एमाले नेता गोविन्दप्रसाद पन्थीको छैटौँ दिनमा श्रद्धाञ्जली सभा

बुटवल,५ मंसिर ।

नेकपा एमालेका पुराना नेता तथा बुटवल उपमहानगर कमिटीको ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गोविन्दप्रसाद पन्थीको निधनको छैटौँ दिनमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा एमाले बुटवल नगर कमिटीको आयोजनामा बुटवल उपमहानगरपालिका-१३ मा शनिबार श्रद्धाञ्जली सभा गरिएको हो ।

बुटवल नगर कमिटीका सचिव दिननाथ भट्टराईको अध्यक्षता तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित सभामा ज्ञवालीले नेपाली समाजमा नयाँ र पुरानो पुस्ताबीच खाडल सिर्जना गर्न खोजिएको भन्दै त्यो उचित नभएको बताउनुभयो । उहाँले पाका पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समाज विकासको आधारका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभाको सहजीकरण बुटवल उपमहानगरपालिका-१३ का वडा कमिटी अध्यक्ष दीपक पन्थीले गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरे, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, प्रदेश सभा सदस्य चिन्तामणि पाण्डेलगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयको उपस्थिति थियो ।

अर्घाखाँचीको साविक भगवती गाविस, हाल छत्रदेव गाउँपालिका-७ मा १९९७ साल भदौ ४ गते पिता परमानन्द पन्थी र माता मनकला पन्थीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका गोविन्दप्रसाद पन्थीको २०८३ साल कात्तिक ३० गते निधन भएको थियो । उहाँ २०६५ सालदेखि बुटवल उपमहानगरपालिका-१३, बेलवासस्थित लालिगुराँस पथमा बस्दै आउनुभएको थियो ।

स्वर्गीय पन्थीका श्रीमती मनकला पन्थी, छोरा चेतनारायण पन्थी, बुहारी सावित्रा गौतम पन्थी, पाँच छोरी, ज्वाइँ तथा १४ जना नातिनातिना हुनुहुन्छ । उहाँकी माइली छोरी दीपा आचार्य नेकपा एमाले अर्घाखाँची जिल्ला अखिल नेपाल महिला संघकी अध्यक्ष हुनुहुन्छ भने ज्वाइँ चेतनारायण आचार्य नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ ।

उहाँका जेठी छोरी उमकला पौडेल र ज्वाइँ लक्ष्मण पौडेल, माइली छोरी दीपा आचार्य र ज्वाइँ चेतनारायण आचार्य, साइँली छोरी तुलसा खनाल र ज्वाइँ देवी खनाल, काइँली छोरी गीता ढकाल र ज्वाइँ ईश्वर ढकाल तथा कान्छी छोरी सीता आचार्य र ज्वाइँ लिलाधर आचार्य हुनुहुन्छ ।

यसअघि कात्तिक ३० गते निधन भएकै दिन नेकपा एमालेले पार्टीको झण्डा ओढाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो । उहाँको अन्तिम संस्कार गुल्मी जिल्लाको रिडीस्थित कालीगण्डकी घाटमा गरिएको थियो ।

एमाले नेता गोविन्दप्रसाद पन्थीको छैटौँ दिनमा श्रद्धाञ्जली सभा

गाउँमै बस्ने वातावरण बनाउन नरैनापुरको जोड, स्वास्थ्य,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!