जेनजी शहीदको योगदान स्थानीय पाठ्यक्रममा समेटिँदै

बाँके ,१५ असोज ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका दुई युवाको योगदान र स्मृतिलाई जीवन्त राख्न नेपालगन्ज उपमहानगरपालिकाले उनीहरूको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नयाँ पुस्तालाई जेनजी शहीदको योगदानबारे जानकारी गराउँदै उनीहरूको स्मृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रममा परिचय समेट्न लागिएको बताउनुभयो। शहीद परिवारको आग्रहअनुसार उक्त कार्यलाई तत्काल अघि बढाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
नगर प्रमुख विष्टका अनुसार नेपालगन्ज–१ धम्बोजीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभ राज श्रेष्ठले गत वर्ष भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका थिए। सरकारी विवरणमा समेत थापा र श्रेष्ठलाई नेपालगन्ज–१, बाँकेका जेनजी शहीदका रूपमा उल्लेख गरिएको छ।
दुवै युवाको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयले विभिन्न भौतिक तथा सामाजिक कार्य अघि बढाएको छ। नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार शहीदद्वयको स्मृतिमा धम्बोजीस्थित वडा कार्यालय परिसरमा ‘शहीद योग भवन’ र खुला ‘जिम हाउस’ निर्माण गरिएको छ।
त्यसैगरी वाटरपार्क नजिकै दुवै शहीदको अर्धकदको सालिक निर्माण गरिएको तथा विशालनगर क्षेत्रमा उनीहरूको नाममा ‘शहीद प्रवेशद्वार’ निर्माण भइरहेको वडाध्यक्ष रिजालले बताउनुभयो।
“वडा कार्यालय परिसरमा दुवै शहीदको स्मृतिमा शहीद योग भवन तथा खुला जिम हाउस निर्माण गरिएको छ,” वडाध्यक्ष रिजालले भन्नुभयो, “उहाँहरूको सम्मानमा वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उहाँहरूको नाममा शहीद प्रवेशद्वार निर्माण भइरहेको छ।”
उपमहानगरपालिकाले दुवै शहीदको स्मृतिमा ‘शहीद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णयसमेत गरेको प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार शहीद परिवारका समस्या तथा माग सम्बोधनका लागि स्थानीय सरकार परिवारसँग निरन्तर संवादमा रहेको छ।
जेनजी आन्दोलनका क्रममा नेपालगन्जको एउटै टोलका दुई युवाले ज्यान गुमाएपछि धम्बोजीका बासिन्दासमेत घटनाबाट प्रभावित बनेका छन्। स्थानीय तहले शहीदको सम्झनामा विभिन्न संरचना निर्माण तथा कार्यक्रम अघि बढाए पनि शहीद परिवार भने घटनाको छानबिन र दोषीमाथिको कारबाहीको विषयमा अझै सन्तुष्ट हुन सकेका छैनन्।
काठमाडौंमा आफ्ना छोराले ज्यान गुमाएको एक वर्ष बितिसक्दा पनि घटनाको निष्पक्ष छानबिन हुन नसकेको र दोषीमाथि कानुनी कारबाही नभएको भन्दै शहीद परिवारले असन्तुष्टि जनाएका छन्। उनीहरूले शहीदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन तथा गोली चलाउनेमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्दै आएका छन्।
शहीद आयुष थापाका पिता सुशील थापाले आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाएको भन्दै घटनाको जिम्मेवारी लिनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने बताउनुभयो। सरकारले दोषीमाथि कारबाही गर्न नसकेको भए त्यसको कारणसमेत स्पष्ट पार्नुपर्ने उहाँको माग छ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका चाहना र आन्दोलनका माग सम्बोधन गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको रहेको बताउनुभयो।
स्थानीय पाठ्यक्रममा शहीदद्वयको परिचय समेट्ने तयारीसँगै उनीहरूको योगदान र आन्दोलनको सन्दर्भ नयाँ पुस्तासम्म पुर्याउने प्रयास भएको उपमहानगरपालिकाले जनाएको छ।






