डुडुवामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु, १७ टोलीको सहभागिता

बाँके ,१४ असोज ।
ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्दै स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभालाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। डुडुवा गाउँपालिका–२ जाफरपुर्वामा ‘नरेन्द्रकुमार चौधरी कप’ वडा स्तरीय क्रिकेट प्रतियोगिता–२०८३ सुरु भएको हो।
जाफरपुर्वा युवा स्पोर्टस् क्लब डुडुवा–२ को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता दीपेन्द्रसिंह पटेलले रिबन काटेर गर्नुभएको हो। क्लबका अध्यक्ष जुनेद खानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खेलकुद क्षेत्रका साथै स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी तथा युवाको सहभागिता थियो।
उद्घाटन कार्यक्रममा डुडुवा–२ का वडा सदस्य सेराज अहमद खान, प्रहरी चौकी खडैचाका प्रमुख तुलबहादुर विक, प्रहरी चौकी बेतहनीका इन्चार्ज हिराबहादुर शाही, क्लबका उपाध्यक्ष अतिक खान, मोहम्मद वाहिद खान, इब्ने हुसेन खान, रकिब खान, रफिक खान र सरवर रजा खानलगायतको उपस्थिति थियो। स्थानीय समाजसेवी नबी खाँ, युनुस खान, लतिफ खान र मुजिबुर रहमान खानलगायतको पनि सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पटेलले खेलकुद युवाको क्षमता विकास, अनुशासन र सामाजिक एकताका लागि महत्वपूर्ण माध्यम भएको बताउनुभयो। ग्रामीण क्षेत्रमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाको पहिचान र विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो।
उहाँले ग्रामीण क्षेत्रका युवालाई खेलकुदमा आकर्षित गर्न स्थानीय तह, संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो।
डुडुवा–२ का वडा सदस्य सेराज अहमद खानले ग्रामीण क्षेत्रमा हुने खेलकुद प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासन, सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने बताउनुभयो। खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्ने भएकाले स्थानीयस्तरमा यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो।
प्रहरी चौकी खडैचाका प्रमुख तुलबहादुर विकले खेलकुदले युवामा अनुशासन, जिम्मेवारीबोध र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार हुँदा युवालाई सामाजिक गतिविधिमा जोड्नसमेत सहयोग पुग्ने उहाँले बताउनुभयो।
यस्तै, प्रहरी चौकी बेतहनीका इन्चार्ज हिराबहादुर शाहीले क्रिकेट प्रतियोगिता स्वस्थ प्रतिस्पर्धा र सामाजिक सद्भाव अभिवृद्धिको माध्यम बन्ने बताउँदै खेलाडीले अनुशासन र खेलभावनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
प्रतियोगितामा डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका गरी १७ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
ग्रामीण क्षेत्रका खेलाडीलाई नियमित प्रतिस्पर्धाको अवसर नहुँदा उनीहरूको प्रतिभा पहिचान र विकासमा समस्या हुने गरेको अवस्थामा प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।
जाफरपुर्वा युवा स्पोर्टस् क्लबका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभालाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नु, युवालाई खेलकुदसँग जोड्नु र गाउँमा खेलकुदको वातावरण निर्माण गर्नु हो।
स्थानीय युवा तथा खेलाडीले पनि गाउँमै ठूलो प्रतियोगिता आयोजना भएपछि आफूहरू उत्साहित भएको बताएका छन्। उनीहरूले प्रतियोगितालाई निरन्तरता दिनुका साथै खेलमैदानको स्तरोन्नति, आवश्यक खेल सामग्रीको व्यवस्था र नियमित प्रशिक्षणमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
ग्रामीण क्षेत्रमा यस्ता प्रतियोगिताले युवाको प्रतिभा पहिचानसँगै उनीहरूबीच आपसी सम्बन्ध, सहकार्य र सामाजिक सद्भाव बढाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।






