जुम्लामा कानुन र मानविकी संकाय थप्ने अन्तिम तयारी

गाेल्डेन बुढा
जुम्ला,१३ जेठ ।
कर्णालीका हजारौं विद्यार्थीका लागि उच्च शिक्षा अझै अवसरभन्दा बढी संघर्षको विषय बनेको छ । विद्यालय शिक्षा पूरा गरेपछि अधिकांश विद्यार्थी सुर्खेत, नेपालगञ्ज र काठमाडौंतिर लाग्न बाध्य छन् । आर्थिक अभाव, बसाइँको समस्या र पहुँचको कठिनाइबीच धेरैले पढाइ नै बीचमै छाड्ने गरेका छन् । यही समस्याकाबीच जुम्लामा नयाँ शैक्षिक संकाय थप्ने विषयले आशा जगाएको छ ।त्रिभुवन विश्व विद्यालयको अध्ययन टोली यतिबेला जुम्लामा सम्भाव्यता अध्ययनमा जुटेको छ । त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डाक्टर बामदेव अधिकारी, अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीसहितको टोलीले जुम्ला बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार, जनशक्ति, विद्यार्थी चाप र नयाँ कार्यक्रम सञ्चालनको अवस्थाबारे अध्ययन गरिरहेको हो । टोलीले क्याम्पस प्रशासन, स्थानीय तह, नागरिक समाज तथा सरोकारवालासँग छलफलसमेत गरेको छ ।जुम्ला बहुमुखी क्याम्पसले आयोजना गरेको छलफल कार्यक्रममा जिल्लाबाट कानुन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय तथा आमसञ्चार र पत्रकारिता विषय सञ्चालन गर्नुपर्ने माग जोडदार रूपमा उठाइएको छ । सहभागीहरूले कर्णालीमा उच्च शिक्षाको अवसर सीमित हुँदा विद्यार्थी पलायन तीव्र बनेको बताएका छन् ।कर्णालीमा शिक्षा अझै पहुँचको अधिकार बन्न नसकेको स्थानीयको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका कारण धेरै विद्यार्थी जिल्ला बाहिर गएर पढ्न नसक्ने अवस्था रहेको भन्दै जुम्लामै गुणस्तरीय शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्ने माग उनीहरूको छ ।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कर्णालीमा नयाँ शैक्षिक संकाय थपिनु केवल शैक्षिक कार्यक्रम विस्तार नभई पुस्ताको भविष्यसँग जोडिएको विषय भएको बताए । “हाम्रा विद्यार्थी अवसर खोज्दै बाहिरिन बाध्य छन्,” उनले भने, “अब कर्णालीमै अवसर सिर्जना गर्नुपर्छ । स्थानीय सरकार आवश्यक आर्थिक आधार तयार गर्न तयार छ ।”जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले नयाँ कार्यक्रम सञ्चालन भए जुम्लालाई कर्णालीकै शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने बताए । “कानुन र मानविकी संकाय सञ्चालन हुनु भनेको केवल नयाँ विषय थपिनु होइन,” उनले भने, “यो कर्णालीबाटै दक्ष जनशक्ति उत्पादन गर्ने आधार निर्माण हो ।
नेपाल पत्रकार महासंघ जुम्लाका पूर्व अध्यक्ष नेत्रबहादुर शाहीले मानविकी तथा सामाजिक शास्त्रअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विषयसमेत सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले कर्णालीमा सञ्चार शिक्षाको अभाव रहेको उल्लेख गर्दै समयअनुसारका विषय विस्तार गर्नुपर्ने बताए ।त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले स्थानीय तह र समुदायको सहकार्यबिना नयाँ कार्यक्रम दिगो रूपमा सञ्चालन गर्न कठिन हुने बताए । “सिफारिस गरेर मात्र पुग्दैन,” उनले भने, “कार्यक्रमलाई टिकाउने वातावरण पनि स्थानीयस्तरबाट बन्नुपर्छ ।”अध्ययन टोलीका सदस्य तथा मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डाक्टर बामदेव अधिकारीले जुम्लाको मागप्रति विश्वविद्यालय सकारात्मक रहेको संकेत गरे । “जुम्ला कर्णालीको भौगोलिक केन्द्र हो,” उनले भने, “यहाँ उच्च शिक्षाको स्तर विस्तार गर्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । तर अन्तिम निर्णय त्रिवि कार्यपरिषद्ले गर्नेछ ।”कर्णालीमा शिक्षा, अवसर र पहुँचको बहस नयाँ होइन । तर जुम्लामा नयाँ शैक्षिक संकाय थप्ने तयारीले पहिलो पटक कर्णालीमै भविष्य खोज्ने आशालाई बल दिएको छ । विश्वविद्यालयको अध्ययन प्रतिवेदन सकारात्मक आए जुम्ला केवल प्रशासनिक केन्द्र मात्र होइन, कर्णालीको शैक्षिक राजधानी बन्ने सम्भावना पनि बलियो देखिएको छ ।





