हिंसापीडितलाई सहज र प्रभावकारी सेवा दिन गुलरियामा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सुदृढीकरणमा जोड

बर्दिया ,१४ असोज ।

गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि उपलब्ध गराइने एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) को सेवा थप प्रभावकारी, पहुँचयोग्य र जवाफदेही बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ।
बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत स्थानीय तहमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरण गर्ने उद्देश्यले सरोकारवाला सहभागिता कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रममा स्थानीय सरकार, स्वास्थ्य, प्रहरी, बाल संरक्षणलगायत सम्बन्धित क्षेत्रका २० जना प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागीहरूले केन्द्रबाट हाल प्रदान भइरहेका सेवामा देखिएका कमी–कमजोरी, सरोकारवाला निकायबीचको समन्वय तथा पीडित र प्रभावित व्यक्तिलाई सेवा प्रदान गर्ने प्रक्रियाबारे छलफल गरेका थिए।


पीडितको आवश्यकता र अवस्थाअनुसार सेवा उपलब्ध गराउने, घटनाको प्रभावकारी व्यवस्थापन गर्ने, आवश्यकताअनुसार सम्बन्धित निकायमा सिफारिस गर्ने तथा सेवा प्राप्त गरेपछि पीडितको अवस्थाबारे निरन्तर जानकारी लिने प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रमको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन बाल अधिकार समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।


उहाँले बाल अधिकार समिति र एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरपालिका, बाल अधिकार समिति, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र बाँके युनेस्को क्लबबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य भएमा बाल संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी प्रमुख सपना बाठा मगरले केन्द्रमा दर्ता भएका घटनाको अवस्था, घटनाको व्यवस्थापन प्रक्रिया, केन्द्रसँग सम्बन्धित तथ्याङ्क तथा हाल प्रदान भइरहेका सेवाको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले सेवा प्रवाहका क्रममा देखिएका चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे समेत जानकारी गराउनुभयो।


कार्यक्रममा सहभागी सरोकारवालाहरूले पीडित तथा प्रभावित व्यक्तिले समयमै, गोप्य, सहज र सम्मानजनक ढंगले आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए। विशेषगरी बालबालिका, किशोरकिशोरी, महिला तथा अन्य जोखिममा रहेका समूहलाई केन्द्रमा राखेर सेवा प्रणालीलाई थप संवेदनशील र प्रभावकारी बनाउनुपर्ने सहभागीहरूको धारणा थियो।
पीडितले एउटै घटनाका लागि विभिन्न निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यक स्वास्थ्य, मनोसामाजिक, कानुनी, सुरक्षा तथा पुनःस्थापनासम्बन्धी सेवा समन्वित रूपमा उपलब्ध गराउनुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन बाँके युनेस्को क्लबकी क्षेत्रीय पर्यवेक्षक नग्मा सिद्दिकीले गर्नुभएको थियो भने राधाकृष्ण थारु जनसेवा केन्द्रकी क्षेत्रीय पर्यवेक्षक रामकली थारुले सहयोग गर्नुभएको थियो।


कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्थानीय तहमा थप समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धताका साथ पीडित तथा जोखिममा रहेका बालबालिकाले आवश्यक सहयोग र सेवा सुरक्षित, सम्मानजनक तथा सहज रूपमा प्राप्त गर्न सक्ने संरक्षण तथा सहयोग प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

हिंसापीडितलाई सहज र प्रभावकारी सेवा दिन गुलरियामा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सुदृढीकरणमा जोड

बुबाले भोगेको मुद्दाको पीडाले कानुनतर्फ डोर्‍यायो बरिस्ठ

हिंसापीडितलाई सहज र प्रभावकारी सेवा दिन गुलरियामा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सुदृढीकरणमा जोड

हिंसापीडितलाई सहज र प्रभावकारी सेवा दिन गुलरियामा

Leave a comment

Your email address will not be published. Required fields are marked *