ प्रतिशत मुद्दा मेरो पक्षमा भइरहेका छन्,’ उनी भन्छन्।वकालत सुरु गर्दा एउटा निवेदनको शुल्क एक सय रुपैयाँ थियो। अहिले त्यो शुल्क पाँच सय रुपैयाँ पुगेको उनी बताउँछन्।मुद्दा आफ्नो पक्षमा हुँदा पीडित सेवाग्राहीलाई न्याय दिलाएको महसुस हुने उनको अनुभव छ। त्यसले आफूमा थप हौसला बढाउने उनी बताउँछन्। तर, मुद्दा असफल हुँदा पनि उनी त्यसबाट पछि हट्दैनन्।‘यदि असफल भएको खण्डमा मैले के कमजोरी गरेँ, कसरी कमजोरी भयो भनेर आफैं आत्मसमीक्षा हुन्छ,’ उनी भन्छन्।जिल्ला अदालतबाट मुद्दा आफ्नो पक्षमा नभए सेवाग्राहीलाई निराश हुन नदिने उनी बताउँछन्। ‘पीडितलाई सम्झाउने, साहस दिने, हौसला दिन्छु। जिल्ला पक्षमा भएन भने माथिल्लो अदालतबाट हुन्छ। न्याय हुन्छ भनेर दिलाउँछु,’ उनी भन्छन्।उनका अनुसार माथिल्लो अदालतबाट पनि आफूले सेवाग्राहीलाई न्याय दिलाएको अनुभव छ। करिब १० प्रतिशत मुद्दा उच्च अदालत र पाँच प्रतिशत मुद्दा सर्वोच्च अदालतसम्म जाने गरेको उनको भनाइ छ।जुम्लामा सफल वरिष्ठ अधिवक्ताका रूपमा परिचित शर्माको ‘आदर्श कानुनी परामर्श केन्द्र, जुम्ला’ फर्म दर्ता छ। उनी कहिलेकाहीँ कर्णालीका विभिन्न जिल्लामा पुगेर कानुनी परामर्श दिने गर्छन्। उनी जिल्ला बार इकाइका सदस्य पनि हुन्।२०७९ साल भदौ १ गते उनले वरिष्ठ अधिवक्ताको जिम्मेवारी पाए। उनका अनुसार वरिष्ठ अधिवक्ताको मापदण्डमा १५ वर्ष वकालत गरेको अधिवक्ताको हैसियत, क्रियाकलाप र आचरणको मूल्यांकन हुनुका साथै न्यूनतम ५० वटा उच्च अदालतका मुद्दा हेरेको हुनुपर्छ।चार दशकभन्दा बढी समय कानुन व्यवसायमा बिताइसकेका शर्मालाई आफ्नो पेसाप्रति सन्तोष छ। कानुन व्यवसायमा कहिलेकाहीँ चुनौती र धम्की पनि आउने गरेको उनी बताउँछन्। तर, अहिलेसम्म भौतिक आक्रमण भने नभएको उनको भनाइ छ।‘यो पेसा सन्तोषजनक छ। वास्तविक पीडितको पक्षमा न्याय दिलाएको छु भन्ने लाग्छ,’ उनी भन्छन्।उनका लागि वकालतको सबैभन्दा ठूलो सन्तुष्टि पीडामा आएका सेवाग्राहीको अनुहारमा न्यायपछि देखिने मुस्कान हो।‘पीडाले आँखाभरि आँसु भएर आएका सेवाग्राहीलाई खुसीका आँसु पुछेर मुस्कान दिएर न्याय दिलाएर पठाएको महसुस भइरहेको छ,’ शर्मा भन्छन्।कानुनी जटिलता र सहजताका विषयमा सेवाग्राहीलाई सल्लाह–सुझाव दिनु पनि आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ। ‘अझै कानुनी जटिलता र सहजका बारेमा सल्लाह सुझाव दिन्छु,’ उनी भन्छन्।६२ वर्षको उमेरमा पनि शर्माको सक्रियता घटेको छैन। वकालत उनका लागि पेसा मात्रै होइन, जीवनको एउटा लामो यात्रासमेत बनेको छ। कहिलेकाहीँ धम्की आए पनि अहिलेसम्म भौतिक आक्रमण नभएको उनी बताउँछन्। आफ्नो पेसाप्रति उनी सन्तोषजनक रहेको दोहोर्याउँछन्।कृषि विज्ञ बन्ने रहर बोकेर शिक्षा सुरु गरेका शर्मा चार दशकपछि अदालतका बहस र न्यायको यात्रामा छन्। बुबाले भोगेको मुद्दाको पीडाले उनलाई कानुनतर्फ डोर्यायो। पहिलो मुद्दामा न्यायाधीशको अगाडि बोल्दा मुटु हलचल भएको क्षणदेखि आज वरिष्ठ अधिवक्ताको जिम्मेवारीसम्म आइपुग्दा उनले एक हजारभन्दा बढी मुद्दा हेरेका छन्।यही पेसाबाट परिवारको खर्च चलिरहेको छ। दुई भाइ, दुई छोरा र एक छोरी पढ्ने घरको जिम्मेवारी पनि यसै पेसाले धानेको छ।अब उनको एउटै चाहना छ।शारीरिक अवस्थाले साथ दिएसम्म कानुन व्यवसायमै रहेर सेवा गर्ने।‘शारीरिक अवस्था साथ दिएसम्म सेवा दिइरहन्छु,’ उनी भन्छन्।






