भेरी–बबई डाईभर्सनको सुस्त गति प्राविधिक जनशक्तिको अभावले थलिँदै राष्ट्रिय गौरवको आयोजना

ओम शाही
सुर्खेत, १४ असोज ।
आर्थिक वर्ष २०६८/०६९ बाट राष्ट्रिय प्राथमिकता प्राप्त भई अघि बढेको आयोजना हो, भेरी–बबई डाइर्भसन बहुउद्देश्यीय आयोजना । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विभागबाट (साविक सिँचाइ विभागबाट) कार्यान्वयन भईरहेको भेरी–बबई राष्ट्रिय गौरवको आयोजना हो ।
नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेसिन (टीबीएम) प्रविधिको प्रयोग भई तोकिएको समय अगावै १२.२० किलोमिटर लामो सुरुङ्ग छिचोलेर चर्चामा आएको आयोजना त्यसयता भने कछुवा गतिमा छ । पाँच वर्ष अर्थात आर्थिक वर्ष २०७७/०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजनाले गत आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म जम्मा ७० प्रतिशत प्रगति हासिल गरेको छ ।
नेपाल सरकारद्वारा राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा भई नेपाल सरकारकै स्रोतमा कार्यान्वयन भईरहेको यो बहुउद्देश्यीय जल पथानान्तरणमा आधारित आयोजना हो । अद्यावधिक गुरुयोजना अनुसार आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख छ । कुल बजेट मध्ये गत अर्थिक वर्षसम्म १९ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ ।
आयोजनाले हालसम्म समष्टिगत भौतिक प्रगती (बबई मानखोला डाईभर्सन बाहेक) ७० प्रतिशत र वित्तिय प्रगती ६८ प्रतिशत हासिल गरेको छ । कठिन भौगोलिक संरचना भएको नेपालमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बहुआयामिक लाभ लिन सकिने आयोजना भएपनि फिल्डस्तरमा निर्माण कार्यले भने अपेक्षित गति लिन सकेको छैन ।
सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा एक सय ४५ मीटरको ब्यारेजसहित एक सय ५७ मीटर सेटलिङ्ग बेसिन, ४.२ मीटर व्यास र १२.२० किलोमिटर लामो सुरुङ्गमार्फत ४० घनमिटर प्रतिसेकेण्ड पानी भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थित बबई नदीमा खसाली ४८.८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।
आयोजना सम्पन्न भएपछि विद्युत उत्पादनसँगै भेरी नदिबाट प्राप्त हुने ४० घनमिटर प्रतिसेकेण्ड पानी निरन्तर रुपमा बबई नदीमा उपलब्ध गराउने आयोजनाको अर्को लक्ष्य छ । यसरी बबई नदीमा थप हुने पानी बबई सिंचाइ आयोजनामार्फत बर्दिया र बाँके जिल्लाका झण्डै ५१ हजार हेक्टर भुमिमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
त्यस्तै, बबई नदीमा उपलब्ध हुने पानी मध्ये करिव १५ घनमिटर प्रतिसेकेण्ड वहावलाई उपयोग गरेर अर्को बबई–मानखोला डाईभर्सन आयोजना निर्माण गर्ने लक्ष्य भेरी–बबईले राखेको छ । आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाले संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०८७/०८८ सम्म आयोजनालाई पूर्णता दिनेगरी काम भइरहेको बताए ।
