बाढीबाट जोगाउन बनाइएको बस्तीमै बाढी पस्यो, बर्दियाका १७ परिवार फेरि विस्थापित

बर्दिया ,१४ असोज ।
बाढी तथा विपद्बाट विस्थापित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको बस्तीमै बाढी पसेपछि बर्दियाका १७ घरधुरी फेरि विस्थापित भएका छन्। बाढीबाट जोगिएर सुरक्षित जीवन बिताउने आशामा नयाँ घरमा सरेका परिवारलाई अहिले त्यही घर छाडेर आश्रयस्थलमा पुग्नुपर्ने अवस्था आएको छ।
गुलरिया नगरपालिका–८ सर्जु टपरामा निर्माण गरिएको सुरक्षित आवासमा सर्जु नदीको पानी पसेपछि त्यहाँ बस्दै आएका १७ घरधुरी विस्थापित भएका हुन्। बिहीबार रातिदेखि लगातार परेको वर्षाका कारण नदीको जलस्तर बढेपछि बस्तीमा बाढी पसेको स्थानीय हरिबहादुर विकले बताउनुभयो।
बाढीको पानी घरभित्र पस्न थालेपछि प्रभावित परिवारलाई नजिकैको आश्रयस्थलमा सारिएको छ। घरभित्र पानी पसेपछि स्थानीयले घरमा रहेका सामान जोगाउन सक्दो प्रयास गरेका थिए। बाख्रा, कुखुरा तथा आवश्यक सामग्री लिएर उनीहरू आश्रयस्थलमा पुगेका छन्।
गुलरिया नगरपालिका र कारितास नेपालको साझेदारीमा निर्माण गरिएको उक्त सुरक्षित आवास केही समयअघि मात्रै लाभग्राही परिवारलाई हस्तान्तरण गरिएको थियो। गत असार २ गते नयाँ घर पाएपछि बाढी तथा विपद्बाट सुरक्षित भएर जीवन बिताउने आशामा परिवारहरू त्यहाँ सरेका थिए।
तर, सुरक्षित जीवनको आशामा नयाँ घरमा प्रवेश गरेका उनीहरू केही समयमै फेरि बाढीको त्रासमा विस्थापित हुनुपरेको हो। यसअघि बस्दै आएको स्थान बाढीको जोखिममा परेपछि सुरक्षित आवासमा सारिएका परिवार नै अहिले पुनः विस्थापित हुनुपरेपछि बस्ती निर्माणका लागि स्थान छनोटमै प्रश्न उठेको छ।
स्थानीयका अनुसार सर्जु नदीको पानी बस्तीमा पस्न थालेपछि घरभित्रका सामान जोगाउनसमेत कठिन भएको थियो। बाढीबाट प्रभावित रीता सुनारले आश्रयस्थलमा पुगेपछि पनि समस्या कम नभएको बताउनुभयो। घर छाडेर सुरक्षित स्थानमा पुग्नुपरे पनि दैनिक जीवनयापनका लागि आवश्यक सामग्री, पशुचौपाया र अन्य सामानको व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ।
‘बाढीबाट जोगिन सुरक्षित ठाउँ भनेर नयाँ घरमा आएका थियौँ, अहिले फेरि त्यही घर छाडेर आश्रयस्थलमा आउनुपरेको छ,’ सुनारले बताउनुभयो।
स्थानीयले बाढीको जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित र जोखिमरहित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्न माग गरेका छन्। सुरक्षित आवासका रूपमा निर्माण गरिएको बस्तीमै बाढी पसेपछि आफूहरू झनै असुरक्षित बनेको उनीहरूको गुनासो छ।
बाढी प्रभावित परिवारलाई सुरक्षित राख्ने उद्देश्यले निर्माण गरिएको आवास नै जोखिममा परेपछि तत्काल राहत र उद्धारसँगै दीर्घकालीन समाधान खोज्नुपर्ने देखिएको छ। स्थानीयले आवास निर्माणका लागि स्थान छनोट, नदीको बहाव, बाढीको सम्भावित जोखिम, निकास प्रणाली तथा भविष्यमा हुनसक्ने विपद्को समेत अध्ययन गरेर मात्रै यस्ता बस्ती निर्माण गर्नुपर्ने बताएका छन्।
विपद्बाट विस्थापित परिवारलाई पुनःस्थापित गर्ने कार्यक्रमको मुख्य उद्देश्य नै उनीहरूलाई सुरक्षित र सम्मानजनक जीवनयापनको आधार प्रदान गर्नु हो। तर, सुरक्षित भनिएको बस्तीमै बाढी पसेर परिवारहरू पुनः विस्थापित हुनुपर्ने अवस्था आएपछि आवास निर्माणको उद्देश्य र त्यसको दीर्घकालीन सुरक्षामाथि गम्भीर समीक्षा आवश्यक देखिएको छ।
अब प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्ने, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा अन्य अत्यावश्यक सेवाको व्यवस्था गर्ने कामसँगै उनीहरू बसिरहेको बस्तीको प्राविधिक तथा भौगोलिक जोखिम मूल्यांकन गर्नुपर्ने आवश्यकता छ। बस्ती दीर्घकालीन रूपमा जोखिममा रहेको पुष्टि भए सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा आवश्यक संरचना निर्माण गरी जोखिम न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायले स्पष्ट निर्णय लिनुपर्ने देखिन्छ।
बाढीबाट घर गुमाएका परिवारलाई नयाँ घर दिनु मात्रै सुरक्षित पुनःस्थापना होइन। त्यो घर सुरक्षित स्थानमा छ कि छैन, विपद्का बेला त्यहाँबाट सहज रूपमा उद्धार हुन सक्छ कि सक्दैन र भविष्यमा फेरि विस्थापित हुनुपर्ने अवस्था आउँदैन भन्ने सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
सर्जु टपराको घटनाले विपद् प्रभावित परिवारका लागि बनाइने आवासमा केवल घर निर्माणको संख्यालाई उपलब्धि मान्ने कि त्यसको सुरक्षा र दिगोपनलाई पनि प्राथमिकतामा राख्ने भन्ने प्रश्न उठाएको छ। त्यसैले तत्कालको संकट समाधानसँगै भविष्यमा यस्ता परिवारलाई पटक–पटक विस्थापित हुन नपर्ने गरी ‘सुरक्षित आवास’को वास्तविक अर्थ व्यवहारमै सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।






