गाउँमै बस्ने वातावरण बनाउन नरैनापुरको जोड, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकास प्राथमिकतामा
बाँके ,५ मंसिर ।
ग्रामीण क्षेत्रका नागरिकलाई आधारभूत सेवा तथा सुविधा सहज रूपमा उपलब्ध गराउँदै गाउँमै सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले बाँकेको नरैनापुर गाउँपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।
ग्रामीण बस्तीमा आधारभूत सेवाको पहुँच विस्तार गर्दै नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित गाउँपालिकाले स्थानीय आवश्यकतामा आधारित विकास योजनालाई कार्यान्वयन गरिरहेको छ । विशेषगरी स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सडक तथा अन्य भौतिक पूर्वाधारको विकासमार्फत गाउँमै बस्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको छ ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ग्रामीण क्षेत्रको समग्र विकास र नागरिकको जीवनस्तर सुधारका लागि स्वास्थ्य, शिक्षा तथा पूर्वाधारको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
स्वास्थ्य संस्थाहरूको निरीक्षणका क्रममा उहाँले गाउँबस्तीमै आधारभूत सेवा विस्तार गरी नागरिकलाई आफ्नै ठाउँमा बस्न सक्ने वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।
“ग्रामीण क्षेत्रलाई स्वास्थ्य, शिक्षा र पूर्वाधारसँग जोड्नुपर्छ भन्ने मेरो मान्यता हो । गाउँमा मानिसहरू कसरी टिकाइराख्ने भन्ने विषयमा अहिले पालिकाले काम गरिरहेको छ,” अध्यक्ष शाहले भन्नुभयो ।
उहाँका अनुसार ग्रामीण क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सुविधाको अभाव हुँदा नागरिक सुविधाको खोजीमा सहर तथा अन्य स्थानमा बसाइँ सर्न बाध्य हुने गरेका छन् । यस्तो अवस्थाको अन्त्य गर्न गाउँमै आवश्यक सेवा तथा सुविधा विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।
स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएर सेवा प्रवाह गर्ने सरकार भएकाले स्थानीय आवश्यकताका आधारमा अघि सारिएका विकास योजनामा प्रदेश र सङ्घीय सरकारले समेत सहयोग गर्नुपर्ने अध्यक्ष शाहले बताउनुभयो । स्थानीय तहका योजनालाई माथिल्ला सरकारले प्राथमिकताका साथ सहयोग गर्न सके ग्रामीण क्षेत्रको विकासले थप गति लिने उहाँको विश्वास छ ।
अध्यक्ष शाहले गाउँपालिकाका सबै वडाको समानुपातिक विकासमा जोड दिँदै सडक तथा अन्य पूर्वाधारको पहुँचबाट पछाडि परेका बस्तीलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रको सुधार र सेवा विस्तारलाई कार्यकालको सुरुदेखि नै प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले गाउँपालिकामा निर्माण गरिएको अस्पताल आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अस्पताल सञ्चालनका लागि आवश्यक तयारी गरिए पनि सङ्घीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसक्दा चुनौती थपिएको उहाँको भनाइ छ । आवश्यक जनशक्ति, स्रोतसाधन र आर्थिक व्यवस्थापनमा कठिनाइ रहे पनि अस्पताल सञ्चालनमा ल्याउन आफू निरन्तर प्रयासरत रहेको अध्यक्ष शाहले बताउनुभयो ।
यसैबीच, ग्रामीण तथा दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले नरैनापुर गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीले घरदैलो स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिरहेको छ ।
स्वास्थ्यकर्मीहरू गाउँबस्तीमै पुगेर आधारभूत स्वास्थ्य सचेतना, सरसफाइ, मातृ तथा शिशु स्वास्थ्य, विभिन्न रोगको रोकथाम र समयमै उपचार गराउनुपर्ने विषयमा नागरिकलाई जानकारी गराउँदै आएका छन् ।
विशेषगरी स्वास्थ्य संस्थासम्म सहजै पुग्न नसक्ने विपन्न परिवार, ज्येष्ठ नागरिक तथा महिलाका लागि घरदैलो स्वास्थ्य शिक्षा अभियान उपयोगी बन्दै गएको छ । स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श दिने र स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाबारे जानकारी गराउने गरेका छन् ।
स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यका अनुसार स्वास्थ्यकर्मी स्वयं बस्तीमा पुगेर स्वास्थ्य शिक्षा तथा परामर्श दिन थालेपछि स्थानीय नागरिकमा स्वास्थ्यप्रतिको चासो र सचेतना बढ्दै गएको छ ।
“ग्रामीण भेगका प्रत्येक नागरिकसम्म आधारभूत स्वास्थ्य शिक्षा र चेतना पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो । स्वास्थ्यकर्मीहरू बस्ती–बस्तीमा पुगेर परामर्श दिन थालेपछि स्थानीय बासिन्दामा स्वास्थ्यप्रतिको चासो बढेको छ । नागरिकको मुस्कान र विश्वासले हामीलाई थप ऊर्जा मिलेको छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार घरदैलो अभियानले स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवासँग जोड्न सहयोग पुर्याएको छ । रोग लागेपछि मात्र उपचार खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै रोगको रोकथाम, सरसफाइ र स्वस्थ जीवनशैलीबारे जानकारी दिन अभियान केन्द्रित रहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले ग्रामीण क्षेत्रको समग्र विकास, स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय शिक्षा तथा सडक र अन्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय आवश्यकतामा आधारित योजनाहरू कार्यान्वयन भइरहेको बताउनुभयो ।
उहाँका अनुसार गाउँबस्तीमै सेवा तथा सुविधा विस्तार गरी नागरिकलाई आफ्नै ठाउँमा सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले जनमुखी कार्यक्रम अघि बढाएको छ । विकासका योजनालाई नागरिकको वास्तविक आवश्यकता र समस्यासँग जोडेर कार्यान्वयन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
नरैनापुरजस्तो ग्रामीण तथा सीमावर्ती क्षेत्रमा विकासको अनुभूति दिलाउन भौतिक पूर्वाधार निर्माण मात्रै पर्याप्त हुँदैन । स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा अन्य आधारभूत सेवाको पहुँच पनि सँगसँगै विस्तार गर्नुपर्ने आवश्यकता छ ।
स्थानीय सरकारको पहलसँगै प्रदेश र सङ्घीय सरकारको आवश्यक सहयोग, प्रभावकारी समन्वय र योजनाको दिगो कार्यान्वयन हुन सके नरैनापुरका नागरिकले आफ्नै गाउँमा गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्रामीण क्षेत्रको जीवनस्तर सुधार गर्नुका साथै रोजगारी र अवसरको खोजीमा हुने बसाइँसराइ न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