‘यसअघि निर्माण व्यवसायीसँगै विविध प्राविधिक कारणले आयोजना निर्माणमा केही बिलम्ब भएको देखिन्छ,’ उनले भने, ‘अब दुई/तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने कार्यतालिका अनुसार कामको गति अघि बढ्छ । निर्माण व्यवसायीले सर्तसहित तोकिएको मितिमै सम्पन्न गर्ने प्रतिवद्धताका साथ आएकाले पनि आयोजनाले गति लिन्छ भन्ने अपेक्षा छ ।’
प्राविधिक जनशक्तिको चरम अभाव
राष्ट्रिय प्राथमिकता प्राप्त भएपनि आयोजनाले हालसम्म पनि ठुलो संख्यामा प्राविधिक जनशक्तिको अभाव झेलिरहेको छ । नेपाल इन्जिनियरिङ सेवा (सिभिल समूह, इरिगेसन उपसमूह) का राजपत्राङ्कित प्रथम श्रेणीका आयोजना निर्देशकले भेरी–बबईको नेतृत्व गर्दै आएका छन् ।
आयोजनामा कुल ३४ कर्मचारीको दरबन्दी स्वीकृत रहेपनि पदपूर्ति भने आयोजना निर्देशकसहित २२ जनाको मात्रै छ । आयोजानमा २२ जना प्राविधिक जनशक्तिको दरबन्दी स्वीकृत रहेकोमा पदपूर्ति भने ११ जनाको मात्रै छ ।
आयोजनाका सूचना अधिकारी थापाले आयोजनामा कार्यरत इन्जिनियरहरु सरुवा भएकाले यो संख्या अझै घट्ने बताए । यति ठुलो लागत रहेको आयोजनामा ११ जना दक्ष प्राविधिक कर्मचारीको पद रिक्त रहनु सामान्य होइन । थापाका अनुसार नेपाल इन्जिनियरिङ सेवा (सिभिल समूह, इरिगेसन उपसमूह) का राजपत्राङ्कित द्वतीय श्रेणीका तीन जनाको दरबन्दी रहेकोमा एक जनाको पद रिक्त छ ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा (जियो समूह, हाइड्रोजियो उपसमूह) का राजपत्राङ्कित द्वतीय श्रेणीका एक जनाको पदपूर्ति हुन सकेको छैन ।
नेपाल इन्जिनियरिङ सेवा (सिभिल समूह, हाइड्रोपावर उपसमूह) का राजपत्राङ्कित द्वतीय श्रेणीका एक जनाको पद रिक्त छ । नेपाल इन्जिनियरिङ सेवा (सिभिल समूह, इरिगेसन उपसमूह) का राजपत्राङ्कित तृतीय श्रेणीमा दुई, नेपाल इन्जिनियरिङ सेवा (सिभिल समूह, हाइड्रोपावर उपसमूह) का राजपत्राङ्कित तृतीय श्रेणीका एक, नेपाल इन्जिनियरिङ सेवा (इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह) का राजपत्राङ्कित तृतीय श्रेणीका एक, नेपाल इन्जिनियरिङ सेवा (सिभिल समूह, इरिगेसन उपसमूह) का राजपत्राङ्कित प्रथम श्रेणीका चार इन्जिनियरहरुको पद रिक्त छ ।
त्यस्तै, नेपाल प्रशासन सेवातर्फ राजपत्राङ्कित तृतीय श्रेणीका उपसचिव (लेखा) को दरबन्दीमा पनि पदपूर्ति हुन सकेको छैन । आयोजनाका एक इन्जिनियरका अनुसार भेरी–बबईमा आउने अधिकांश इन्जिनियरहरु बस्न मान्दैनन् । नेपालमै नयाँ प्रविधि प्रयोग भएको आयोजनाको जटिल डिजाइन भएकै कारण प्राविधिक जनशक्ति लामो समय बस्न नरुचाउने गरेको बताइन्छ । आयोजनामा खटाइने प्राविधिक जनशक्तिलाई निश्चित अवधि तोकेर काम गर्न बाध्यकारी नबनाइदा मन लागेको बेला सरुवा मागेर जाने भइरहेको छ ।
कुन ठेक्काको प्रगति कति ?
