चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसलमा बढ्यो उपभोक्ताको भीड

घोराही ,१५ असोज ।
दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आर्कषण बढ्दै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो । चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्नेको भीड बढ्न थालेको हो ।

बजारमा भन्दा सस्तोमा चिनी, नुन पाइने भएकाले आफू खरिद गर्न आएको घोराही उपमहानगरपालिका–१५ का निर्मला मगरले बताउनुभयो । सरकारले चिनी, नुनमात्र नभई अन्य सामग्री पनि सहुलियतमा बिक्री गर्नुपर्ने उहाँको भनाइ छ । यसले उपभोक्तालाई सहज हुने उहाँ बताउनुहुन्छ ।
अर्का उपभोक्ता घोराही–७ का निर्मल केसी पनि सस्तो मूल्य पसलबाट नुन, चिनी खरिद गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अन्यत्रभन्दा केही छुट भएका कारण थोरै भए पनि राहात मिलेको उहाँको भनाइ छ ।
दैनिक खरिद गर्ने आउनेको सङ्ख्या वृद्धि हुँदै गएको साल्टट्रेडिङ  घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिनुभयो । सुरुका दिनमा कम भए पनि पछिल्ला दिनमा भीड बढ्दै गएको उहाँको भनाइ छ । अहिले दैनिक ३०० भन्दा बढी आउने गरेको उहाँले बताउनुभयो ।
सुपथ मूल्य पसलबाट सर्वसाधारणले प्रतिकिलो चिनी रु १०० र नुन प्रतिकिलो रु २४ मा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । बजारमा हाल चिनी प्रतिकिलो करिब रु १४० मा बिक्री हुँदै आएको उपभोक्ताको भनाइ छ । त्यसैगरी नुन पनि बजारमा प्रतिकिलो रु ३० मा बिक्री हुँदै आएको उपभोक्ताको भनाइ छ । बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलबाट चिनी र नुन खरिद गर्दा उपभोक्ताले केही रकम बचत गर्न सक्नेछन् । साल्टट्रेडिङले एक जना उपभोक्ताले एकपटकमा नुन अधिकतम छ किलो र चिनी अधिकतम छ किलोसम्म खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।
साल्टट्रेडिङले यही असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
विगतका वर्षमा चाडपर्वका समयमा सञ्चालन हुने सुपथ पसलबाट मुख्य रूपमा नुन बिक्री गर्दै आएको साल्टट्रेडिङले यस वर्ष भने नुनसँगै चिनीसमेत सहुलियत मूल्यमा बिक्री गर्न थालेको जनाएको छ । प्रमुख गुप्ताका अनुसार सुपथ पसल असोज १ गतेदेखि कात्तिक ३१ गतेसम्म सञ्चालन हुनेछ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने अवस्थालाई मध्यनजर गर्दै उपभोक्तालाई केही राहत दिने उद्देश्यले सुपथ पसल सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
चाडपर्वको समयमा एउटै व्यक्तिले ठूलो परिमाणमा वस्तु खरिद गरेर अन्य उपभोक्तालाई अभाव हुने अवस्था नआओस् भन्ने उद्देश्यले खरिदको सीमा तोकिएको बताइएको छ । यसको दुरुपयोग नहोस् भन्नेबारेमा कार्यालय सचेत रहेको जनाएको छ । चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने गरेको छ । विशेषगरी दसैँ, तिहार र छठका समयमा घरायसी प्रयोजनका लागि चिनी, नुनलगायत खाद्य वस्तुको खपत बढ्ने भएकाले उपभोक्ताको मागअनुसार सहुलियत मूल्यमा वस्तु उपलब्ध गराउने सरकारी प्रयासले बजार मूल्यमा हस्तक्षेप गर्ने अपेक्षा गरिएको छ ।

चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसलमा बढ्यो उपभोक्ताको भीड

वर्षौं बित्दा पनि बन्दैनन् रणनैतिक महत्वका आयोजना

चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसलमा बढ्यो उपभोक्ताको भीड

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको

Leave a comment

Your email address will not be published. Required fields are marked *