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पाँच वटा मुख्य ठेक्कामार्फत कार्यान्वयन भइरहेको छ । जसमा पहिलो प्याकेजमा सुरुङ्ग निर्माण कार्य सम्पन्न भईसकेको छ । दोस्रो प्याकेजमा सिभिल संरचना निर्माण, तेस्रोमा हाईड्रोमेकानिकल र चौथोमा इलेक्ट्रोमेकानिकलका उपकरण जडान पर्दछन् ।
त्यस्तै, पाँचौ प्याकेजमा आयोजनाबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण ग्रिडमा आवद्ध गर्न संरचना निर्माण गर्नुपर्ने छ । जसअनुसार १५ माघ २०७१ मा १० अर्ब ५६ करोड ९६ लाख रुपैयाँमा चीनको चाइना ओभरर्सिज इन्जिनियरिङ कम्पनीले भेरी–बबईको मुख्य सुरुङ निर्माण सुरु गरेको थियो । नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरी सम्झौता मिति अगावै ३ बैशाख २०७६ मा ४.२० मिटर व्यास भएको १२.२० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको थियो ।
सुरुङ निर्माण पश्चात आयोजनाका सिभिल संरचनाको निर्माण कार्य अघि बढाइएको थियो । दोस्रो प्याकेज अन्तर्गत आयोजनाका बाँध, सर्ज साफ्ट, पेनस्टक र पावरहाउसका संरचना निर्माण गर्नुपर्ने हुन्छ ।
१३ साउन २०७६ मा निर्माण व्यवसायी ग्वाङडोङ युआन्तियान/रमन जेभीबीच ६ अर्ब ८८ करोड ८९ लाख रुपैयाँमा आयोजनाको बाधस्थल र विद्युतगृहका सिभिल संरचना निर्माण कार्य अघि बढेका थिए । २०८० साउनभित्र सम्पन्न भइसक्नुपर्ने सिभिल संरचनाको निर्माण प्रगति जम्मा ४८ प्रतिशत छ । दोस्रो प्याकेज अन्तर्गत आयोजनाका मुख्यम सिभिल संरचना निर्माणमा भइरहेको ढिलाईले यसपछिका प्याकेजहरु प्रभावित भइरहेका छन् ।
कोभिड महामारीले निर्माण सामग्री अभाव, परामर्शदाता कम्पनी कालो सूचिमा पुर्नु लगायतका प्राविधिक कारणले आयोजना लम्बिएको बताइन्छ । हालसम्म मुख्य बाँधको ६ वटा बे मध्ये दुई वटा सम्पन्न हुने चरणमा पुगेको आयोजनाले जनाएको छ । यस्तै, सेटलिङ्ग बेसिनको ७० प्रतिशत निर्माण सम्पन्न भएको छ भने, पेनस्टक पाईपका लागि एंकर ब्लकका संरचना, विद्युतगृह र सर्जसाफ्ट निर्माण कार्य जारी रहेको आयोजनाको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै, ७ मंसिर २०७८ मा सम्झौता भई तेस्रो प्याकेज अन्तर्गत हाइड्रोमेकानिकलका संरचना निर्माण कार्य अघि बढेका थिए । निर्माण व्यवसायी चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले दुई अर्ब १३ करोड ७४.९३ लाख रुपैयाँमा तेस्रो प्याकेजको ठेक्का लिएको छ ।
सम्झौता अनुसार ४ पुस २०८१ मा सम्पन्न भइसक्नु पर्ने हाइड्रोमेकानिकलका काममा हालसम्म जम्मा ६० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । यस प्याकेज अन्तर्गत गेट स्टपलग र पेनस्टक पाइपको उत्पादन कार्य ८५ प्रतिशत सम्पन्न भई साइटमा जडान कार्य सुरु भएको आयोजनाले जनाएको छ । यस्तै, चौथो प्याकेजमा इलेक्ट्रोमेकानिकल उपकरण जडानका कामहरु पर्दछन् ।
१९ साउन २०७९ मा चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले इलेक्ट्रोमेकानिकल उपकरण जडानको जिम्मा लिएको थियो । यस प्याकेजको कुल लागत तीन अर्ब २८ करोड ८०.२२ लाख रुपैयाँ छ । १४ भदौ २०८२ मा सम्पन्न भइसक्नु पर्ने इलेक्ट्रोमेकानिकल निर्माण कार्यले हालसम्म जम्मा ५५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनाका अनुसार यो प्याकेजमा टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेनको उत्पान कार्य सम्पन्न भई जडान कार्य बाँकी रहेको जनाइएको छ ।
त्यस्तै, पाँचौ प्याकेज अन्तर्गत आयोजनाबाट उत्पादित विद्युतलाई कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाईनमा आवद्ध गर्न झण्डै एक हजार सात सय मिटरको प्रशार लाइन निर्माणको प्रक्रिया थालिएको छ । जसका लागि आयोजनाबाट अध्ययन सम्पन्न भई कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अध्ययन पुरा भएको र परामर्शदातामार्फत थप अध्ययन जारी रहेको आयोजनाले जनाएको छ ।






